७ बैशाख २०८१, शुक्रबार

कुन च्याट एप्स चलाउने?


apps
Aakar Anil
आकार अनिल

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको ‘एप एक्सपिरियन्स’ खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने ।

त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ “प्राइभेट मेसेज” गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको ‘डाइरेक्ट मेसेज’ धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न ।

एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएमएस त छँदै छ । तर अहिले यही आफ्नो बानी बदलिएकोछ, ट्विटरलाई छाडेर हेर्ने हो भने, यो एप् चाँहि च्याट गर्नको लागि भनेर छुट्याइएको छैन । कसैले कुनमा मेसेज पठाउँ भनेर सोधे भने, के’मा भन्ने भन्ने हुन्छ । ट्विटरमा भएको साथी भए ‘डिएम’ गर्दिनु भन्छु, बाँकिलाई के भन्ने के । भाइबर भन्नु कि, स्काइप भन्नु कि, आलो भन्नु कि, डुओ भन्नु कि, स्न्यापच्याट भन्नु कि, फेसबुक मेसेन्जर भन्नु कि, ह्याङ्आउट्स भन्नु कि बडो दुविधामा पर्छु । चीनमा ‘विच्याट’ र भारतमा ‘ह्वाट्सएप’ भनेजस्तै नेपालमा ‘भाइबर’ भन्नेको सङ्ख्या पनि बढ्दै छ तर पनि यही एप चलाउने भनेर छैन ।

कहिलेकाँही मोबाइल खोल्ने बित्तिकै भरर मेसेजका नोटिफिकेशन आउँछन्, अनि कहिलेकाँही नोटिफिकेशन हराउँदा, कुन एपमा मेसेज आएको हो भनेर पत्ता लगाउनै धौ-धौ हुन्छ । कतिपटक मैले भाइबरमा पठाएको मेसेज किन नहेरेको, वा स्काइपमा पठाएको मेसेजको खोइ जवाफ, आलोमा पठाएको थिँए, खै जवाफ नै आएन भनेर साथीहरुबाट सुन्नुपर्छ । यस्तो हुँदा त सबै एप्स निकालेर एउटा मात्रै राखौँ भनेझैँ हुन्छ तर सकिन्न । कतिपय साथीहरु चाँही २-३ वटा एप्समा एउटै मेसेज ठेल्दिन्छन्, कुनै त यसले हेर्ला भनेर, यसो हुँदा पनि आफैँलाई ओभरलोड हुन्छ ।

नेपाल गुगल प्लेस्टोरमा ईमो, फेसबुक मेसेन्जर, र भाइबर क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । इमो (imo) अहिलेसम्म मैले चलाएको छैन, तर यसलाई प्लेस्टोरमा पहिलो स्थानमा देख्दा, नेपालमा यसका प्रयोगकर्ता रहेछन् भन्ने थाहा हुन्छ । यसबाहेक टेलिग्राम, लाइन, हाइक आदि विभिन्न च्याट एप्सहरुका प्रयोगकर्ताहरु नेपालमा रहेका देखिन्छन्, तर कसको कति प्रयोगकर्ता छन् भन्न चाँहि मुश्किल छ ।

आकार अनिलको पोस्टवाट सभार

यो पनि पढ्नुहोस्  

मोबाइल हरायो, फुट्यो ? चिन्ता गर्नुपर्दैन, मेरो सुरक्षा छँदै छ नि !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !