, आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्त

आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्त (Einstein’s Theory of General Relativity)

आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्तले ब्रम्हाण्डमा प्रकाशको किरण सिधा रेखामा होइन, बक्र रेखामा हिडछ भन्ने कुराको व्याख्या गर्छ

Gopal Bhandari

गोपाल भण्डारी

वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले प्रतिपादन गरेको “सापेक्षतावादको सिद्धान्त” ले विश्व ब्रम्हाण्ड (Universe) सम्बन्धी त्यतिखेर सम्मको धारणामा नयाँ क्रान्ति नै ल्याइदियो । उनीद्वारा प्रतिपादित सापेक्षतावादको सिद्धान्तले अर्का महान् वैज्ञानिक न्यूटनको दुई सय वर्ष पुरानो भैतिकशास्त्रका सारा नियमहरूलाई अप्रयाप्त र संकीर्ण ठहयायो । त्यस समयसम्म सारा भौतिकशास्त्र न्यूटनका नियमहरूमा आधारित थियो । उनको सापेक्षतावादको सिद्धान्त प्रतिपादन हुँदा त्यसलाई बुझ्ने मानिस विश्वभरी एक दर्जन मात्र थिए भनिन्छ ।

सापेक्षतावादको सिद्धान्त अनुसार ब्रम्हाण्डमा सम्पूर्ण गति, वस्तु, घटना आदि सापेक्ष हुन्छन् र यी सबै प्रकाशको परम गतिसँग सम्वन्धीत रहन्छन् । यसरी न्यूटनको गतिसम्बन्धी नियमले अन्तरिक्षमा निरपेक्ष स्थान (Absolute Position in Space) को विचारलाई अन्त्य गरिदियो भने आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तले निरपेक्ष समयको विचारलाई अन्त्य गरिदियो । यसरी सापेक्षतावादको सिद्धान्तले हाम्रो सम्बन्धमा रहेका वस्तुहरूको स्वभावको यथार्थ वर्णन हाम्रो ज्ञानको सीमाको सापेक्षतामा मात्र सम्भव हुन्छ भन्ने कुरा बताउँछ ।

सन् १९१५ मा वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले “सामान्य सापेक्षतावादको सिद्धान्त” प्रतिपादन गरेका थिए । यस सिद्धान्तले गुरुत्वाकर्षणको नियम र प्रवृत्तिका अन्य बलहरूसँगको यसका सम्बन्धहरूलाई व्याख्या गर्दछ । यस सिद्धान्तले ब्रम्हाण्डमा प्रकाशको किरण सिधा रेखामा होइन, बक्र रेखामा (Curved line) हिडछ भन्ने कुराको व्याख्या गर्यो र यसले प्रकाश त्यसरी बक्ररेखामा हिंड्नुको अर्थ अन्तरिक्षको आकार नै बक्र (Curvature) हुनु हो भन्ने व्याख्या गर्यो । यो कुराले त्यतिखेरसम्म अन्तरिक्ष चेप्टो (Flat) आकारको छ भन्ने विश्वासलाई पनि तोडिदियो ।

यस सिद्धान्तलाई पनि मुख्य रूपमा पाँच कुराहरूमा केन्द्रित गर्न सकिन्छ ।

१. अन्तरिक्ष तथा अन्तरिक्ष समय पहिले विश्वास गरिए झैं चेप्टो नभई यो घुमाउरो (Curved or warped) छ ।

२. न्यूटनले भने झैं ग्रहहरू गुरुत्वाकर्षणको कारणले घुमाउरो कक्ष (Orbit) मा रही घुमिरहेको नभई घुमाउरो अन्तरिक्षमा सबभन्दा छोटो सोझो बाटोलाई पछ्याउँदै जाँदा सूर्यलाई घुम्न पुगेका हुन् ।

३. अन्तरिक्षमा कुनै पनि पिण्डले जहिले पनि चौआयामिक अन्तरिक्ष समय (Four Dimensional Space Time) मा सोझो बाटो नै पछ्याएको हुन्छ ।

४. सूर्य जस्तो ठूलो पिण्डको गुरुत्वाकर्षणको क्षेत्रमा प्रकाश बागिन पुग्छ । यो कुरालाई सन् १९१९ को खग्रास सूर्यग्रहणको समयमा सूर्य नजिक देखिएका ताराहरूको अवलोकन बाट बेलायती वैज्ञानिकहरूले पुष्टि गरेका छन् ।

५. कम गतिमा रहँदा भन्दा बढी गतिमा रहँदा समय ढिलो चल्छ । अर्थात् दर्शकको गति अनुसार समय ढिलो वा चाँडो चल्ने हुन्छ ।

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

आइन्स्टाइनको विशेष सापेक्षतावादको सिद्धान्त (Einstein’s Special Theroy of Relativity)