८ बैशाख २०८१, शनिबार

दुहबीको जनजीवन सामान्य हुँदै


sunsari

७ मङ्सिर, इनरुवा । सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीका फिदा हुसेनको हत्याको विषयलाई लिएर तनावग्रस्त दुहबीको जनजीवन सामान्य हुँदै गएको छ ।

विरोध प्रर्दशनरत पक्ष र स्थानीय प्रशासनबीच बिहीबार सहमति भएपछि आन्दोलरत पक्षले आफ्नो सम्पूर्ण आन्दोलनको कार्यक्रम फिर्ता लिएकाले त्यहाँको जनजीवन सामान्य हुँदै गएको हो । बुधबार दिउँसोबाटै सहमतिको प्रयास थालिएकामा बिहीबार सहमति जुटेसँगै दुई दिनदेखि अवरुद्ध कोशी राजमार्गको इटहरी–विराटनगर सडकखण्ड सञ्चालनमा आएको छ ।

गृहमन्त्रीको राजीनामाको मुख्य मागमा अडान लिएका मृतक परिवार पक्षधर अन्ततः सो मुद्दाबाट पछि हटेपछि शव बुझ्ने सहमति कायम भएको नेपाली काङ्ग्रेसका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, प्रहरी प्रमुख राजन अधिकारीका साथै आन्दोलन परिचालन समितिका संयोजक बेद गच्छदार र मृतकका दाजु मेहदी हुसेनसहितका मुस्लिम अगुवा र दलीय प्रतिनिधिबीचको छलफल निष्कर्षमा पुगेपछि दुई दिनदेखि सडकमा राखिएको हुसेनको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको स्थानीय पत्रकार अकवर अलिले जानकारी दिनुभयो ।

ठूलो सङ्ख्यामा सडकमा उत्रिएका मुस्लिम समुदायसहितको भीडलाई मृतकका दाजु हुसेन र प्रजिअ उप्रेतीले बिहीबार सहमतिका बुँदाबारे जानकारी गराउँदै आन्दोलनका कार्यक्रम फिर्ता भएको घोषणा गरेपछि त्यो क्षेत्रको अवस्था सामान्य बन्दै गएको हो ।

सहमतिमा मृतकलाई शहीद घोषणा, क्षतिपूर्ति, मृतकको स्थानमा छोरालाई जागिर र हत्यारा छिटो पत्ता लगाउनेजस्ता बुँदा समावेश गरिएको वार्ता समितिका सदस्य तथा प्रतिनिधिसभाका सांसद सीताराम मेहताले बताउनुभयो । हुसेन हत्याको विरोधमा बिहीबार सुनसरीका दुहबीका अलावा विभिन्न ठाउँमा समेत विरोध प्रर्दशन भएको थियो । हत्याको विरोध गर्दै मृतकका आफन्त, स्थानीयवासीलगायतले गरेको प्रर्दशनका कारण कोशी राजमार्गको इटहरी दुहबी खण्डमा दुई दिनदेखि यातयात अवरुद्ध भएको थियो भने कलकारखाना, बजार तथा शिक्षण संस्थासमेत ठप्प भएका थिए ।

मृतक हुसेनको आज शुक्रबार मुस्लिम जातीय परम्पराअनुसार अन्तिम संस्कार गरिने मृतकका दाजु हुसेनले बताउनुभयो । बुधबार बिहान श्रीमतीसँगै घुम्न निस्कनुभएका बेला हुसेनलाई अज्ञात व्यक्तिको समूहले गोली हानी हत्या गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !