१२ बैशाख २०८१, बुधबार

काजकिरिया खर्च नै पाएनन् हात्ती पीडितले


धु्रवेले हात्तीले लखेट्दा फाइल फोटो

झापा । मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको २३ दिन बितिसक्दा समेत स्थानीयवासी ६५ वर्षीय श्याम राईको परिवारले काजकिरिया खर्च पाएको छैन । मेचीनगर नगरपालिका–९ स्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका राईको गत जेठ ४ गते राति हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । नगरपालिकाले जङ्गली हात्तीले मृत्यु भएमा रु २५ हजार काजकिरिया खर्च उपलब्ध गराउने नियम छ ।

घटना लगत्तै नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती र वडा नम्बर ९ का वडाध्यक्ष गोपाल खड्का घरमै पुगेर तत्काल काजकिरिया खर्च उपलब्ध गराउने आश्वासन दिनुभएको मृतकका माइला छोरा किरणले बताउनुभयो ।

यद्यपि घटना भएको २३ औँ दिन बितिसक्दा समेत मृतकका परिवारले नगरपालिकाबाट कुनै राहत पाएको छैन । “दिन्छु भनेपछि दिनैपिच्छे वडा कार्यालय र नगरपालिकामा धाइरहेका छौँ”, मृतककी जेठी बुहारी सुबिना विश्वकर्माले भन्नुभयो, “अहिलेसम्म पाएका छैनौँ ।”

ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएको राई परिवारको मागुरमाडी सामुदायिक वन बिट नं १ को छेउमा २२ वर्षदेखि बसोबास गर्दै आए पनि जग्गाको धनीपुर्जा अझसम्म बनेको छैन । मृतक राईका पत्नी जुनबिरा, चार छोरा र एक छोरी छन् ।

मेचीनगरका प्रमुख आचार्यले अझैसम्म मृतकका परिवारले काजकिरिया खर्च नपाएकोमा अनभिज्ञता प्रकट गर्नुभयो । “उहाँहरुले तुरुन्तै पाउनु पर्ने हो, दिनु पनि भनेको हो”, उहाँले भन्नुभयो, “के भएको रहेछ बुझेर तुरुन्त उपलब्ध गराउँछौँ ।”

स्थानीय नवकिरण टोल विकास संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलले काजकिरिया खर्च मृत्यु भएको १३ दिनभित्रै पीडित परिवारले पाउनु पर्नेमा नगरपालिका र वडा कार्यालयबाट ढिलासुस्ती गरिएकोमा गुनासो व्यक्त गर्नुभयो । काजकिरिया खर्चवापत नगरपालिकाले रु २५ हजार र डिभिजन वन कार्यालय झापाले रु ५० हजार दिने व्यवस्था रहेको छ । यसका लागि मृतकका परिवारले बैंकमा खाता खोलिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !