नेपालको युरेनियममा विदेशी चासो बढ्ने सम्भावना Nepalpatra नेपालको युरेनियममा विदेशी चासो बढ्ने सम्भावना
१४ मंसिर २०७९, बुधबार

नेपालको युरेनियममा विदेशी चासो बढ्ने सम्भावना


युरेनियम
Gopal Bhandari
गोपाल भण्डारी

पृष्ठभूमि

खानी तथा भूगर्भ विभागका अनुसार माथिल्लो मुस्ताङमा बहुमूल्य युरेनियमको ठूलो खानी रहेको पत्ता लागिसकेको छ । नेपालमा युरेनियमको खोजी गर्ने प्रारम्भिक आधार एउटै थियो– भारत तथा पाकिस्तानको शिवालिक क्षेत्रमा युरेनियम उत्खनन भइरहेको छ भने नेपालमा किन नहुने ? खासमा युरेनियम पाइने चट्टान युरेनिफेस रकको नेपालमा पनि उपलब्धता नै यसको अध्ययनको प्रमुख कडी थियो । त्यसपछिको अध्ययनका क्रममा विभिन्न स्थानमा छिटपुट युरेनियमको सम्भावना भएको निष्कर्ष निकालियो ।

विश्वमै युरेनियम उत्खनन गर्न सफल मानिएका मुलुकले नेपालमा भएको बहुमूल्य युरेनियम उत्खनन गर्ने इच्छा देखाएका छन् । युरेनियम उत्खननका लागि उत्तरी छिमेकी मुलुक चीनदेखि शक्तिराष्ट्र अमेरिकासम्मले रुचि गरेका हुन् । काजकास्तान, क्यानडा, अष्टेलिया, नामिबिया, रसिया लगायतका मुलुकमा युरेनियमको बढी उत्पादन गर्ने देशहरू नेपालमा भएको युरेनियम उत्खनन् गर्न इच्छा देखाउँदै तत्कालीन विज्ञान प्रविधि मन्त्रालय तथा उद्योग मन्त्रालय आउने गरेका थिए । यस बाहेक विभिन्न समयमा विभिन्न प्रकारले नेपालमा विदेशीहरुद्वारा युरेनियम अन्वेषण हुँदै आएको छ ।

किन विदेशी चासो बढ्ने ?

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले तयार गरेको ऐनको मस्यौदा अहिले कानुन मन्त्रालयमा पुगेको छ । अबको केहि समयपछी यो ऐनको मस्यौदा विधयेकका रुपमा मन्त्रिपरिषदमा पुग्ने सम्भावना छ । यो ऐन संसदले पारित गरेपछि नेपालमा रहेको अनुमान गरिएका युरेनियम खानीहरुको उत्खनन् गर्ने मार्ग प्रशस्त गर्नेछ ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सहसचीव सुरेन्द्र सुवेदीका अनुसार अवको करीव ३ महिनापछी यो ऐन आएपछि नेपालले परमाणविक पदार्थको नियमन र संरक्षणका लागि आफ्ना कार्यक्रम र योजनाहरु बनाउन सक्नेछ । यो ऐन आएपछि नेपालमा पारमाणविक पदार्थको खोज, उत्खनन् र प्रयोगको बाटो खुल्नेछ । युरेनियम उत्खनन् गर्ने बाटो खुलेपछी विदेशी चासो बढ्ने सम्भावना अधिकतम छ ।

नेपालको युरेनियममा विशेष चासो राख्ने बिदेशी देशहरु र संस्थाहरु  

१. भारत

२३-२७ फेबुअरी १९९६ मा भारतको पन्जाब राज्यको पटियालास्थित पन्जाब विश्वविद्यालयमा रेडियसन फिजिक्सको राष्ट्रिय सम्मेलनमा नेपालको चुरेशृंखलामा युरेनियमको राम्रै सम्भावना रहेको र त्यसको उत्खननबाट हुन सक्ने प्रभाव बारेमा भाभा आणविक केन्द्रका वैज्ञानिकहरुले छलफल गरेका थिए । त्यही वर्ष एक अमेरिकी जर्नलमा नेपालमा युरोनियम भण्डार रहेको अनुसन्धानात्मक लेख प्रकाशित भएपछि खानी विभाग र नेपाली वैज्ञानिकहरु माझ निकै चर्चा भएको थियो ।

विसं २०५४ मा तत्कालीन विज्ञान तथा प्रविधि मन्त्री मिर्जादिलसाद वेगले भाभा आणविक केन्द्रसँग सम्बद्ध एनएस शर्मालाई अति लुप्त खनिजको अध्ययन गर्न इजाजत दिएका थिए । खासमा शर्मा चाहिँ डडेलधुरामा माउन्टेन बोर्डिङ स्कुलको प्रिन्सिपल भएर चार वर्षसम्म बैतडी, बझाङ क्षेत्रको अध्ययन गरेका थिए । यद्यपी उनले गरेको विस्तृत रिपोर्ट नेपाल सरकार समक्ष पेस गरिएन । मिर्जा ०५५ मा मारिइसके भने शर्मा चाहिँ माओवादी द्वन्द्वका बेलामा भारततिरै फर्किए । सुरक्षा स्रोतहरु वेगको हत्यालाई युरेनियम तस्करीसँग पनि जोडेर हेर्नुपर्ने बताउँछन् ।

केही वर्षअघि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले एक भारतीय वैज्ञानिकलाई उद्धृत गर्दै माथिल्लो मुस्ताङमा युरेनियमको ठूलो भण्डार रहेको बताएका थिए । श्रेष्ठका अनुसार, ती भारतीय वैज्ञानिकले दशकअघि नै प्रयोगशाला परीक्षण गर्दा त्यो क्षेत्रको चट्टानमा रेडियोधर्मी विकिरण फेला पारेका थिए । रेडियोधर्र्मी विकिरण हुनु भनेको युरेनियम रहेको संकेत हो । उपल्लो मुस्ताङ अर्थात नयाँ मुलुक भनेर चिनिने क्षेत्रको माटो प्रतिकिलो हजार रुपैयाँको भाउले बिक्री हुनसक्ने जानकारी श्रेष्ठले एक वैज्ञानिकको हवाला दिएर खुलासा गरेका थिए । मुस्ताङको माटो किलोको हजार रुपियाँ यस्तो चर्चाले राजधानी र देशभरी आश्चर्य थपिदिएको थियो । उनका अनुसार ती बैज्ञानिकको अनुसन्धानपछि उपल्लो मुस्ताङ क्षेत्रमा युरेनियमको खानी रहेको पत्ता लागेकोले त्यहाँको माटो पनि अमूल्य रहेको उनको दावी छ । ती बैज्ञानिक को हुन ? कसले उनलाई युरेनियमको अनुसन्धान गर्ने अनुमति दियो ? जस्ता कुनै पनि रहस्य उनले खुलाएका छैनन् ।

उनले यति भनेका छन् कि आफू पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीश हुँदा संयुक्त राष्ट्रसंघमा जागिरे भएका भारतीय एक वैज्ञानिकले उपल्लो मुस्ताङको लोमाथाङकामा अत्यधिक मात्रामा युरेनियम भएको उहाँलाई बताएका थिए । ती वैज्ञानिकले पाँच किलो माटो लेमाथाङकाबाट कसैले लगेमा झन्डै ७० हजार भारतीय रुपियाँ बराबरको नेपाललाई नोक्सान पर्ने पनि आफूलाई बताएका थिए । यस सम्बन्धमा सरकारका बिभिन्न निकायमा जानकारी गराउँदा कसैले गम्भीर रुपमा लिएनन् । स्थानीयका अनुसार मकवानपुरको तीनभंगालमा भारतीय मूलका नागरिकहरू पटकपटक आइसकेका र आइरहेका छन ।

२. अमेरिका

अमेरिकाको ऊर्जा मन्त्रालय अन्तर्गत जीटीआरआई परियोजनाले पनि नेपालको युरेनियममा निकै चासो देखाइरहेको देखिन्छ । स्थानीयका अनुसार मकवानपुरको तीनभंगालमा अमेरिकी मूलका नागरिकहरू पटकपटक आइसकेका र आइरहेका छन ।

सन् १९७५ मा अमेरिकाका कोनाक्का र पोल्यान्डका जोन मेकीको संयुक्त टोलीले लाङटाङ हिमाल आरोहण गरेको थियो । उनीहरु आरोहण सकेर देश फर्केपछि मात्र थाहा भयो कि त्यस आरोहण टोलीले लाङटाङ क्षेत्रकै रेडियोधर्मी विकिरणको अध्ययन गरेको रहेछ ।

३. दक्षिण कोरिया

दक्षिण कोरियाको कोरियन इन्स्च्युट अफ जिओ-साइन्स एन्ड मिनरल्स रिसोर्सेस नामक संस्थाले युरेनियम लगायत लुप्त ऊर्जाजन्य खानी अन्वेषणका लागि नेपालको खानी विभागसँग सहकार्य गर्ने औपचारकि प्रस्तावसमेत पठाएको छ । खानी विभागका उच्च पदाधिकारी भन्छन, ‘कोरियनको अन्वेषण सहकार्य प्रस्ताव सही हो तर त्यसबारेमा ठोस निर्णय भइसकेको भने छैन’ ।

४. चीन

लोमान्थाङ क्षेत्रको १० किलोमिटर लम्बाइ र ३ किलोमिटर चौडाइको क्षेत्रमा युरेनियम भण्डार भेटिएको र त्यहाँ भएको युरेनियम उत्खनन् गर्न चीनले इच्छा देखाएको छ ।

५. आईएईए

दुई वर्षयता नेपालको युरेनियम अन्वेषणमा राष्ट्र संघीय निकाय अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्था (आईएईए)ले विशेष चासो देखाइरहेको छ । सन् २००८ मा नेपाल आईएईएको सदस्य भएकाले पनि उसले युरेनियम र रेडियोधर्मी विकिरणसँग सम्वन्धीत विभिन्न निकायलाई सहयोग गर्न सन् २०१२-२०१५ सम्म सम्पन्न हुने गरी ६१ लाख अमेरिकी डलर (करीब ६१ करोड रुपियाँ)को परियोजना दिएको छ ।

आईएईएले खानी विभागलाई झन्डै ७५ हजार युरो पर्ने गामा रेज एनलाइजर र सेन्टिलेसन काउन्टरजस्ता उपकरण दिने भएको छ । कहिलेकाहिँ आईएईएका युरेनियम विज्ञहरु नेपाल आएर खानी विभागका कर्मचारीलाई विशेष तालिम समेत दिने गरेका छन् । त्यही क्रममा जीन रेनी ब्लेज र खानी विभागको टोलीले तीनभंगाले क्षेत्रको निरीक्षण समेत गरेको थियो ।

निष्कर्ष 

विश्व बजारमा विद्युत् उत्पादनको मुख्य स्रोत मानिएको युरेनियम उत्खननको बाटो खुलेपछी नेपालमा विदेशी चासो बढ्ने सम्भावना अधिकतम छ । तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च स्रोतका भनाईमा विदेशी बिज्ञहरुको भ्रमणको उद्देश्य खासमा नेपालको युरेनियम भण्डारबारे विस्तृत रिपोर्ट लिने नै बुझिन्छ । दातृ निकाय सोझै युरेनियम सम्बन्धी अध्ययन भनेर आउँदैनन, उनीहरु नेपालको खानी अन्वेषणमा दक्ष जनशक्ति उत्पादन तथा प्राविधिक सहयोगका नाममा आउँछन् र आफ्ना विज्ञहरुलाई लिएर फिल्डमा जान्छन् । अनि, त्यहाँबाट ल्याएको नमुना परीक्षण गर्ने भनेर आफ्नै देशमा लैजान्छन् ।

युरेनियम उत्खननको बाटो खुलेपछी यससग सम्वन्धित निकायहरु शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै खानी तथा भुगर्भ विभागका पदाधिकारीहरु आर्थीक प्रलोभनमा नपरी नेपालमा भएको यस्ता बहुमुल्य तर सवेदनशील पारमाणिक पदार्थ युरेनियमको सुरक्षाको लागि जिम्मेवार हुनुपर्छ । नेपालमा भएका सवै युरेनियम खानीको गहन खोज तथा अन्वेषण गरी पत्ता लागेका युरेनियम खानीको सुरक्षामा नेपाल प्रहरी तथा नेपाली सेना खटाउनु जरुरी छ ।

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा रेडियोधर्मी पदार्थबारे कानुन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !