११ बैशाख २०८१, मंगलबार

सुरक्षित प्रसूतिका लागि थारु महिलाको चासो


Nepalpatra

२१ माघ, कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाको देखतभूलीका राना थारु समुदायका महिला सुृरक्षित प्रसूतिका लागि स्वास्थ्यचौकी पुग्न थालेका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकाले घरमै प्रसूति हुँदा हुने जोखिमबारे सचेत पार्न थालेपछि थारु महिला सुरक्षित प्रसूतिका लागि स्वास्थ्यचौकी पुग्न थालेका हुन् ।

विगतमा यस समुदायका थोरै मात्र महिला प्रसूतिका लागि स्वास्थ्यचौकी पुग्ने गरेका थिए देखतभूली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाले भन्नुभयो, “ जनचेतनाको प्रभावले स्वास्थ्य चौकीमा प्रसूतिहुने महिलाको सङ्ख्या बढ्दो छ ।”

महिला स्वास्थ्य स्वयंसेविकाले गर्भवती महिलाको घरमै पुगेर सुरक्षित प्रसूतिका लागि सचेत गराएकाले परिवारका सदस्यसमेत सचेत भएका छन् ।

गर्भवती भएको अवस्थामा पोषणयुक्त खानासमेत महिलाले नपाउँदा मातृ र शिशु मृत्युदर पनि बढि नै थियो । जनचेतना नहुँदा किशोर अवस्थामै कतिपयको विवाह हुने गरेकाले पनि परिपक्व उमेर नपुग्दै गर्भवती हुने किशोरी निकै जोखिमा रहने गरेका उहाँको भनाइ थियोे ।

गर्भवती हुने महिलाका परिवार पनि जनचेतनाका कारण सचेत भएका छन् । पोषणयुक्त खानेकुराले महिलाको गर्भमा रहेको शिशु स्वस्थ्य जन्मने र गर्भवती महिला पनि निरोगी हुने भएकाले गर्भवती महिलाको हेरचाह गर्न थालिएको स्थानीयवासी दयाराम रानाले बताउनुभयो ।

“पहिला गर्भवती महिलालाई पोषणका लागि हरियो सागपात, गेडागुडी, दूध, माछामासुको व्यवस्था गर्नुपर्छ भन्ने धेरैलाई जानकारी थिएन । अब सबै यसबारे सबै जानकार भइसकेका छन्” उहाँले भन्नुभयो ।

उक्त स्वास्थ्यचौकीको सेवा क्षेत्र रहेको गाउँपालिका– ४, ५ र ६ का गर्भवती र अन्यलाई गरी महिला स्वास्थ्य स्वयंसेविकाले चालु आवको हालसम्म आठ हजार ६७१ जनालाई सेवा दिइसकेका छन् ।

स्वास्थ्यचौकीमा वार्षिक रुपमा दुई सयभन्दा बढी महिला प्रसूति हुने गरेका छन् । गत आवमा १९४ महिला स्वास्थ्यचौकीमा प्रसूति भएकामा १११ राना थारु समुदायका महिला थिए ।

चालु आवको मङ्सिरसम्म १०७ महिलाले स्वास्थ्यचौकीमै पुगेर शिुशुलाई जन्म दिएका थिए । प्रसूति हुने महिलालाई स्वास्थ्यचौकीबाटै न्यानो झोला, झुल र यातायात वापतको रकम उपलब्ध गराउनाका साथै नियमित गर्भजाँच गराउने महिलालाई समेत प्रोत्साहन रकम उपलव्ध गराउने कार्यले स्वास्थ्य चौकीमा पुगेर बच्चा जन्माउनेको सङ्ख्या बढेको स्वास्थ्यचौकीका प्रमुख झाको भनाइ थियो ।

उहाँले भन्नुभयो, “गर्भवती भएकामध्ये ८० प्रतिशत महिला स्वास्थ्य चौकीमै सुरक्षित प्रसूतिका लागि पुग्ने गरेका छन् । बाँकीमध्ये कोही अन्य स्वास्थ्य चौकीमा सञ्चालित प्रसूति गृह र अस्पतालमा पुगेर सुरक्षित प्रसूति हुने गरेका छन् भने अझै दुईदेखि तीन प्रतिशत महिला घरमै प्रसूति हुनेगरेका छन् । ”

घरमै प्रसुति हुने कार्यलाई शून्यमा झार्नका लागि प्रयास भइरहेका छ । जनचेतना र शिक्षाका कारण पनि किशेर अवस्थामा विवाह गर्नेको सङ्ख्या विगत वर्षको तुलनामा घटेर अहिले शून्य दशमलव पाँच पुगेको छ भने गर्भावस्था र प्रसूति हुँदा हुने मातृ र शिशु मृत्युदर शून्यमा झरेको बताइएको छ ।

गर्भपतन सेवा लिनेमा किशोरी बढी

देखतभूली स्वास्थ्यचौकीबाट गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरीको सङ्ख्यासमेत बढ्न थालेको छ । स्वास्थ्यचौकीबाट अनिच्छित गर्भ रहेका २० वर्ष मुनिका विद्यालय पढ्ने उमेरका ११ किशेरीले गर्भपतन गराएका थिए भने २० वर्ष माथिका ६९ले गर्भपतन गराएको र गर्भपतन गराएकामध्ये ४४ ले परिवार नियोजनसमेत गरेको बताइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !