१३ बैशाख २०८१, बिहिबार

भात खान ६ महिनादेखि खुलामञ्च


भात खान ६ महिनादेखि खुलामञ्च

काठमाडौं । शनिबारको दिन । बिहानको सवा नौ बजे । खुलामञ्चको एक भागमा बनाइएको बसपार्कमा बसहरू धमाधम थपिँदै थिए । खाना खाने र खुवाउने समय हुँदै थियो ।

एक–दुई जना गर्दै खाना खान आउनेहरूको संख्या केही मिनेटमा नै गन्नै मुस्किल पर्छ । त्यत्तिकैमा खानासहितको एउटा गाडी वीर अस्पतालको गेट तर्फबाट भित्र पस्छ । भोको पेट भर्न आएकाहरू गाडी चिन्छन् र आफूले लगाएका चप्पल खोलेर लाइन लागेर भुइँमा बस्छन् । हरियो ज्याकेट लगाएका युवाहरू कागजका प्लेट तथा कप बाँड्न थाल्छन् । खाना बाँड्न सुरु हुन्छ । मान्छे थपिएको थपियै छन् ।

यो दैनिकी विगत ६ महिना अघिदेखिकै हो । कोरोना संक्रमण सुरु भएयता खुलामञ्चमा हाम्रो टिम नेपालको समूहले स्वतस्फूर्त रूपमा गरिब, असहाय तथा विपन्नसहित सहारा गुमाएका व्यक्तिलाई निःशुल्क खाना खुवाउँदै आइरहेको छ ।

त्यही भीडमा खाना खाँदै छिन् दोलखा सिंगटीकी ४२ वर्षीया पम्फा थापा । उनी १५ चैतदेखि नै खाना खान खुला मञ्च आइरहेकी छिन् । पम्फाको सहारा तीन र नौ वर्षकी दुई छोरी हुन् । श्रीमान्ले छाडेको धेरै भयो । सानी छोरीको मुटुमा प्वाल छ । किलागलमा भाडाको कोठा छ । त्यहीबाट हरेक महिना छोरीको उपचारमा गंगालाल धाउने उनी भात खान भने खुला मञ्च आउँछिन् ।

खुलामञ्चमा कोरोना संक्रमण सुरु भएदेखि नै खाना खुवाउने अभियान सुरु गरेका हाम्रो टिम नेपालका संयोजक विमल पन्तले असहाय, गरिब तथा विपन्न वर्गको सेवामा निरन्तर सहभागी हुन पाउँदा राज्यप्रतिको जिम्मेवारी महसुस गरेको बताए ।

हाम्रो टिम नेपालमा हाल सक्रिय सदस्य १ सय ५० जना र साधारण सदस्य सय जना छन् । यसरी खाना खुवाउनका लागि सक्रिय सदस्यबाट मासिक रूपमा १ हजार र साधारण सदस्यबाट एक सयका दरले संकलन गर्ने गरिएको र स्वदेश तथा विदेशबाट समेत निरन्तर सहयोग समेत प्राप्त भइरहेको जानकारी दिए ।

संयोजक पन्तका अनुसार बेलायत बस्दै आएकी इसा गुरुङसहित अमेरिका, बेल्जियम लगायतका मुलुकमा बस्ने नेपालीबाट अभियानलाई निरन्तर सहयोग मिलेको छ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु