७ श्रावण २०८१, सोमबार

सरकार र महावीर पुन बीचको छलफल सकारात्मक


महावीर पुन

काठमाडौं । सरकार र राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुन बीच भएको छलफल सकारात्मक रुपमा टुंगिएको छ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र सरकारसमक्ष विभिन्न माग राख्दै शुक्रबारदेखि माइतीघरमा धर्ना दिंदै आएका पुनबीच आजको छलफल सकरात्मक भएको हो ।

आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा उपप्रधानमन्त्री खड्का र मुख्यसचिव शंकरदास बैरागीसँग पुनका मागको बारेमा छलफल गर्नको लागि बेलुकी ५ बजेसम्म वार्ता टोली गठन गर्ने र पुन: वार्ता सुरु गर्ने भन्ने निर्णय भएको हो ।

पुनले अनुसन्धान, नवप्रर्वतन र अविष्कार तथा अनुसन्धानमा सहयोग गर्न सङ्घ र प्रदेश सरकारले विकास बजेटको १ प्रतिशत रकम छुट्याउन र ‘अनुसन्धान, नवप्रर्वतन र अविष्कार कोष’मा उक्त रकम जम्मा गर्नुपर्ने उनले माग राख्दै आएका छन् ।

उनले कोषको रकम सहज तरिकाले समयमै प्रतिभाशाली र नवीनतम सोच भएका नेपालीलाई उपलब्ध गराउन छुट्टै ‘अनुसन्धान, नवप्रर्वतन र अविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने बताएका छन् ।

अनुसन्धान केन्द्रबाट उत्पादन भएका वस्तुको बजारीकरणका लागि नीति नियम बनाउनुपर्ने, कामलाई सहज बनाउन र आवश्यक अनुसारको नीति नियम बनाउन ‘नवउद्यमी प्रवर्द्धन समिति’ बनाउनुपर्ने, नवउद्यमी बन्न चाहने नेपालीका लागि अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनुपर्ने पनि उनको माग छ ।

निजी अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धनका लागि विज्ञान मन्त्रालयअन्तर्गत व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्नुपर्ने उनको माग रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !