११ बैशाख २०८१, मंगलबार

के हो हाइड्रोजन बम (Hydrogen Bomb)?


हाइड्रोजन बम
Gopal Bhandari
गोपाल भण्डारी

परिचय

हाइड्रोजन बम मानव जातिले अहिलेसम्म निर्माण गरेको सबैभन्दा शक्तिशाली अत्याधुनिक हतियार हो । हाइड्रोजन बमलाई थर्मोन्युक्लियर बम वा एच–बम पनि भनिन्छ । यो आणविक बमभन्दा धेरै गुणा शक्तिशाली हतियार हो । आणविक बम परमाणुको विखण्डनबाट बनेको हुन्छ भने हाइड्रोजन बम संयोजन (फ्युजन) बाट। हाइड्रोजन बममा दोस्रो तहको परमाणु प्रतिक्रिया गराइन्छ, जसका कारण आणविक विस्फोटको शक्तिमा कैयौँ गुणा वृद्धि हुन्छ।

यो बम जापानको हिरोसिमा र नागसाकिमा खसालिएको एटम बमभन्दा हजारौँ गुणा शक्तिशाली हुन्छ । एटम बममा युरेनियम र प्लुटोनियम जस्ता ठूला अस्थिर परमाणुहरु टुक्रिने प्रक्रियाबाट ऊर्जा उत्सर्जन हुन्छ ।  तर, हाइड्रोजन बमको ऊर्जा उत्सर्जन गर्ने प्रक्रिया एटम बमको भन्दा ठीक विपरीत हुन्छ । यसमा ट्रिटियम वा ड्युटेरियमजस्ता हाइड्रोजनका आइसाटोपहरु एकै ठाउँमा गाभिने प्रक्रियामा उर्जा उत्पादन हुन्छ । यसरी गाभिएका दुई परमाणुहरुको पिण्डको जोडभन्दा गाभिइसकेपछि उत्पादन हुने तत्वको पिण्ड कम हुन्छ । यसरी ‘हराएको पिण्ड’ अपार ऊर्जामा रुपान्तरण हुन्छ भन्ने तथ्यबारे महानतम् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको E = mc2 समीकरण अनुसार अत्याधिक उर्जामा परिणत हुन्छ ।

हाइड्रोजन बमको संयन्त्र

हाइड्रोजन बम निक्कै जटिल मेसिनरी हो । यसमा एउटा बमभित्र २ वटा बम हुन्छन् । जव यसको फ्यूजनमा धक्का पुग्छ यसबाट निक्कै धेरै ताप पैदा हुन्छ । यसमा भएका आणुहरु मिचिन थाल्छन् र यसले चेन इफेक्ट पैदा गर्दै प्रतिक्रिया र काउन्टर प्रतिक्रिया शुरु हन्छ । यसलाई थर्मो न्यूक्लियर हतियार भनिनुको कारण पनि त्यही हो । हाइड्रोजन बममा एकै पटक २ विष्फोट हुन्छन् ।

हाइड्रोजन बमले ऊर्जा उत्सर्जन गर्न दुईवटा चरण पार गर्नुपर्ने हुन्छ । प्रारम्भमा एटम बममा झैँ युरेनियम जस्ता अस्थिर परमाणुहरुलाई फिसन प्रक्रियाबाट टुक्र्याएर अधिक ऊर्जा उत्सर्जन गरिन्छ । त्यसपछि त्यो ऊर्जालाई हाइड्रोजनका आइसोटोपहरु फ्यूजन गराउनका प्रयोग गरिन्छ । यसरी आइसोटोपनहरु फ्युजन भएपछि एटम बमले भन्दा हजारौँ गुणा बढी ऊर्जा उत्पादन हुन्छ । हाइड्रोजन बम अति शक्तिशाली र भयानक विनासकारी हतियारमा मानिन्छ ।

खासमा हाइड्रोजन बमले सूर्यले जस्तै काम गर्छ। सूर्यमा हाइड्रोजनका अणुहरु फ्युजन भएर हिलियममा रुपान्तरण हुन्छन्, जसका कारण अत्याधिक उर्जा उत्पन्न हुन्छ। हाइड्रोजन बममा पनि सुरुमा आणविक विखण्डन नै गराइन्छ। सो विस्फोटबाट उत्पन्न ठूलो दबाबले ट्राइटियम र ड्युटेरियमको मिश्रणबाट निर्मित ग्यास (हाइड्रोजन) का परमाणुहरुलाई फ्युजन गराउँछ, जसबाट हिलियम र स्वतन्त्र न्युट्रोनहरु उत्पन्न हुन्छन्। ती स्वतन्त्र न्युट्रोनले वरिपरि बेरिएको युरेनियमको तहमा हिर्काउँछ, जसकारण दोस्रो तहको परमाणु विखण्डन हुन्छ। यसरी हाइड्रोजन बम आणविक बमभन्दा कैयौँ गुणा शक्तिशाली बन्न सक्छ।

कुन देशसँग छ त हाइड्रोजन बम ?

अमेरिकाले सन् १९५४ मा पहिलो हाइड्रोजन बम परीक्षण गरेको थियो, जुन हिरोसिमामा खसाइएको बमभन्दा १००० गुणा शक्तिशाली थियो। अहिलेसम्म अमेरिका, रुस, बेलायत, फ्रान्स र चीनसँग हाइड्रोजन बम छ । उत्तर कोरियाले पनि  हाइड्रोजन बमको परीक्षण गरेको दावी गरेको छ । भारत र पाकिस्तानसँग पनि यस्तो बम भएको विश्वास गरिन्छ । हामीले सूर्यबाट प्राप्त गर्ने ऊर्जा पनि यस्तै प्रक्रियाबाट उत्पादन हुन्छ । आणविक हतियार विकासमा हाइड्रोजन बम बनाउने क्षमतालाई निक्कै उपलब्धिमुलक र उपल्लो स्तरको मानिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !