६ बैशाख २०८१, बिहिबार

सात दिनदेखि अन्धकारमा ढोरपाटनवासी


अन्धकार

गलकोट, २४ भदौ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते राति भुजीखोलामा आएको बाढीका कारण ठूलो जनधनमा क्षति पुगेको छ । बाढीका कारण मानवीय मात्रै नभई ठूलो मात्रमा भौतिक क्षति भएको छ । हालसम्म १९ जनाको मृत्यु भइसकेको छ भने त्यत्तिकै अझ बेपत्ता छन् । बाढीले ८० घर पूर्ण र ७१ घरसहित १७१ भौतिक संरचनामा क्षति पुगेको छ ।

बाढीका कारण भुजीखोला छेउमा रहेका ११ जलविद्युत अवरुद्ध छन् । कुनैमा आंशिक क्षति पु¥याएको छ भने केही जलविद्युत्गृह पूर्ण रुपमा बाढीले बगाएको छ । केहीको नहर भत्काएको छ । आफ्नो घरबार गुमाउँदा अँध्यारो मन भएका बाढीपीडित सात दिनदेखि अन्धकारमा रात काट्न बाध्य छन् ।

जिल्लामा जम्मा ५५ प्रतिशत केन्द्रीय विद्युतीकरण पुगे पनि विकटमा लघुजलविद्युत आयोजना सञ्चालनमा छन् । खोला किनारमा रहेका जलविद्युत्गृहमा भुजीखोलाको बाढीले क्षति पु¥याएको छ । अवरुद्ध एक जलविद्युत् आयोजनाको मर्मतपछि सञ्चालनमा ल्याइएको छ भने अन्य आयोजना मर्मतका लागि स्वतस्र्फुत रुपमा अभियान थालिएको स्थानीयवासी विजय कायतले जानकारी दिनुभयो । अहिले ढोरपाटनको बोबाङ गाउँबाहेक अन्य अन्धकार भएको ढोरपाटन नगरपालिका–९का वडाध्यक्ष हरिबहादुर घर्तीले जानकारी दिनुभयो ।

भुजीखोलाको बाढीले द्वार, फल्लेघर, सुप्राङ, घट्टेपानी, दुनेपधेरा, भुसुन्दे, सुकुरुदुङ र लाकुरीबोट गाउँ अन्धकार भएको छ । बाढीका कारण मानवीय क्षति नभएको तर नगरपालिकाका ७ र ८ मा विद्युत् अवरुद्ध भएको छ । भुजीखोला किनारामा रहेका विद्युत्गृहमा बाढी पसेर ठूलो क्षति पुगेका कारण अन्धकारमा बस्नुपरेको दुनेपधेराका घाइते बाढीपीडित छमेन्द्र पुनले बताउनुभयो । “बाढीले घरमा क्षति पुगेको छ, बारीमा त्रिपाल टाँगेर बस्दै आएका छौंँ”, पुनले भन्नुभयो “घर बाहिर बस्नुपर्ने पीडा त छँदैछ, त्यसमा न विद्युत् छ न मोबाइलको टावर छ ।” घरमै आएका स्वास्थ्यकर्मीले सामान्य उपचार गरे पनि थप उपचारका लागि बुर्तिवाङ जान नसकेको पुनको भनाइ रहेको छ । बाढीका कारण भुजिखोला पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ, नेपाने देउराली जलविद्युत् र रुद्रताल लघुजलविद्युत् आयोजनासहित ११ जलविद्युत्मा क्षति पुगेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढीग्रस्त क्षेत्रको अवलोकनपछि निजीरुपमा सञ्चालनमा आएका लघुजलविद्युत् आयोजनाको अवस्था हेरेर मर्मतमा सहयोग गरिने आश्वासन दिनुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !