६ बैशाख २०८१, बिहिबार

ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण अवलोकन गर्न पाइने


गस्तास्त खण्डग्रास सूर्यग्रहण

काठमाडौँ । कार्तिक कृष्ण औँसीका दिन आज लाग्ने ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण बत्तीसपुतलीलस्थित नेपाल एष्ट्रोनोमिकल सोसाइटीको कार्यालयमा देखाइने भएको छ ।

सोसाइटीले काठमाडौँ, मोरङ र उदयपुरबाट पनि ग्रहण देखाउने कार्यक्रम रहेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । नाङ्गो आँखाले ग्रहण हेर्न नहुने भएकाले विशेष प्रकारको चस्मा वा यन्त्रबाट मात्र हेर्न पनि उनले अनुरोध गरे । खाली आँखाले हेर्दा आँखामा समस्या हुन सक्ने भएकाले यस्तो व्यवस्था गरिएको सोसाइाटीले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज दिउँसो ४:५२ बजे सूर्य ग्रहणले स्पर्श गर्ने जनाएको छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले सुनाए । नेपालबाट नदेखिने भएपनि ग्रहणले बेलुकी करिब पौने सात बजे छोड्ने छ ।

शास्त्रीय मान्यता अनुसार सोमबार राति ४:५२ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक उनले बताए । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खान बाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म गर्छन् ।

ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताए । ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । सुतक लागेपछि भोजन गर्ननहुने धार्मिक विश्वास छ । यसै विश्वास अनुसार कात्तिक ८ गते बिहान ४:५२ बजेदेखि भोजन गर्नु हुँदैन । “शास्त्रीय मान्यता अनुसार भोजन निषेध गरिएपनि वैज्ञानिक आधारमा ग्रहणका समयमा भोजन गर्दा कुनै समस्या छैन”, अध्यक्ष भट्टराइ भन्छन् ।

ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहणमा निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !