६ बैशाख २०८१, बिहिबार

सेल्फ क्वारेन्टिनमा बसेर युवाले गरे सहयोग


कैलाली । धनगढीका युवा समूहको एक टीमले नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न शहरबाट कैलाली र कञ्चनपुरसँगै जोडिएको गौरीफन्टा सीमानाका हुँदै भित्रिएका नेपालीहरुलाई ४० दिनसम्म निःशुल्क खाना तथा पानी वितरण गरी सहयोग गरेका छन ।

धनगढी उपमहानगरपालिकाको सहकार्य तथा नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाको संयोजनमा रोयल कोलाबोरेटिभ्सको १८ जनाको युवा समूहले जेठ १ देखी असार १० गतेसम्म भारतबाट आएका नेपाली यात्रुलाई नाकामा निःशुल्क खाना तथा पानी वितरण गरी सहयोग गरिएको रोयल कोलाबोरेटिभ्सका अध्यक्ष गजेन्द्र शाहीले जानकारी दिनुभयो ।

अध्यक्ष शाहीले कोरोनाका कारण रोजगार गुमाई भारतबाट आएका नेपालीलाई २४ हजार प्लेट खाना खुवाइएको बताउनुभयो । त्यस्तै पानी वितरण गरियो । उहाँले थप्नुभयो, “घर नगएको झण्डै डेढ महिना भइसक्यो, परिवारका सदस्यलाई जोखिममा पर्न नदिन एक छुट्टै कोठा भाडामा लिई सेल्फ क्वारेन्टिन बसेर सहयोग गरेका हौं ।”

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङक्रमित बिरामी र कुरुवालाई समेत खाना खुवाइएको उहाँले बताउँनुभयो ।
धनगढी उपमहानगरपालिका, विभिन्न गैह्रसरकारी संस्था, स्थानीय व्यापारी, देश तथा विदेशमा बसोबास गर्दै आएका नेपालीको सहयोगबाट खाना तथा पानीको व्यवस्थापन गरिएको हो ।

जनस्तरबाट स्वतस्फुर्त रुपमा इच्छुक व्यक्तिहरुबाट नगद नलिई आवश्यकीय खाद्य सामाग्रीहरु सङ्कलन गरी खाना र पानी खुवाइएको हो । निःशल्क खाना तथा पानि वितरण अभियानमा रु. १२ लाख खर्च भएको अनुमान गरिएको छ ।

भारतबाट आएका नेपालीलाई लामो दूरीको गन्तव्यसम्म पुग्न समस्या हुने भएकोले बसमा प्याकिङ खानाको समेत व्यवस्थापन गरिएको कोलाबोरेटिभ्सका संस्थापक सदस्य देवेन्द्र जोशीको भनाइ छ । सदस्य जोशीले भन्नुभयो, “ बिचल्लिमा परेकालाई उनीहरुका घरपरिवार, आफन्त र स्थानीय जनप्रतिनिधिसँग सम्पर्कका लागि सहजिकरण गरयौ ।”

कोरोनाका कारण भारतको पुनाबाट भोकप्यास र थकानको यात्राबाट सीमामा आईपुगेका डोटीको बाहुँनकाँडाका रमेश खडकाले युवा समूहको टीमले नेपाली दाजुभाइलाई विना स्वार्थ निःशुल्क खाना खुवाइ रहेको देख्दा आफ्नो देश, गाउँघर र दाजुभाइ भएको अनुभूति गर्न पाएको भावना व्यक्त गनुृभयो । गत वर्ष पनि सो समूहले कोरोनाको प्रथम लहरमा भारतबाट आएका नेपालीलाई ६५ हजार प्लेट खाना निःशुल्क खुवाएको बताइएको छ । सो समूहले निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा पनि चलाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !