, कुमाल समुदायमा समस्याको चाङ

कुमाल समुदायमा समस्याको चाङ

८ फागुन, भोजपुर । भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका वडा नं ६ मा अवस्थित मोथेटार गाउँमा कुमाल समुदायको बसोवास छ । अरुण नदीको किनारमा पर्ने यो वस्ती निकै सुन्दर छ । उनीहरुको यहाँ ३३ घर छ । वस्तीमा रहेका ७ घरपरिवारको आफ्नै नामको जमीन छैन, अर्काको बनिबुतो नगरी चुलोमा आगो बल्दैन ।

उनीहरुको दिनचर्या कुटोकोदालो गर्नु, माटाको भाँडा बनाउनु र अरुण नदीमा गएर माछा मार्नु हो । उनीहरुलाई बिहान र बेलुकाको छाक टार्नै समस्या हुने गरेको लोपोन्मुख कुमाल समुदायका अगुवा नर वहादुर कुमालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “लोपोन्मुख कुमाल समुदायमा समस्यै समस्या छ । यहाँका मानिसलाई तीन महिना पनि खान पुग्दैन । हाम्रो समुदाय सबै क्षेत्रमा पछाडि परेको छ ।”

बाबुआमा निरक्षर भएकाले छोराछोरी पनि विद्यालय शिक्षाबाट वञ्चित छन् । उहाँले भन्नुभयो – ‘‘आमाबुबालाई छाक टार्नै समस्या छ । भोको पेटमा बालबालिकालाई विद्यालय सकिँदैन । त्यही भएर हाम्रा समुदायका धेरै बालिका विद्यालय जाँदैनन् ।”

उनीहरुलाई खान बस्न निकै समस्या हुने गरेको छ । गरीबीकै कारण कुमाल समुदायका अधिकाँश बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर रहेका छन् । गाउँमै जनचेतना प्राथमिक विद्यालय सञ्चालनमा छ तर, बालिकाहरु विद्यालय जाँदैनन । माध्यमिक शिक्षा लिन दिङ्ला अथवा अर्काे जिल्ला संखुवासभा जानु पर्ने बाध्यता छ । त्यो पनि खोलामा पुल नहुँदा समस्या हुने गर्छ ।

जिल्लामै रहेको अरुण मावि जान पनि उनीहरुलाई तीन घण्टा भन्दा बढी समय लाग्ने विद्यालयका शिक्षक श्रीकृष्ण बोगटीले बताउनुभयो । बोगटीले भन्नुभयो – “त्यो समुदायका अधिकाँश मानिस शिक्षाको पहुंच भन्दा बाहिर छन् । विद्यालय शिक्षाका लागि संखुवासभाको तुम्लिङटार जानुपर्छ । अरुण नदीमा पुल छैन । गरीबीका कारण पनि कुमाल समुदायका शिक्षार्थीलाई उच्च शिक्षात हासिल गर्न समेत समस्या छ ।”

राज्यले निःशुल्क शिक्षाको व्यवस्था गरेको भए पनि यस समुदायमा बालबालिकालाई विद्यालय जान कापी कलम समेत किन्न समस्या हुने गरेको छ । बालबालिका अलि ठूला भए पछि अभिभावकले आफ्नै पेशा व्यवसायमा लगाउने गरेका छन् ।

पिउने पानीको समस्या
उनीहरुले पिउने पानीको अभाव पनि झेल्दै आएका छन् । पानीको जोहो गर्न नदी जानुपर्छ । कुमालले भन्नुभयो – “हामीलाई शिक्षा लिन समस्या त छ नै पानीको पनि अत्यन्तै समस्या छ । पानीको जोहो गर्न परिवारका एक सदस्यको दिन बित्ने गरेको छ ।” पानीको समस्या माथिल्लो कुमाल टारमा बढी छ । गत वर्ष वस्तीका केही घरमा सामूहिक धाराको व्यवस्था गरिए पनि बाँकी घर परिवारको व्यथा उस्तै छ । गाउँ घरमा रहेका कुवा सुके पछि त झनै समस्या भएको स्थानिय बासिन्दाको भनाइ छ । उनीहरुको पेशा माटाका भाँडा बनाउने भएका कारणले पनि पानी अत्यधिक आवश्यक पर्छ ।

गाउँमा पछिल्लो समयमा सडकको ट्र्याक खोल्ने काम भए पनि यातायात भने सञ्चालनमा आएको छैन ।
प्लास्टिकका भाँडाले सङ्कट निम्त्यायो

यस समुदायका मानिसले वर्षौदेखि माटाका भाँडाकुँडा बनाएर आफ्नो जीविकोपार्जन गर्दैआएका छन् । तर, आजभोलि बजारमा विभिन्न खाले प्लाटिकका भाडाकुँडा किन्न पाइने भएकाले पेशा सङ्कट पर्दै गएको स्थानीयवासी खड्ग कुमालले बताउनुभयो । उहाँले भन्नुभयो – “हाम्रो पुख्र्यौली पेशा नै माटाका भाँडा बनाउने हो तर, पछिल्लो समय बजारमा विभिन्न खालका भाँडाहरु बिक्रीमा आउन थालेपछि यो पेशा नै सङ्कटमा पर्दैगएको छ ।” गाउँका धेरै मानिसले राम्रो आम्दानी नभएपछि यो पेशा नै छाडिसकेका छन् । स्थानीय तहले भने उनीहरुको व्यवसायको संरक्षणको लागि आधुनिक माटाको भाँडा बनाउने तालीम सञ्चालन गर्ने बताएको छ ।

पानीकोे स्रोतको पहिचान भइरहेको र मुहान फेला परेपछि आगामी वर्षसम्ममा योजना बनाएर यो वस्तीमा पनि पु¥याउने तयारीका साथ काम अगाडि बढाइएको अध्यक्ष सुजन राईले बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो – “कुमाल वस्तीमा धेरै कुराको समस्या छ । उनीहरुको पेशा सङ्कटमा पर्न नदिन ठोस योजना नै बनाएर काम गर्छौं ।” (रासस)