७ बैशाख २०८१, शुक्रबार

नुवाकोटमा माघे संक्रान्तिमा जुधाइयो ३५ हल गोरु


नुवाकोटमा माघे संक्रान्तिमा जुधाइयो ३५ हल गोरु

नुवाकोट । जिल्लाका विभिन्न स्थानमा यस वर्ष माघे संक्रान्तिमा ३५ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्तिमा गोरु जुधाउने मेलालाई पछिल्लो समय व्यवस्थित रुपमा जिल्लाका विभिन्न स्थानमा जुधाउन थालिएको छ ।

तारकेश्वर गाउँपालिका–३ तारुका, विदुर नगरपालिका-१० बेत्रावती, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ, तादी गाउँपालिका-४ सातबीसे र शिवपुरी गाउँपालिका-३ शेराबगरमा आज गोरु जुधाइ मेला सञ्चालन भएको छ । पाँच स्थानमा गरी हालसम्म ३५ हल गोरु जुधाइएको आयोजकले जनाएका छन् ।

सबैभन्दा धेरै तारुकामा १४ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा सञ्चालित गोरु जुधाइ हेर्न तारुकाका हजारौँ दर्शक गोरु जुधाई हेर्न पुगेका थिए ।

गाउँमा विभिन्न स्थानमा गोरु जुधाउने चलनलाई व्यवस्थित गर्दै २०६२ सालदेखि व्यवस्थित रुपमा एकै ठाउँमा गोरु जुधाउन थालिएको मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर-३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले बताए ।

विदुर-१० बेत्रावतीमा यस वर्ष वरपरका पाँच हल मात्र गोरु जुधाइएको गोसाईकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले बताए । कोरोनाका कारण धेरै प्रचारप्रसारमा जोड नदिई परम्परालाई निरन्तरता दिने उद्देश्यले मात्र थोरै गोरु जुधाइएको उनको भनाइ छ ।

यस्तै पञ्चकन्या-३ घलेगाउँमा पाँच हल गोरु जुधाइएको आयोजक नवप्रतिभा युवा समाजका अध्यक्ष शिवहरि विष्टले बताए । विजेता तथा सहभागी गोधनीलाई रु १५, १० र पाँच हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । पञ्चकन्यामा पछिल्लो पाँच वर्षदेखि गोरु जुधाउने मेला सञ्चालन हुँदै आएको छ ।

यस्तै तीन वर्षअघिदेखि गोरु जुधाउन थालिएको शिवपुरी गाउँपालिका-५, शेराबगरमा यस वर्ष तीन हल गोरु जुधाइएको आयोजक शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !