, आज मे १७ : ‘फरक यौनिकता मानसिक रोग होइन’

आज मे १७ : ‘फरक यौनिकता मानसिक रोग होइन’

चिप्लेढुङ्गा, ४ जेठ । “अहिले स्वतन्त्ररुपमा आफ्नो परिचयसहित हिँड्न पाउँदा निकै खुशी छु, कुनै बेला छक्का र हिजडा भनेर अपमानित गर्नेहरुले पनि अहिले विन्दिया जी भनेर सम्मान गरेको पाउँछु”, नौलो बिहानी पोखराका अध्यक्ष विन्दिया गौतमले भन्नुभयो, “चौध वर्ष अगाडिदेखि आजसम्म अधिकांश समय मानसिक विक्षिप्तता लिएर बाँचेको अनुभव छ ।”

जैविकरुपमा छोरा भएर जन्मँदा परिवार र समाजले छोरा नै ठान्नु तर आफ्नो सम्पूर्ण स्वभाव छोरी हुनु, मेरा लागि मात्रै होइन परिवारका लागिसमेत उत्तिकै चिन्ताको विषय बन्यो ।” गौतमले भन्नुभयो, “आज मानसिक समस्याबाट टाढा रहेर स्वतन्त्र जीवन बाँचेकी छु, अब अरुको स्वतन्त्र जीवनका लागि आवाज उठाएर मानव अधिकार स्थापित गर्ने दौडानमा क्रियाशील छु ।”

आज मे १७ लाई विशेषरुपमा सम्झँदै विन्दियाले भन्नुभयो, “फरक यौनिकता हुनुलाई विश्व समुदायमै असामान्य रुपले लिइन्थ्यो, यस्तो अवस्थालाई मानसिक रोग वा सामाजिक विकृति भनेर बुझ्ने गरिन्थ्यो । सन् १९७० मा अमेरिकी वैज्ञानिक सङ्घ र अमेरिकी मनोरोग चिकित्सक सङ्घले एलजिविटी हुनु भनेको कुनै मानसिक रोग नभएको पुष्टि गर्दै मानसिक रोगीको सूचीबाट हटायो । त्यस्तै सन् १९९० मे १७ मा विश्व स्वास्थ्य सङ्गठनले पनि एलजिविटीलाई मानसिक रोगीको सूचीबाट हटाएको थियो, यो समुदायले आजको दिनलाई एक उत्सवकारुपमा मनाउँदै आएका छन् ।”

हाल विश्वभरि देखिएको कोरोना सङ्क्रमणको कारणले आजका दिनका सबै कार्यक्रम भने रोकिएको उहाँले जानकारी दिनुभयो । जीवनमा अपहेलना तिरस्कारसँग जुध्दै आफ्नो फरक पहिचानलाई स्थापित गराउन सफल गौतम सन् २००६ बाट आफ्नो अस्तित्वको लडाइँमा उत्रनुभएको हो । आफ्नो फरक हुर्काइका कारण आमाबुबाले समेत धेरै मानसिक पीडा भोग्नुपरेको अनुभव सुनाउँदै गौतम भन्नुहुन्छ, “आमाहरुले छोरा भएर जन्मेर छोरी हुने कस्तो रोग लागेछ भन्दै भाग्यलाई धिक्कार्नुहुन्थ्यो । समाजले हिजडा र छक्का भनेर हेयको दृृष्टिकोणले हेथ्र्यो, पृथ्वीनारायण क्याम्पसमा स्नातक भर्ना हुँदा पनि म धेरैको नजरमा हाँसोको पात्र बन्थेँ । त्यसपछि मलाई पढ्न जानै मन लागेन ।”

सन् २००७ नौलो बिहानी समाज भनेर संस्था खोलेपछि अफिसमा केटीको पहिरन लगाएर बस्ने र घर आउँदा केटा भएर आउने गरेका अनुभवहरु उहाँसँग छन् । जीवनमा पहिलोपल्ट २००७ मा ‘मिस पिङ्कमा’ फष्ट रनरअप हुँदाको पलले खुशी दिएको र दोस्रोपल्ट आमाबुबाले आफ्नो अवस्थालाई स्वीकारेर दिएको आत्मियताले आफ्नो आत्मबल र आत्मविश्वास बढ्दै गएको बताउनुहुन्छ ।

गौतमका अनुसार ‘यो पाँच प्रकारको हुन्छ ‘लेस्बियन’ भनेको महिला समलिङ्गी हो । जो जन्मदा बालिका भएर जन्मिएको हुन्छ र आफू महिला भएर पनि महिलासँग नै मानसिक, शारीरिक र भावनात्मकरुपले आकर्षण रहन्छ, गे– पुरुष समलिङ्गी, जो जन्मदा बालक भएर जन्मन्छ र पुरुषसँग नै आकर्षण हुन्छ । बाइसेक्सुअल– दुई लिङ्गी जो व्यक्ति महिला पुरुष दुवैसित आकर्षण हुन्छ । ट्रान्सजेन्डर– तेस्रो लिङ्गी बालक भएर जन्म भएको र पछि बयस्क बन्ने क्रममा आफूलाई महिला सोच्ने र पुरुषलाई मन पराउनेलाई तेस्रो लिङ्गी महिला भनिन्छ । जन्मदा बालिका भएर जन्मिएको र पछि हुर्कंदै बढ्ने क्रममा आफूलाई कहिल्यै पनि महिला नठान्ने, पुरुषको हाउभाउ गर्ने र महिलाप्रति आकर्षित हुने व्यक्ति तेस्रो लिङ्गी पुरुष हो । इन्टरसेक्सड्– जो जन्मदा न महिला न पुरुषको जस्तो हुन्छ उसको लिङ्ग नै प्रष्ट हुँदैन उसलाई अन्तरलिङ्गी बच्चा भनिन्छ । तेस्रो लिङ्गी महिला जो जन्मदा बालक र हुर्कने बढ्ने क्रममा महिलाको जस्तो हाउभाउ गर्नेे महिलाको भावना विकास भएको र आफूलाई तेस्रो लिङ्गी महिला भनेर चिनाउन गर्छन् ।”

निलहिरा समाजका अध्यक्ष पिङ्की गुरुङले यस समुदायका मानिसले सामाजिक, आर्थिक, मानसिक, राजनीतिक, सांस्कृतिक विभेद र हिंसा भोग्नु परेको बताउनुहुन्छ । उहाँले संविधानको धारा १२ मा लैङ्गिक पहिचानबमोजिम नागरिकता उपलब्ध गराउने भनिए पनि नागरिकता विधेयकमा भने चिकित्सकीय सिफारिसमा मात्र नागरिकता उपलब्ध गराउने भनेपछि यसले थप समस्या उत्पन्न गराएको उहाँको भनाइ छ । यस समुदायका व्यक्ति सबैको स्वास्थ्य जाँच र लिङ्ग परिवर्तनको कुरा कत्तिको पहुँचमा होला र कति उपयुक्त हो भन्ने नै अहिलेको चुनौती भएको उहाँ बताउनुहुन्छ ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासङ्घका अध्यक्ष मनिषा ढकालले कूल जनसङ्ख्याको करिब आठदेखि १० प्रतिशत जनसङ्ख्या यो समुदायअन्तर्गत रहन सक्ने अन्तर्राष्ट्रिय आँकलन रहेको बताउनुभयो । “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय एकदमै प्राकृतिक तर समाजले नबुझिदिँदा आफ्नै पहिचान र अधिकारका लागि निरन्तर लडिरहेको समुदाय होे, अझै पनि खुलेर बाहिर आउन सकिरहेका छैनन्, त्यसैले पनि यकिन तथ्याङ्क बाहिर ल्याउन समस्या भएको छ”, ढकालले भन्नुभयो ।

उहाँले नागरिकता विधेयकले यस समुदायको आत्मसम्मानमा चोट पु¥याएको र पहिचानको नागरिकता लिनबाट व्यवधान सिर्जना गरेको बताउनुभयो । यस समुदायका लागि उत्सवका रुपमा मानिने मे १७ कोरोना त्रासले विशेष कार्यक्रम हुन नसकेको भन्दै उहाँले भर्चुअल बैठकबाट समुदायका व्यक्ति बीचमा शुभकामना आदानप्रदान गरेर, साझा समस्या र चुनौतीका बारेमा छलफल हुने जानकारी दिनुभयो ।