१३ बैशाख २०८१, बिहिबार

रहस्यमय ठाउँ, जहाँ चराचुरुंगीले आत्महत्या गर्छन्


Dead bird

पंक्षीहरुले पनि आत्महत्या गर्छन् र ? पत्याउन गाह्रो पर्छ । तर, भारतमा एउटा गाउँ नै यस्तो छ जुन चराचुरुंगीको आत्महत्याका लागि चर्चित छ ।

जब सेप्टेम्बर महिना सुरु हुन्छ भारतको दक्षिणी असमस्थित दिमा हाँसो जिल्लामा पर्ने जतिंगा गाउँको चर्चा सुरु हुन्छ ।

गाउँ चर्चामा आउनुको कारण हो त्यहाँ चराचुरुंगीले आत्महत्या गर्नु ।

वास्तवमा अक्टोबरदेखि नोभेम्बरसम्म कृष्णपक्षको रातमा त्यहाँ अनौठो घटना हुन्छ । बेलुकी ७ बजेदेखि रातको १०, साढे १० बजेको बीचमा यदि आकासमा बादल लाग्यो, हावाको रफ्तार तीव्र भयो र कसैले कहीँबाट बत्ती बालिदियो भने चराहरुको आत्महत्या सुरु हुन्छ । चराको झुण्ड किटपतंग जस्तै गरी बत्तीमाथि बज्रिन्छन् ।

आत्महत्याको यो दौडमा स्थानीय तथा फिरन्ते गरी ४० प्रजातिको पंक्षी सामेल हुन्छन् । उक्त ठाउँमा आएका आप्रवासी चराहरु फर्केर जाने सम्भावना निकै कम हुन्छ । यो गाउँमा रातमा प्रवेश गर्न बाहिरी मानिसरुलाई प्रतिबन्ध लगाइएको छ ।

जातिंगा गाउँ असमको बोरेल पर्वतमा अवस्थित छ । यहाँ निकै धेरै वर्षात् हुनुका साथै बादल तथा बाक्लो धुँधीले आकाश ढाकिएको हुन्छ । गहिरो उपत्यका हुनुका कारणले जातिंगामा जब ठूलो वर्षा हुन्छ र चराचुरुंगीहरु यहाँबाट उड्ने कोसिस गर्दछन् तब उनीहरुको प्वाँख समेत सबै जिउ भिज्न पुग्दछ । यसरी उच्च वर्षाका कारण सबै भिजिसकेपछि चराचुरुंगीहरु उड्न गाह्रो हुन्छ र कतिपय अवस्थामा भुइँमा खस्दछन् ।

त्यस्तै यो गाउँको आसपास बाँसको घना जंगल छ । अँधेरो रात तथा हुस्सु लागेको बेलामा चराचुरुंगीहरु उड्ने बेलामा बाँसमै ठोक्किएर पनि दुर्घटनामा पर्दछन् । बेलुकीपख आफ्नो फर्किँदै गरेका पंक्षीहरु बाँसमा ठोक्किएर दुर्घटनामा पर्ने घटना धेरै हुन्छन् । अँध्यारो तथा हुस्सु लागेको रातमा यति गाउँमा कसैले बत्ती बालिदियो भने चराचुरुंगीहरु उज्यालो खोज्दै जाँदा सोही बत्तिमाथि बज्रिने गर्दछन् पनि ।

यसरी गाउँमा प्राकृतिक प्रकोपका कारण वर्षेनी ठूलो संख्यामा चराचुरुंगीहरु मर्ने गर्दछन् । तर झ्वाट्ट हेर्दा चाहीँ आकाशमा उड्ने चराहरु आत्महत्या गरेर भुइँमा झरेका हुन् की भन्ने जस्तो देखिन्छ । अनि किम्बदन्ती र आम मान्यता पनि त्यस्तै हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !