११ बैशाख २०८१, मंगलबार

चार वर्षसम्म छाप्रोमै वास


Nepalpatra

१० मङसिर, रामपुर । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालका खड्गबहादुर खण्डलुकको परिवार २०७२ साल वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि छाप्रोमा बस्दै आउनुभएको छ ।

सरकारले पूर्णरुपमा क्षति भएका घर निर्माणको निम्ति अनुदान रकम उपलब्ध गराउँदै आए पनि खण्डलुकको परिवार भने छाप्रोमै बस्न बाध्य छ । अहिलेसम्म सरकारले दिएको पहिलो किस्ताको रु ५० हजार पाए पनि दाजुभाइको आन्तरिक कुरा नमिल्दा घर निर्माण हुन नसकेको स्थानीयवासी सन्तवीर सुनारीले जानकारी दिनुभयो ।

भूकम्प अनुदानको बैंक खाता दाजु गसबहादुर खण्डलुकको नाममा रहेकाले घर निर्माणमा समस्या भएको खण्डलुकको गुनासो छ । समुद्री सतहदेखि करीब एक हजार ५०० को उचाइमा रहेको मित्याल पाल्पामा बाह्रै महीना निकै चिसो हावा चल्छ, “न गतिलोसँग शित छेकिने छाना छ, न ओढ्ने, नै लगाउने बाक्लो कपडा छ, जाडो महीना शुरु भयो, मरिन्छ कि क्या हो” खड्गबहादुरले भन्नुभयो ।

“चारैतिर टिनका टुक्राले गाँसिएको छाप्रोमा रातिमा तप्पतप्प शितका थोपा आँखामा पर्छ निदाउन सकिंदैन् । मजदूरी गरेर खानसम्म जुटाएको छु”, खण्डलुकले बताउनुभयो ।

निस्दी गाउँपालिका कार्यालय प्राङ्गणको आडैमा रहेको खण्डलुकको परिवारको दयनीय अवस्था देखेर गाउँपालिकाले रु २५ हजार सहयोग गरेको छ । ‘‘भूकम्प गएको चारवर्ष बितिसक्यो, तीन छोरा र चार छोरी र श्रीमती गरी नौ जनाको परिवार यही घरमा बस्दै आएका छौँ’’ उहाँले भन्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !