११ बैशाख २०८१, मंगलबार

बलात्कार राज्यविरुद्धको अपराध हो


Rape Sign
Saroj Rijal
सरोज रिजाल

कसैको मन्जुरी बिना करकाप, डर, धम्कि वा बल प्रयोग गरी जबरजस्ती गरिने यौनसम्पर्कलाई भनिन्छ । त्यसैगरी उमेर नपुगेको व्यक्तिलाई ललाईफकाई, मञ्जुरी लिई वा नलिई गरिने यौनक्रिडालाई पनि बलात्कार नै मानिन्छ । यस अर्थमा नावालकसँग सहमतिमा नै भएको यौनसम्पर्क पनि बलात्कार हो । बलात्कार अपराध हो  । अपराध मात्र होइन बलात्कार राज्यविरुद्धको अपराध नै  हो  ।

पछिल्लो समयमा दैनिकसजो बलात्कारका घटना घटिरहेका छन् । एकपछि अर्को घटना घटिरहेको अवस्थामासमेत त्यस्ता अपराधीलाई कानुनी कारवाहीमा ल्याउन नसकेको अवस्था छ । धेरैजसो बलात्कारका घटनाहरु आफ्नो प्रतिष्ठाका कारण बाहिर आउन सकेका छैनन्, बाहिर आएका घटनाको पनि न्यायिक निरुपण हुन सकेको देखिदैन । दोषीले अनेक प्रपञ्च रचेर घटनालाई दबाउने प्रयास भएको देख्न सकिन्छ । कतिपय अवस्थामा राजनैतिक दबाब, प्रहरी प्रशासनको असहयोगका कारण पीडितले न्याय पाउन सकिरहेका छैनन् ।
पछिल्लो समयमा दुइ प्रकृतिका बलात्कारका घटनाहरु सार्वजनिक भइरहेको पाइन्छ । एउटा नाबालिकामाथि हुने बलात्कार र अर्को सहमतिमै भएको यौनक्रिडापछि लेनदेनमा कुरा नमिलेर बलात्कारका रुपमा चर्चित बनेका घटनाहरु । तर आज उठाउन खोजिएको विषय भने पहिलो सन्दर्भसँग सम्बन्धित रहेको छ ।

समाजमा बोलीसमेत नपुटेकी बालिका बलात्कार भएका धेरै घटना छन् । त्यसमा पनि पारिवारिक सदस्य त्यस्ता घटनामा संलग्न भएको पाइन्छ । अपाङ्ग र अशक्तमाथि हुने बलात्कारले त झन संवेदनहीन समाजको रुप प्रष्ट देखाएको छ । मुख्यगरी अबोध बालिका, शारीरिक रुपमा अशक्त महिलाहरु अहिले दानवको शिकार भइरहेको देखिन्छ । तर पनि उनीहरुले दोषीलाई कारवाही गर्न कानुनी उपचार खोज्न नसक्नुको मुख्य केही कारणहरुले प्रभाव पारेको पाइन्छ ।

समाजमा बलात्कारीभन्दा बलात्कृत (पीडित)ले लज्जित हुनुपर्ने अवस्था छ । घटनालाई बाहिर ल्याएको खण्डमा भविष्यमा आइपर्ने कठीन चुनौतिको पीडितले सामना गर्न नसक्ने सामाजिक संरचनाले पनि यस्ता घटनामा वृद्धि गरिरहेको छ । बलात्कारको घटनामा पीडित जहिले पनि खतरामा रहेको पाइन्छ । बलात्कारीले पीडितको हत्या गरिदिन सक्छ । बलात्कारपछि पनि कहीँ कसैलाई भनेमा वा उजूरी गरेमा ठूलो नोक्शान पुर्याइदिने धम्की दिएको भेटिन्छ । धम्कीका कारण पीडितले कसैलाई भन्न नसक्ने र जीवनभर पीडा गुम्साएर बाँच्न विवश हुनुपरेको छ । अर्कोतर्फ बलात्कारी झन् प्रोत्साहित भई डरधम्की देखाएर बारम्बार बलात्कार गरिरहेको देख्न सकिन्छ । पीडितले कथंकदाचित् आफन्त वा साथीभाइलाई भनिहालेमा पनि कानुनी कारबाहीका लागि प्रोत्साहन मिल्ने सम्भावना कम हुन्छ । उल्टो लोकलाजको सम्भावनाका कारण घटना लुकाउन लगाइन्छ । यही कारणले पीडितले आफूमाथि जहिले पनि खतराको महसुस गर्नु परिरहेको छ ।

समाजमा बलात्कारका घटना बिगतमा पनि हुने गर्थे र यो क्रम अहिले पनि चलिरहेको छ । बिगतमा घटनाको उजुरी कम हुने गर्दथ्यो तर पछिल्लो समयमा शिक्षा, चेतना र सशक्तीकरणले उजूरी गर्ने साहस बढेको छ । जसले गर्दा बलात्कारको घटना बढेको देखिन्छ । यदि उजुरी बढे जसरी नै दोषीलाई कडा कारवाही हुने हो भने बलात्कारी निरुत्साहित हुने वातावरण विकास हुन सक्ने थियो । यसो भनिरहँदा पंक्तिकारले अहिले घटिरहेको बलात्कारका घटनालाई सामान्य भन्न खोजेको भने होइन ।

बलात्कारजस्ता घटना हुन नदिन प्रहरी प्रशासनले विशेष निगरानी राख्नुपर्छ । मुख्यगरी सचेतना बिस्तारमा ध्यान दिनु अति आवश्यक भइ सकेको छ । बलात्कारको घटना उजूरी गर्न अग्रसर हुनुपर्दछ । बलात्कार घटना गुपचुप हुँदा बलात्कारी झन् उत्साही भएर यस्ता घटना घट्न सक्ने हुन्छ । समाजमा बलात्कृतप्रतिको परम्परागत मूल्य मान्यता र धारणामा परिवर्तन हुनु आवश्यक छ । पीडितलाई समाजमा सम्मानकासाथ बाच्न पाउने बातावरण निर्माण हुनु जरुरी छ ।

बलात्कारका घटना हुनै नदिनु सबैभन्दा राम्रो उपाय हो जसका लागि सबै नागरिक सचेत हुनुका साथै यस्ता घटना हुन नदिन बिशेष निगरानी गर्ने गर्नुपर्दछ । यति गर्दा पनि बलात्कार भइहाले दोषीलाई कडा कानूनी सजाय गर्नुपर्दछ । राजनैतिक दवाब र अन्य सामाजिक संस्कारको आधारमा कुनैपनि अपराधीले छुट पाउनु हुदैन । कानूनी व्यवस्था कार्यान्वयन नभएको र प्रमाण पुगेको मुद्दामा पनि दोषीलाई उम्काएको देखिन्छ । चर्चित मुद्दामा दबाब, धर्ना दिने गरिएको पाइन्छ, तर हरेक घटनामा त्यो सम्भव हुँदैन । न्यायमूर्तिले विवेक राखेर मुद्दा केलाउने हो भने पीडितले न्याय नपाउने अवस्था आउँदैन । त्यसैले बलात्कारजस्तो अपराध विरुद्ध खुलेरै लाग्ने र कुनै पनि बहानामा पीडकलाई दण्डित गर्ने हो भने हाल घटिरहेको घटनामा कमि आउन सक्छ ।

बलात्कार जस्तो संवेदनशील विषयमा राज्यले राज्यविरुद्धको अपराध मानेर दोषीलाई कारवाही गर्ने हो भने बलात्कारका घटनामा कमि आउनुका साथै समाजमा सुशासन कायम हुन सक्ने थियो । बलात्कारीलाई अब पनि कडा सजाय नदिने र कसैको संरक्षणमा यसरी नै छुट भइराख्ने हो भने यो समस्याले बिकराल रुप लिन सक्छ । तेसैले कानुनको कडा कार्यन्वयनमा काहींकतैबाट दबाबमा नपरी दोषीलाई कारवाही गर्नु र समाजमा जनचेतना जगाउनु नै अहिलेको आवश्यकता हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !