१२ बैशाख २०८१, बुधबार

न्युट्रोन स्टार (Neutron Star) भनेको के हो ?


न्युट्रोन स्टार
Gopal Bhandari
गोपाल भण्डारी

हाम्रो ब्रह्माण्डमा भएको प्रत्येक वस्तुको शुरु र अन्त्य वा जन्म र मृत्यु आवश्यक हुन्छ । सूर्य लगायत अन्तरिक्षका सम्पूर्ण ताराहरुको पनि जन्म र मृत्यु हुन्छ । ताराको जीवनकालको अन्त्य तीरको अवस्थालाई न्यूट्रोन स्टार भनिन्छ । ताराहरु नियमित रुपमा चम्कनुमा त्यसभित्र इन्धनको रुपमा रहेको हाइड्रोजन परमाणुहरु नाभिकीय प्रक्रियाबाट हिलियस परमाणुमा रुपान्तरण हुँदा निस्कने बिशाल मात्राको ऊर्जाले काम गरेको हुन्छ । सूर्यभन्दा १.४ देखि ३ गुणा बढी पिण्ड भएको ताराहरुमा इन्धन वा हाईड्रोजन परमाणुहरुको मात्रा सकिदा हिलियम परमाणुहरुबाट बनेको पदार्थ ताराको केन्द्रतिर तानिन्छ । परिणामस्वरुप तारा आफैभित्र भासिन जानाले अत्यन्तै बढी घनत्व भएको सानो आकारको तारालाई न्यूट्रोन स्टार भन्ने गरिन्छ । जसको व्यास करिव २० किमीको हुन्छ ।

पृथ्वीको व्यास भूमध्यरेखीय क्षेत्रमा ६ हजार ३ सय ७८ किमी भएकोले गर्दा यो तारा पृथ्वीको तुलनामा निकै सानो छ । तर यसको गुरुत्वाकर्षण शक्ति भने पृथ्वीको भन्दा २ अर्व गुणा बढी छ । यसको यति धेरै गुरुत्वाकर्षण शक्ति हुनुको कारण यो असामान्य घनत्व भएको कारणले गर्दा नै हो । अलि नै बढी गुरुत्वाकर्षण भएकोले न्यूट्रोन स्टारमा रहेका परमाणुहरुमा प्रोटोन तथा इलेक्ट्रोनहरु एकै ठाउँमा खाँदिन पुग्छन् । इलेक्ट्रोनको विद्युतीय चार्ज ऋणात्मक र  प्रोटोनको चार्ज धनात्मक हुन्छ । ती एकै ठाँउमा खादिदा एकले अर्काको कणहरु चार्ज नहुने न्यूट्रोन कणहरुमा बदलिन्छन् । यसरी बनेका ताराहरुमा न्यूट्रोन कण मात्र हुन्छ तर इलेक्ट्रोन र प्रोटोन हुदैन । त्यसैले यो ताराको नाम न्यूट्रोन स्टार राखिएको हो । यी ताराको घनत्व न्यूट्रोन कणको घनत्वसँग बराबर हुन्छ ।

न्युट्रोन स्टार सन् १९६८ मा पत्ता लागेको थियो । तर कणको अस्तित्वको सैद्धान्तिक व्याख्या भने उक्त तारा पत्ता लाग्नु भन्दै ३५ वर्ष पहिले नै भईसकेको थियो । न्यूट्रोन स्टारको गुरुत्वार्कषण असामान्य रुपमा धेरै हुने भएकाले यसमा हुने पहाडहरु केही मिलिमिटरमा अग्ला हुन्छन् । यस ताराहरुको घनत्व यति बढी हुन्छन् कि यसभित्रको डटपेनको बल आकारको सानो बस्तुको पिण्ड पनि ९१ ह्जार टन बराबरको हुन्छ । तारा आफैमा खादिदै जाँदा यसको घुम्ने गति बढ्न जान्छ । न्यूट्रोन स्टार यति तीब्र घुम्छ कि एक वा दुई मिलि सेकेण्डमा यसले एक फन्को मारिहाल्छ । यो भनेको प्रति सेकेन्ड करीव ३० हजार किलोमिटरको दरमा फन्को मार्नु हो । यसरी तेज गतिमा फन्का मार्ने न्यूट्रोन स्टारले विद्युत चुम्वकीय तरङ्ग छोडिरहेको हुन्छ । यस्ता तरङ्गहरुको अध्ययनबाट यिनीहरुको अस्तित्वको पुष्टि गरिन्छ ।

‘न्युट्रोन स्टार’ भनेको नष्ट भएका ठूला ताराहरुको बाँकी केन्द्रीय भाग हो । ठूला ताराहरुको ‘सुपरनोभा’ भनिने विस्फोटनबाट बाँकी रहेको अवशेष नै न्युट्रोन स्टार हो । यिनीहरुको आकार सानो हुन्छ । करिब ३० किलोमिटर वारपार लम्बाइ हुने यी ताराहरुको पिण्डभने हाम्रो सूर्यको भन्दा धेरै हुन्छ । तर यी ताराको घनत्व यति धेरै हुन्छ कि एक चम्चाजति पिण्डको तौला अर्बौँ टन हुन्छ । २०१७ अगस्ट १७ मा दुई मृत तारा (न्युट्रोन स्टार) आपसमा ठोक्किएको दृश्य र तरंग आफूहरुले पहिलो पटक अवलोकन गर्न सफल भएको खगोलविद्हरुले जनाएका थिए । आपसमा ठोक्किएर विलय हुनुअघि ती दुई मृत ताराले तीव्र गतिमा एकअर्काको फन्को मारेका थिए । यो खोज खगोल विज्ञानमा नयाँ युगको सुरुवात भएको पनि वैज्ञानिकहरुले बताएका थिए ।

न्युट्रोन स्टार
दुई न्युट्रोन स्टार आपसमा ठोक्किएर विलय हुदै

‘किलोनोभा’ नामाकरण गरिएको यो टक्कर पृथ्वीबाट खर्बौँ किलोमिटर टाढा ‘हाइड्रा’ नक्षत्रमा स्थित एनजिसी ४९९३ नामक आकाशगंगामा भएको हो। गत अगस्ट १७ मा पृथ्वी र अन्तरीक्षमा सो टक्कर महसुस गरिएको थियो। यद्यपि यो पृथ्वीमा डाइनोसरको राज्य रहँदा अर्थात् करिब १३ करोड वर्षअगाडि भएको टक्कर हो । तर सो टक्करबाट उत्पन्न प्रकाश र गुरुत्वाकर्षण लहर (ग्राभिटेसनल वेभ) बल्ल पृथ्वीसम्म आइपुगेको थियो । दुई मृत तारा ठोक्किँदा गुरुत्वाकर्षण लहर, प्रकाश र गामा रे मात्र होइन, सुन, प्लाटिनमजस्ता बहुमूल्य धातु पनि उत्पन्न भएको र ती धातु ब्रम्हाण्डमा छरिएको पनि वैज्ञानिकहरुले बताएका छन् । (साइन्स एण्ड फ्युचर र एजेन्सीको सहयोगमा)

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

कृष्ण छिद्र ( Black Hole) भनेको के हो ? यसले कसरी असर गर्दछ ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !