१२ बैशाख २०८१, बुधबार

प्रक्षेपण गरियो नेपालको भू-उपग्रह


भू-उपग्रह प्रक्षेपण

५ बैशाख, काठमाडौँ । पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह आज विहानै अमेरिकाबाट प्रक्षेपण गरिएको छ । नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टका प्रबक्ता डा. सुरेशराज ढुंगेलका अनुसार नेपालको भू-उपग्रह नेपाली समय अनुसार आज बिहीवार बिहान २.३१ बजे अमेरिकाको भर्जिनिया राज्यको वाल्लोस्प टापुस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो । त्यहाँ अमेरिकी हवाई तथा अन्तरिक्ष निकाय नासाको वालोप्स उडान केन्द्र रहेको छ । यो नेपालको पहिलो भू-उपग्रह प्रक्षेपण भएको हो । यो नेपालको इतिहासका लागि अत्यन्तै दुर्लभ दिन हो ।

नेपाली स्याट-१ नाम दिइएको नेपाली भू-उपग्रहलाई एन्टारेस् नामक वायुयानभित्र रहने सिग्नस् कार्गो विमानमा राखिएको छ । त्यो केही समयपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुग्नेछ । बिहीवार बिहानै त्यो कार्गो विमानले जापान र श्रीलङ्काका भू-उपग्रहलाई पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्‍याउने कार्यक्रम रहेको थियो । बर्डस्-३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देशका भू-उपग्रह अन्तरिक्षमा पठाइएको हो । यसरी नेपालले आफ्नै भू-उपग्रह प्रक्षेपण गरेर नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको छ । नेपालका दुई छिमेकी देशहरु चीन र भारत यसअघि धेरै बर्ष अघि नै अन्तरिक्ष युगमा प्रवेश गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !