६ बैशाख २०८१, बिहिबार

दलित बस्तीको अब्बल ‘बाल क्लब’


Nepalpatra

११ पुस, दुल्लु । दलित समुदायको बाहुल्यता रहेको दैलेखको गुराँस गाउँपालिका वडा नं ३ को खुम बस्ती । बस्तीको पुछारमा तीन कक्षासम्म पढाइ हुने विद्यालय । विद्यालय नजीकै माटो छाएको एक कोठे भवन । साँघुरो भवनभित्र कुर्ची, टेबल, नृत्य सामग्री तथा पोशाक सजाइएका । भित्ताहरु बाल विवाह तथा बाल अधिकारकाबारे बनाइएका पोष्टरहरुले रङ्गिएका । यही साँघुरो भवन नै बाल क्लबको दैनिक कार्य सञ्चालन गर्ने थलो हो ।

खुमका ११ जना दलित बालबालिकाको समूहले फूलबारी नामक बाल क्लब खोलेका छन् । विसं २०७२ मा त्यही समुदायका बालबालिकाको अगुवाईमा स्थापना गरिएको फूलबारी बाल क्लबका पदाधिकारीहरु दैनिक जसो क्लबको भवन धाउँछन् । दिउँसो विद्यालय जाने हुँदा बिहान या साँझ क्लबको भवनमा पदाधिकारीहरु पुगेकै हुन्छन् । दैनिक जसो भवनमा पुग्ने मध्येका एक हुन्, याम बहादुर विक । उनी क्लबका अध्यक्ष पनि हुन् । भवन पनि अध्यक्ष यामले आफ्नै लगानीमा बनाएका हुन् । “आफ्नै जग्गा थियो, मैले भवन बनाउन आँट गरें, मेरो बुबाले मलाई सघाउनुभयो” – अध्यक्ष यामले भने – “यही भवन हाम्रा लागि छलफल र बहस गर्ने थलो बनेको छ ।”

क्लब स्थापना गर्दा शुरुमा सहयोग गर्ने निकाय नभेट्दा उनीहरुले गाउँमा हुने दिवसीय कार्यक्रमबाट प्राप्त पुरस्कार र क्लबका पदाधिकारीहरुले प्रतिव्यक्ति ५० रुपैयाँ सङ्कलन गरेर मादल किने । त्यसपछि शुरु भयो बाल क्लबको समुदायस्तरको अभियान । शुरुमा गाउँमा मद्यपान, धूमपान गर्ने वस्तु किन्न र बेच्न नपाउने अभियान चलाए । फलस्वरुप गाउँमा मदिरा खाने र बेच्नेको सङ्ख्यामा पनि कमी आयो । गाउँमा मदिरा बिक्री वितरण गर्नेहरुलाई जरिवाना समेत तिराइएको अध्यक्ष यामले सुनाए । त्यति मात्र होइन, बाल क्लबकै सक्रियतामा खुल्ला रहेको वन क्षेत्र प्रवेशमा रोक लगाइयो । गाईबस्तु चरिचरनका लागि खुल्ला रहेको वन क्षेत्र बाल क्लबकै सक्रियतामा बन्द भयो । बाल क्लबका याम क्षमता विकास तालीम लिन धेरै पटक सुर्खेत, नेपालगञ्ज तथा काठमाडौँसम्म पुगेका छन् । उनले खुम वरिपरि रहेको सात वटा विद्यालयमा पुगेर हिंसाविरुद्ध बालबालिकाको तालीमसमेत दिइसकेका छन् ।

गाउँमा हुन लागेका दुई वटा बाल विवाह रोकेको क्लबका उपाध्यक्ष हरिकला विकले बताइन् । तिनका अनुसार विद्यालय र समुदाय स्तरमा हरेक शुक्रवार नेतृत्व विकासका क्रियाकलापहरु सञ्चालन भइरहेका छन् । गत वर्ष देउसी भैलो खेलेर क्लबले १२ हजार रुपैयाँ सङ्कलन गरेको थियो । यस वर्ष पनि १४ हजार रुपैयाँ सङ्कलन गरेको छ । उक्त रकमबाट बाल क्लबलाई आवश्यक सामग्रीहरु खरिद गरिएको उपाध्यक्ष हरिकलाले बताइन् । त्यस बाहेक क्लबका सबै पदाधिकारीहरु समुदायमा बाल विवाह गर्नुहुँदैन भन्दै अभियान चलाउँछन् । यस्ता अभियान चलाउँदा समुदायका कतिपय नागरिकले गाली पनि गर्ने गरेको हरिकलाको अनुभव छ ।

शुरुमा यो काम गर्न त्यति सजिलो थिएन । पहिले त बाल क्लबबारे क्लबकै पदाधिकारीहरुलाई थाहै थिएन । बाल क्लबमा लागेपछि छोराछोरी बिग्रिएलान् भनेर अभिभावकसमेत डराएका हुन्थे । बाल क्लबका सचिव रीना विक भन्छिन््, – “हामी पनि पिकनिक जान र खेल्नका लागि मात्र क्लब गठन गरिएको भनेर सोच्थ्यौं । तर, अहिले समुदायको सशक्तीकरण तथा कुरीति र कुसंस्कारविरुद्ध क्लबले आवाज उठाउँदै आएको छं ।” बाल क्लबका पदाधिकारीहरुले बालबालिकासम्बन्धी विभिन्न कार्यक्रम, गोष्ठी र छलफलमा बालबालिकाका तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाइरहेका छन् । बाल क्लबका पदाधिकारीहरुको पहल र उनीहरुकै अभिनयमा बाल विवाह न्यून गर्ने उद्देश्य बोकेको सडक नाटक प्रदर्शन हुँदै आएका छन् ।

फूलबारी बाल क्लबलाई दैलेख जिल्लाकै नमूना बाल क्लब बनाउने योजनामा अध्यक्ष विक लागिपरेका छन् । “वडा कार्यालयसामु व्यवस्थित भवन निर्माण गरिदिन प्रस्ताव राखेका छौं, दुई पटक निवेदन समेत दिइसक्यौं,” अध्यक्ष याम भने – “बाल अनुदान कोष सञ्चालन गर्ने, सामाजिक विकृति र विसङ्गति अन्त्य गर्ने र वडाको बाल लक्ष्यित बजेट सदुपयोग गरेर बाल अधिकार सुनिश्चित गर्ने हाम्रो लक्ष्य हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !