११ बैशाख २०८१, मंगलबार

ब्रह्माण्डका ९ रोचक ग्रहहरु: हिरै हिरादेखि सिसै सिसासम्म


unique-planets

हाम्रो सौर्य मण्डलमा सूर्यलाई केन्द्र बनाएर ९ वटा ग्रह (पछि ‘यम’ हटाएर ८ वटा ग्रह मानिएको छ )ले परिक्रमा गर्छन्। सुर्य जस्ता तारा अरबौं खरबौं छन् हाम्रो तारापुञ्जमा। हाम्रो जस्ता तारापुञ्ज खरबौं छन् यो ब्रह्माण्डमा। ताराहरुको कुल संख्या खरबौं खरब हुन आउँछ। प्रत्येक ताराको औसत १० वटा ग्रह हिसाब गर्दा तपाईं अनुमान गर्न सक्नु हुन्छ कति ग्रहहरु छन् यो ब्रह्माण्डमा। भौतिकविद् कार्ल सैगनका अनुसार पृथ्वीको सारा बगरहरुमा बालुवाका जति कण गन्न सकिन्छ, त्यो भन्दा बढी ताराहरु छन् यो ब्रह्माण्डमा। खगोलविदहरुले विभिन्न शक्तिशाली टेलिस्कोपहरुबाट सम्भावित ग्रहहरु अध्ययन गरेका छन् पृथ्वी जस्ता ग्रह कतै छन् कि भनेर। यति धेरै ग्रहहरुमा पृथ्वीको जस्तो जीवनको लागि अनुकुल वातावरण पाइन्छ कि भनेर संसार भरिका खगोलविद्हरु दिनरात मेहनत गरिरहेका छन्। हालसम्म पत्ता लगाएका ९ अनौठा ग्रहहरु तल दिइएका छन्:

१. TrES-2b:
TrES-2b

यो ग्रह सौर्य मण्डलबाट ७५० प्रकाश वर्ष टाढा छ। वैज्ञानिकहरु यो ग्रह सम्भवत: ब्रह्माण्डकै अँध्यारो ग्रह हो भन्ने कुरामा एक मत छन्। आफुमा आएको प्रकाशको एक प्रतिशत मात्र यसले परावर्तन गर्छ, तसर्थ अहिलेसम्म पत्ता लगाईएका अरु ग्रहहरु भन्दा यो अँध्यारो छ। यसको अँध्यारोपनको सम्भावित एक कारण यसमा भएका प्रकाश सोस्ने ग्याँसहरु प्रचुर मात्रामा रहेको हुनसक्ने अनुमान गरिएको छ। कोइला आगोमा परेर रातो भए जस्तै यो ग्रह पनि तातो रातो डल्लो जस्तो देखिन्छ। यसको सतहको तापक्रम ११०० डिग्री सेल्सियस छ।

२. 55 Cancri e:
55 Cancri e
अन्तरिक्षमा यो ग्रह हीरा चम्के जसरी चम्किन्छ किनकि यो ठुलो हीराको डल्लो हो। यो ग्रह पृथ्वी भन्दा दोब्बर आकारको छ। यसको एक तिहाई भाग ठोस हीराले बनेको छ। कार्बनले बनेको यो ग्रह हामीबाट ४० प्रकाश वर्ष टाढा छ । सम्झनुस् तपाईले प्रकाशको गतिमा गएर (यद्दपि भौतिक विज्ञानले तपाईं प्रकाशको गतिमा कहिले पुग्न सक्नु हुन्न भन्छ) त्यो ग्रहबाट थोरै हीरा लिएर आउनु भयो भने ८० वर्ष जान आउन लाग्छ र सोच्नुस त्यसो गर्न सक्नु भयो भने बिल गेट्सलाई पनि पछि पार्न सक्नु हुन्छ।

३. Gliese 436 b:
gliese 436 b
आगो र पानी सँगै रहन सक्दैनन् रसायन विज्ञान अनुसार। तर यो ग्रहमा आगो र बरफ दुवै छ। बरफ जमेको यसको सतह ४३९ डिग्री सेल्सियसमा जलिरहेको छ। जिरो डिग्री सेल्सियसमा बरफ पग्लिन्छ तर यो ग्रहमा यति धेरै तापक्रम भए पनि बरफ ठोस रुपमै रहन्छ किनकि यसको गुरुव्तबल यति धेरै छ कि यसले पग्लिएको बरफ पानीलाई आफ्नो कोरतिर ठोस रुपमा तान्छ र धेरै तापक्रमको हुँदा पनि बरफ पग्लिन पाउँदैन।

४. HD 189773b:
HD 189773b
यो ग्रहमा सिसाको बर्षा नियमीत हुन्छ। सिलिकनका कणको बाहुल्यता रहेको कारण यो ग्रहको रंग सुन्दर निलो देखिन्छ। ग्रहको धेरै तापक्रम भएको कारणले यी सिलिकनका कणहरु ठोस सिसामा परिवर्तित हुन्छन्, जुन ४ हजार माइल प्रति घण्टाको दरले हुत्तिन्छन्।

५. WASP-12b
wasp-12b
विचरा यो ग्रहलाई ज्युँदै आफ्नो ताराले निल्दै छ। आफ्नो तारालाई एकदमै नजिकैबाट परिक्रमा गर्ने क्रममा यो ग्रहले यस्तो नियति भोग्दै छ। बृहस्पति ग्रह जत्रै आकारको यो ग्रहको ६ अरब मेट्रिक टन पिण्ड प्रति सेकेण्ड आफ्नो ताराले खाइरहेको छ। फलस्वरूप यसको आकार पूर्णतया गोलो नभई अण्डाकार हुँदै छ।

६.Gliese 581c:
gliese 581c
यो ग्रह यस कारणले विशेष छ कि वैज्ञानिकहरुका अनुसार जीवन बोक्न सक्ने सम्भावित ३ वटा ग्रह मध्ये एउटा ग्रह यो पनि हो। तैपनि पृथ्वी भन्दा यो ग्रह यस कारणले विशेष छ कि रातो छुद्र तारालाई यसले परिक्रमा गर्छ र यसको आकाश सुन्दर रातो रंगमा देखिन्छ। जसरि चन्द्रमाको एक सतह मात्र पृथ्वी तिर फर्किएको हुन्छ, त्यसरी नै यस ग्रहको एक सतह आफ्नो तारातिर मात्रै फर्किएको हुन्छ। जुन सतह तारातिर फर्किएको छ, त्यो बिछ्ट्टै तातो छ र जुन अर्कोतिर छ, त्यो बिछ्ट्टै चिसो छ। त्यसो भए कसरि यो जीवनको लागि अनुकुल छ त भन्ने प्रश्नमा तातो र चिसो भाग बिचमा सानो सिमाना क्षेत्र पर्छ, जसमा जीवन सम्भव हुन सक्छ। सन् २००८ मा पृथ्वीबाट यस ग्रहतिर सूचना पठाइएको थियो जुन २०२९ मा पुग्ने गणना गरिएको छ।

७.HD 188753 AB
HD 188753 Ab
हामीबाट १४९ प्रकाश वर्ष टाढा रहेको यो ग्रहले एउटा तारा होइन, दुइटा पनि होइन, तीन वटा तारालाई परिक्रमा गर्छ। फलस्वरूप तपाईं आफ्नो तीन वटा छायाँ देख्नु हुन्छ र नियमीत ग्रहण लागेको पाउनु हुन्छ। कल्पना गर्नुस् त्यहाँ ब्रह्माण्डकै कति सुन्दर र अचम्मको सुर्योदय र सुर्यास्त देख्न सक्नु हुन्छ।

८. GJ 1214b:
GJ 1214b
कल्पना गर्नुस् तपाईं प्रशान्त महासागरमा जहाजमा सामुद्रिक यात्रा गर्दै हुनुहुन्छ, अचानक तपाइँको जहाज बिग्रियो, कहाँ जाउँ, जता ततै पानी नै पानी देख्नु हुन्छ, जमीनको अंश पनि भेट्नुहुन्न। त्यस्तै नियति भोग्नु हुन्छ, यदि तपाईं यो ग्रहमा जानु भयो भने। यो ग्रह पृथ्वीबाट ४७ प्रकाश वर्ष टाढा छ। पूर्णतया पानीले ढाकिएको ग्रह भएकाले यो ग्रहलाई वैज्ञानिकहरु “पानीको संसार” भन्छन्। सम्पूर्ण सतह पानीको सागरले ढाकिएको यो ग्रहको कोरसम्म नै पानी नै पानी छ। यसको कोर ठोस बरफले ढाकिएको छ। यो बरफ यहाँ पृथ्वीको बरफ भन्दा फरक छ, जसलाई “Ice VII” भन्ने नाउँ दिइएको छ।

९. Kepler 438b:
Kepler 438b
पृथ्वीबाट ४७० प्रकाश वर्ष टाढा रहेको यो ग्रह “केप्लर स्पेस अब्जरभेटरी” बाट पत्ता लागेको हो। अहिलेसम्म पत्ता लगाइएका ग्रहहरु मध्ये यो ग्रह पृथ्वी जस्तै छ। सन् २०१५ को सुरुताकै पत्ता लगाइएको यो ग्रह एकदम बिशेष रहेको छ र अलौकिक जीवन रहन सक्ने उत्तिकै सम्भावना बोकेको छ। पृथ्वी जस्तै भू-बनावट रहेको यो ग्रह अन्तरिक्ष अनुसन्धानको एकदमै सुन्दर र अनुपम उदाहरण हो। आफ्नो ताराबाट उचित दुरीमा रहेका यस्ता ग्रहलाई “goldilocks zone” मा परेको मानिन्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !