६ बैशाख २०८१, बिहिबार

नेपालको धरातलीय स्वरूप पत्ता लगाउन ‘लाइडार सर्वे’ सुरु


१६ भदौं, काठमाडौं । नेपालको धरातलीय स्वरूप पत्ता लगाउन नापी विभागले ‘लाइडार सर्वे’ सुरु गरेको छ । विकास निर्माणलगायत ठूलो क्षेत्रमा टेवा पुग्ने यो सर्वेलाई नापीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा गत वर्षदेखि अगाडि बढाएको हो ।

हवाईजहाज उडाएर गरिने उक्त सर्वेको तयारी अन्तिम चरणमा पुगे पनि मङ्सिरदेखि मात्र जहाज उडाइने छ । पहिलो चरणमा २० हजार वर्ग किलोमिटर क्षेत्रफलमा सर्वे गरिनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार सुदूरपश्चिमबाट चितवनसम्मको तराईको भूभागमा सर्वे गरिने छ । यसका लागि १५ महिनाको समय तोकिएको छ ।

पहिलो चरणको काम सकिएपछि थप क्षेत्रको सर्वे गरिने छ । नेपालभरको लाइडार सर्वेका लागि सात वर्ष लाग्ने छ । नेपाल सरकारको बजेटबाट सुरु गरिएको यो सर्वेका लागि आगामी वर्ष थप सर्वे गर्न जापान सरकारसँग सहयोग मागिएको प्रवक्ता जनकराज जोशीले जानकारी दिए ।

यो सर्वेमा हवाईजहाजबाट उचाइको विवरण सङ्कलन गर्ने र ‘हाई रिजोलुसन फोटो’ खिच्ने काम एकै पटक हुन्छ । आवश्यक प्रविधि नेपालमा नभएको हुँदा अन्तर्राष्ट्रिय स्तरको परामर्श सेवा प्रदायकसँग सेवा लिएर काम अगाडि बढाइएको हो ।

पृथ्वीको धरातलीय स्वरूप पत्ता लगाउन लाइडार सर्वे गरिन्छ । मन्त्रालयका प्रवक्ता जोशीले थपे, “यो प्रविधिले धरातलीय स्वरूप ठ्याक्कै पत्ता लगाउँछ । कहाँ अग्लो छ, कहाँ होचो छ, कहाँको जमिनको स्वरूप कस्तो छ, त्यसको मापन गर्ने अत्याधुनिक विधि हो लाइडार सर्वे ।”

पृथ्वीमा गरिने बहुआयामिक विकास निर्माणका योजना बनाउन र त्यसलाई कार्यान्वयनमा लैजान यसको उपयोग हुने गर्छ । प्रवक्ता जोशीले भने, “सडक बनाउने कार्यका लागि योजना बनाउने क्रममा र सडक बनाउँदै गर्दा स्टेपिङ, ग्रेडिङ, कटिङ र फिलिङ गर्ने सबै काम त्यही डाटाका आधारमा हुन्छ । ” उनले नहर, रेलको लिक बनाउने, नदीनाला नियन्त्रण गर्ने र इन्जिनियरिङका सबै काममा यो डाटा नभई नहुने बताए । सीमा क्षेत्रमा हुने डुबानको सन्दर्भ जोड्दा उनले भने, “भारतले उता बनाउने ड्यामले हाम्रो कुन क्षेत्रमा कति असर गर्छ भन्ने यो प्रविधिबाट पत्ता लगाउन सक्छौँ ।” आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !