४ बैशाख २०८१, मंगलबार

मुस्कानले जितिन् अमेरिकाको प्रतिष्ठित ‘इन्टरनेसनल वुमन अफ करेज’ अवार्ड

मुस्कान खातुनले पाइन् अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने अवार्ड


मुस्कान खातुन

काठमाडौँ । नेपालको पर्सा जिल्ला वीरगन्जस्थित छपकैयाकी १५ वर्षीया मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज (आइडब्लूओसी) अवार्डबाट सम्मानित हुने भएकी छन् ।

नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार अमेरिकाकी प्रथम महिला जिल बाइडेन र सेक्रेटरी अफ स्टेट टोनी ब्लीनकेनले आगामी मार्च ८ मा भर्चुअल कार्यक्रमबीच मुस्कानलाई उक्त अवार्ड प्रदान गर्नेछन् ।

यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन् भने सो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन् । महिलाहरुमाथि हुने एसिड आक्रमण अन्त्य गर्नका लागि खेलेको भूमिकालाई कदर गर्दै खातुनलाई उक्त अवार्डबाट सम्मानित गर्न लागिएको राजदूतावासले जनाएको छ ।

प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै १५ वर्षको उमेरमा खातुन एसिड आक्रमणको शिकार बनेकी थिइन् । खातुनलाई गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमण भएको थियो । घटना उनको अनुहार, छाती र हातमा चोट लागेको थियो । यसका बावजुद उनले यस विपत्लाई नेपालमा परिवर्तन ल्याउने अवसरको रुपमा परिणत गरिन् ।

प्रायजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई अमेरिकाले आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्ने गर्दछ । नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्न पाउँदा गर्व लागेको दूतावासले जनाएको छ ।

मुस्कानले नेपालमा एसिड आक्रमणबारे कडा कानुन ल्याउन पहलकदमी लिइन् । उनले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट गरेकी थिइन् । यो अवार्ड दिन लागिएको यो १५ औँ वर्ष हो । यसअघि यो अवार्ड पाकिस्तानकी नोबेल पुरस्कार विजेता मलाला युसफजाईले पनि पाएकी थिइन् ।

https://twitter.com/USAmbNepal/status/1367653656766472194


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !