११ बैशाख २०८१, मंगलबार

लोपोन्मुख जातिको सङ्ग्रहालय निर्माण गरिने


Nepalpatra

२६ मङ्सिर, मङ्गलबारे । लोपोन्मुख लेप्चा जातिको संस्कृति जर्गेना गर्ने उद्देश्यले इलामको रोङ गाउँपालिकाले लेप्चा सङ्ग्रहालय र घरबास निर्माण गर्ने भएको छ ।

लेप्चा समुदायको बाहुल्यता रहेको यस गाउँपालिकामा पाँच वर्षभित्रमा लेप्चा सङ्ग्रहालय र घरबास निर्माण गरिने गाउँपालिका अध्यक्ष शमशेर राईले बताउनुभयो । गाउँपालिकाले बीसवर्षे कार्यनीतिक योजना निर्माण गर्दै आगामी पाँच वर्षभित्रमा सङ्ग्रहालय र घरबास निर्माण गर्न लागेको हो ।

यहाँका कोल्बुङ, इरौटार, जिर्मले, शान्तिपुरमा अधिकांश लेप्चा जातिको बसोबास रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर घरबास निर्माण गरिने भएको हो । घरबासमा लेप्चा जातिको परिकार मात्र व्यवस्था गरिने र पर्यटकलाई लेप्चाको खाद्यान्नको बारेमा जानकारी गराउन घरबास निर्माण गर्न लागिएको अध्यक्ष राईको भनाइ छ ।

लेप्चा जातिको भेषभुषा, खाद्यान्न तथा रीतिरिवाजको अभिलेख राख्नका लागि गाउँपालिकाले सङ्ग्रहालयसमेत निर्माण गर्ने भएको हो । पछिल्लो समय लेप्चाका भेषभुषा र रीतिरिवाज हराउँदै गएकाले जातिय पहिचान झल्काउन र अस्तित्व बचाउनका लागि सङ्ग्रहालय निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।

सामुदायिक स्वास्थ्य एकाइ स्थापना

दुर्गम क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले इलामको फाकफोकथुम गाउँपालिकाको दुई स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । स्वास्थ्य संस्था नभएका फाकफोकथुम–१ को ठिङ्गेपुर र वडा नं ६ को पोखरी भन्ने स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेको हो ।

सात वडा रहेको यस गाउँपालिकाको अन्य वडामा स्वास्थ्यचौकी रहेकामा यी दुई वडामा स्वास्थ्य संस्था नहुँदा यस क्षेत्रका स्थानीय बासिन्दा सामान्य उपचारका लागि पनि पञ्चमी, रबी, राँके, इलाम धाउनुपर्ने अवस्था रहेको थियो । गाउँ कार्यपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेसँगै कर्मचारीसमेत नियुक्ति गरेको छ ।

सामुदायिक स्वास्थ्य एकाइमा औषधि तथा उपकरण व्यवस्थापन गर्ने गाउँपालिकाले जनाएको छ । ठिङ्गेपुर सामुदायिक स्वास्थ्य एकाइलाई हेरचाहका लागि उत्प्रेरणा परियोजनाअन्तर्गत करूणा फाउण्डेशनले रु ५० हजार बराबरको उपकरण सहयोग गरेको छ । स्वास्थ्य एकाइ तथा अन्य स्वास्थ्यचौकीका लागि गाउँपालिकाले औषधि खरीद गर्ने स्वास्थ्य संयोजक सञ्जयकुमार शाहले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !