७ बैशाख २०८१, शुक्रबार

एकल चेपाङ महिलाको बिजोग


न्याय

७ पुस, काठमाडौँ । घाम पानी दुवै छिर्ने फुस्को घर । पानी र घाम छिर्ला भनेर एक पाखोमा प्लास्टिकको त्रिपालले छोपेको छाप्रो । छाप्रोभित्र खुट्टा पसारेर सुत्ने ठाउँको अभाव । एउटा कुनामा अगेना । त्यही नजिक आगो बाल्ने दाउराको चाङ । अर्को कुनामा थोत्राथात्री कपडा डोरीमा झुन्डाएको । मकवानपुरको कैलाश गाउँपालिका–३ परबाङकी ६५ वर्षीया एकल चेपाङ महिलाको जीर्ण छाप्रो ।

प्लास्टिकको बाटामा चार माना जति कोदोको पिठो । त्यही पिठोको ढिँडो पकाउने तयारीमा रहेकी मकवानपुरको दुर्गम कैलाश गाउँपालिका–३ परबाङकी कालीमाया चेपाङ  । ‘जता भत्क्यो उत्तै दैलो’ भनेजस्तै ६५ वर्षीया चेपाङको फुस्को घरको ढोका छैन । ढोकाको चौकोस नै उप्किएको छ । घरको तल्लोतर्फको भाग पनि ह्वाङ्ङै छ । जताबाट भित्रबाहिर गरे पनि हुन्छ । ‘हुरी आउँदा पनि उनको फुसको छाप्रो उडाउने अवस्थामा छ,’ छिमेकी बलबहादुर चेपाङले भने, ‘पानी पर्दा उनी घरभित्रै ओढ्नेमाथि प्लास्टिक राखेर सुत्छिन्, जाडोमा २४ सै घण्टा अँगेनामा आगो बाल्छिन् ।’ उनको छाप्रो अहिले धराप थापेजस्तो छ । छाप्रोभित्र चारैतिरबाट चिसो हावा छिर्छ । चिसोबाट बच्ने उनको एक मात्र उपाय अँगेनामा आगो बाल्नु । ओढ्नेको नाममा उनीसंँग एउटा कम्बल छ । त्यो पनि च्यातिएको छ । छाप्राभित्रको भुइँमाथि २ वटा चेप्टोफ्ल्याक छन् । त्यही फ्ल्याकमाथि थोत्रो गुन्द्री ओछ्याएर उनी सुत्छिन् ।

‘जाडोले गर्दा कहिलेकाहीं निद्रा नै लाग्दैन,’ कालीमायाले भनिन्, ‘दनदनी आगो बालेर सुतेपछि अनि निद्रा आउँछ ।’ उमेरले बुढौली लागेको भएपनि पेट पाल्नका लागि उनी छिमेकीहरूको मेलापात जान्छिन् । त्यही मेलापातबाट आम्दानी गरेको पैसाले पिठो, चामल र मरमसला किनेर पेट पाल्दै आएकी छन । एकल महिला भएका कारणले उनले सामाजिक सुरक्षा भत्ता पाउने गरेकी छन् । त्यही भत्ताका कारणले उनलाई जीवन धान्न सहज भएको छ । १० वर्षको उमेरमा विवाह गरेकी कालीमाया ९ वटा बच्चा जन्माइन् । तर, अहिले उनको साथमा एउटा पनि छैन । उनले एक छोरी र ८ वटा छोरा जन्माएकी थिइन् । ६ महिनादेखि ३ वर्षसम्म पुग्दानपुग्दै छोराहरू सबै मरे । एउटा मात्र छोरी बाँचिन्, तिनको पनि विवाह भइसकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !