१२ बैशाख २०८१, बुधबार

भूकम्पले पानीको मुहान सुकेपछि बसाइँ सरे दहचोकवासी


Nepalpatra

७ मङ्सिर, काठमाडौँ । भूकम्पपछि पानीको मुहान सुक्न थालेपछि राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–१ का स्थानीयवासी बसाइँ सर्न थालेका छन् ।

साविकको दहचोक गाविस– ५ मा पानीका तीनवटा मुहान सुकेको स्थानीयवासी टीकाराम शर्माले बताउनुभयो । इन्द्रजात्राका समयमा भव्य मेला लाग्ने पुरातात्विक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण इन्द्रदहमा तीन वर्षदेखि ट्याङ्करको पानी हालेर मेला सञ्चालन गर्ने गरिएको छ ।

गाउँमा पानीको मुहान सुकेपछि नगरपालिका–१ बाट वडा नं –३ मा घर बनाएको शर्माले बताउनुभयो । भूकम्पले भत्किएको घर बनाउन लाभग्राही सूचीमा सूचीकृत उहाँले दुई किस्ता पाए पनि तेस्रो किस्ता रोकिएको गुनासो गर्नुभयो । पानीको समस्याका कारण अर्को स्थानमा घर बनाउँदा दोस्रो किस्ता पाए पनि इञ्जिनीयरले तेस्रो किस्ता रोकेको यहाँका लाभग्राहीको भनाइ छ ।

नगरपालिका–१ का अध्यक्ष राजेन्द्र केसीले पानीको मुहान सुकेकाले २०० घर तल सरेको बताउनुहुन्छ । इन्द्रदहमा पानी सुकेपछि हाल पोखरी रित्तिएको छ । इन्द्रजात्रामा ट्याङ्करले थोरै पानी हाले पनि अप्ठ्यारो सडक र भौगोलिक अवस्थाका कारण निरन्तर हाल्न नसकिएको उहाँले बताउनुभयो ।

विसं २०७२ वैशाख १२ गतेपछि सुकेको पानी गत साउन अन्तिम साता थोरै पलाए पनि पर्याप्त नभएको वडा कार्यालयले जनाएको छ । खानेपानीकै अभाव भएपछि स्थानीय अन्यत्र बसाइँ सर्न बाध्य भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !