सुकुम्वासी बस्तीमा दशैँको रौनक छाएन Nepalpatra सुकुम्वासी बस्तीमा दशैँको रौनक छाएन
४ कार्तिक २०७८, बिहिबार

सुकुम्वासी बस्तीमा दशैँको रौनक छाएन


सुकुम्वासी बस्ती

वीरगञ्ज, २ कात्तिक । साठी वर्षीया फूलमायाँ पहरीको अनुहार हेर्दा गहभरि आँसु, निधारभरि चिन्ताको रेखा स्पस्ट झल्किछ । आम्दानीको अभावमा प्राय टोलाएरै बस्नुपर्ने र चाडपर्वको बेलामा पनि गिट्ठा र भ्याकुर खाएर दिन बिताउनुपर्ने बाध्यता उहाँको छ। हिन्दूमात्रको महान् चाड दशैँ नजिकिए पनि केटाकेटीलाई सुकिला लुगा हाल्न र मिठो मसिनो खुवाउन नसकेकामा उहाँमा चिन्ता बढ्दै गएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–६ लमहा जङ्गलमा बस्दै आएका १४ घरधुरीका बासिन्दाको पनि पहरीको जस्तै हविगत भएको छ । तीन दशक पुरानो उक्त बस्तीका सुकुम्वासी अहिले पनि जङ्गली शैलीमै जीवन जुजारा गर्दै आइरहेका छन् । जङ्गलभित्रै जीवन निर्वाह गर्दै आएका उनीहरूलाई अन्यत्र स्थानान्तरण नगरिएकाले राज्यको सेवा र सुविधाबाट पनि वञ्चित हुँदै आएका छन् । चौध घरधुरी रहेको सो बस्तीको अधिकांश घरका बालबालिका थोत्रो लुगा लगाएको, फोहर मैलामा खेलिरहेका देखिन्छन् । उनीहरूमा दशैँको कुनै उल्लास पनि देखिएको छैन । “दुई छाक टार्न धौ धौ हुन्छ, बच्चाहरू नाङ्गै छन्, केको दशैँ हुनु, हाम्रा लागि त दशैँ होइन दशा पो रहेछ ।’’स्थानीयवासी बाबुलाल पहरी पीडा पोख्नुहुन्छ, “यसपालि मात्रै हो र, हाम्रा लागि त प्रत्येक वर्षको दशैँ दशामात्र हुँदै आएको छ । ’’

गाउँ नजिकै रहेको अन्य बस्तीमा भने दशँैको रमाइलो देखिन्छ । नयाँनयाँ लुगा, मीठो खानेकुराको जोहो गर्नेको चहल पहल देखिन्छ तर हाम्रो सुकुम्वासी बस्तीमा भने भात नै खान पाए पनि ठूलो कुरा हुने उहाँको गुनासो छ । मिठो मसिनो खाने र नयाँ लुगा लगाउने कसको मन हुँदैन र!” सोही बस्तीकी भरछिया पहरी भन्नुहुन्छ, “तर हामीले आफ्ना बालबालिकालाई दुई छाक दालभात र तरकारी खुवाउनु भनेको सपना जस्तै भएको छ ।”

उक्त बस्तीका बुढापाकाहरूको एउटै भनाइ छ, हाम्रो बालबालिकाको जिउने वातावरण नै यस्तै हो । न पेटभर खाना नै खुवाउन सकिन्छ, न त राम्रो लुगा लगाउन नै दिन सकिन्छ । उनीहरु भन्छन्, “अन्यत्र सबैले मिठो मसिनो खाइरहेका छन् तर हाम्रो घरमा चुलो नै बाल्ने स्थिति छैन । हाम्रा लागि त मिठो मसिनो खानु भनेको उही जङ्गलमा रहेका गिट्ठा भ्याकुर र सिस्नोको साग नै हो ।’’ गएको स्थानीय चुनावको बेलामा त नेताहरू आएर ठूल्ठूला भाषण र बाचा गरेर गए तर सुकुम्वासी बस्तीको दयनीय र कारुणिक अवस्थालाई उकास्नेतर्फ कसैले ध्यान दिएनन् । घोरे पहरीको गुनासो छ, “हाम्रो दैनिक जीवन यसरी नै बितिरहेको छ तर भोट माग्ने नेताहरू आजसम्म फर्केर आएका छैन, हामी त भोट बैंकमात्र हाँै ।”

लमहाको जङ्गलभित्र रहेका सो बस्तीका सुकुम्वासीललाई बजार पुग्न जङ्गल छिचोलेर करिब सात किलोमिटर पूर्वको चन्द्रपुर बजार वा १२ किलोमिटर पश्चिमको निजगढ बजार पुग्नुपर्ने बाध्यता छ । विसं २०४४ मा मकवानपुरको डाङडुङे गाउँबाट बस्ती हटाइएपछि उनीहरू यहाँ आएर बस्दै आएका हुन् । राज्यको पहुँचबाट टाढा रहेका उक्त बस्तीमा कुनै पनि पूर्वाधारको विस्तार नहुँदा उनीहरुको जीवनस्तरमा पनि परिवर्तन आउन नसकेको स्थानीयवासीको भनाइ छ ।

निर्वाचित जनप्रतिनिधिले बेवास्ता गरेका कारण उनीहरू लामो समयदेखि लमहा खोलाको धमिलो पानी खान बाध्य हुनाका साथै अन्य सुविधाबाट समेत वञ्चित रहेका छन् । राष्ट्रिय वन मासेर उनीहरू बसेकाले सुविधाबाट पनि वञ्चित भएको स्वीकार्दै चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले राससलाई भन्नुभयो, “वन क्षेत्रभित्र कुनै पनि विकास निर्माण तथा संरचना बनाउन वन कार्यालयले रोक लगाएकाले त्यस सुकुम्वासी बस्तीमा परिवर्तन आउन नसकेको हो ।”अशिक्षाका कारण मजदूरीलाई नै जीविकोपार्जनको मुख्य माध्यम बनाउनुपर्दा र सधैँ साहू महाजनको ऋणमा डुब्नुपर्दा उनीहरूमा रोजगारीको अर्को विकल्प पनि छैन ।

“दशैँ जस्ता चाडपर्व त धनी मानिसका लागि हो, चाडपर्व आउँदा हामी झन् ऋणमा डुब्ने गरेकाले हाम्रा लागि यस्तो चाडपर्व नआई दिए हुन्थ्यो”, लक्ष्मण पहरीभन्नुहुन्छ “हामी त नेताहरुका लागि भोट बैंक मात्र भएकाले सबै दलले हाम्रो फाइदामात्र लिने गर्छन् र अब कहिल्यै पनि आफ्ना दुःख, पीडा र समस्याबारे नेताहरूलाई नसुनाउने निष्कर्षमा पुगेका छौ ।” तत्कालीन वनमन्त्री हेमबहादुर मल्लको पालामा पहाडको बस्ती हटाएर कटानी गाउँमा बस्ती विस्तार गरेपनि त्यसबेला हुने खानेहरूले सुविधा सम्पन्न ठाउँमा घरघडेरी पाए तर ठूलाबडासम्म हाम्रो पहुँच नभएकाले हामी जङ्गलमै शरण लिनु परेको उनीहरू बताउँछन् ।बस्तीका पुरुषहरू प्रायः कामको खोजीमा घर बाहिर भौतारिरहेका हुँदा त्यहाँ महिला तथा बालबालिकाको उपस्थिति मात्रै देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !