८ बैशाख २०८१, शनिबार

आफ्ना छोरा जब सौताका बनाइएपछि…


child

६ पुस, काठमाडौं । राजविराज नगरपालिका–१२ सिग्यौन दमावतीमा आफ्ना छोरा जब सौताका बनाइएका छन् । दमावतीकी लक्ष्मीदेवी यादवले विवाह भएको एक वर्षपछि छोरा जन्माइन् । नातिको मुख हेर्ने धोको बेलैमा पूरा भएकोमा सासूससुरा खुसी भए । दुई वर्षपछि लक्ष्मीले अर्को छोरा जन्माइन् । प्रहरी सेवामा कार्यरत महिनारायण दुई छोराका बुवा बनेकोमा प्रसन्न थिए ।

वैदेशिक रोजगारमा गएका उनका भाइ पनि कमाउन थालेका थिए । पाँच जनाको परिवारमा दुई बालक थपिएपछि सात जना भए । जेठी बुहारी भएकाले घरको जिम्मेवारी लक्ष्मीमाथि थियो । सासूससुराकी प्यारी उनको जीवनमा खुसी नै खुसी थियो । विवाहको १० वर्षपछि लक्ष्मी बुवा शिवराम यादवसँग जिल्ला प्रहरी कार्यालय सप्तरीमा देखा परिन् । हातमा प्लास्टिकको झोला ।

झोलाभित्र निवेदनसहित विभिन्न कागजपत्र । दुई छोराको जन्मदर्ता देखाउँदै उनले भनिन्, ‘मेरा छोरा अर्केका भएछन् । गर्भ बोकें । प्रसव वेदना सहें । आमा हुनुको अनुभव बटुलें । सन्तान हुर्काएँ । दुई छोरा हुँदाहुँदै निःसन्तान बनाइएँ ।’ महिनारायण भने इलाममा प्रहरी सेवामा रहँदा स्थानीय मुना खातीसँग प्रेममा फसेछन् । उनीसँग विवाह गरेर अर्कै संसारमा रमाएको लक्ष्मीले पत्तै पाइनन् ।

बेला–बेलामा महिनारायण घर आउँथे । लक्ष्मी परिवारको खुसीमै रमाएकी थिइन् । २०७४ मा घर आएका महिनारायणले फागुन २० गते छोराहरूको जन्मदर्ता गर्दा रोशन र कृष्णको आमाका नाममा मुनाको नाम लेखाए । स्थानीय पञ्जिकाधिकारी तरुणकुमारले जन्मदर्ता बनाउन आउने सूचक स्वयम् बुवा भएपछि आमा को हो भनेर सोधखोज गरेनन् र आमाका नाममा इलामकी मुना खाती यादव भनेर प्रमाणित गरिदिए । राजविराज अस्पतालबाट पनि लक्ष्मीको छोरा भएको प्रमाणित हुने लक्ष्मीका बुवा शिवनारायण यादवले दाबी गरे । अन्नपूर्ण पोष्टमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !