७ बैशाख २०८१, शुक्रबार

सूचना प्रविधि र स्मार्ट राष्ट्रिय परिचयपत्र


Gopal Bhandari
गोपाल भण्डारी

सूचना प्रविधि ( Information Technology)

ध्वनि, तस्वीर, अक्षर तथा अंकको रूपमा सूचनाहरूलाई विद्युतीय यन्त्रहरू, कम्प्युटर तथा दुरसञ्चार प्रविधिको प्रयोग गरि भण्डारण, सम्पादन, सम्प्रेषण, संग्रह र प्रवाहलाई सूचना प्रविधि भनिन्छ । दिनप्रतिदिन बढ्दै गईरहेको सूचना प्रविधिको विकाससंगै यसको कार्यक्षेत्र पनि फराकिलो हुदै गइरहेको छ । नेपालको सन्दर्भमा सूचना प्रविधि, बिधुतिय अथवा अनलाइनबाट गरिने कारोबारको शुरुवात एउटा नयाँ आयाम हो ।

सूचना प्रविधिको द्रुततर विकासले नेपाल जस्ता अल्पविकसित मुलुकहरुलाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापार लगायतका आर्थिक तथा सामाजिक क्षेत्रको दिगो विकास गर्ने सुवर्ण अवसरहरु प्रदान गरेको छ । अहिले सबैभन्दा धेरै जनसम्पर्क चाहिने निकायहरू, सरकारी, गैरसरकारी संस्थाहरू, जनताको सेवामा काम गरिरहेका सार्वजनिक निकायहरू, उद्योग तथा व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता कुनै पनि क्षेत्र सूचना प्रविधिको उपयोगविना अपुरो हुन्छ । एक्काइसौं शताब्दी सूचना प्रविधिको युग हो । विकासोन्मुख देशमा सूचना प्रविधिको विकासले महत्त्वपूर्ण भूमिका खेलेको छ । सूचना प्रविधिको क्षेत्रमा आएको परिवर्तनलाई स्थानीय निकायका प्रत्येक तहमा पुर्याउन आवश्यक छ ।

२०२८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्क प्रशोधनको क्रममा नेपालमा कम्प्युटर प्रविधिको प्रयोग भए पश्चात नेपालले सूचना प्रविधिको क्षेत्रमा प्रवेश गरेको भएपनि हालसम्म सूचना प्रविधको क्षेत्रमा भएको विकासको सन्दर्भमा नेपालले यस क्षेत्रमा अपेक्षित प्रगति तथा उल्लेखनीय उपलब्धी हासिल गर्न सकेको छैन । तथापी यस क्रममा विगतमा केही प्रयासहरु भने नभएका हेाइनन् । राष्ट्रिय कम्प्युटर केन्द्रको स्थापना गरी सो केन्द्र मार्फत कम्प्युटर प्रविधिसम्बन्धी तालिम कार्यक्रम संचालन र कतिपय क्षेत्रमा कम्प्युटर प्रविधिको प्रयोगको कार्य गरिएको थियो । आर्थिक उदारीकरणको नीति अवलम्बन संगै यस क्षेत्रमा पनि नीजि क्षेत्रको संलग्नता व्यापक बन्दै गएको र निजी क्षेत्रबाट सूचना प्रविधि शिक्षा, सूचना प्रविधिको प्रयोग र सूचना प्रविधि सम्बन्धी जनशक्तिको विकासमा उल्लेखनीय योगदान रहेको छ ।

स्मार्ट राष्ट्रिय परिचयपत्र (Smart National Identity Card)

राज्यले आफ्ना नागरिकलाई चिन्नको निम्ति प्रयोग गर्ने परिचयपत्र नै राष्ट्रिय परिचयपत्र हो । राज्यले जनतालाई प्रदान गर्ने सेवा सुबिधाको बितरणमा सेवाग्राहीको परिचयको पुष्ट्याईको निम्ति राष्ट्रिय परिचयपत्रको प्रयोग हुन्छ । हाम्रो नेपाली नागरिकताको प्रमाणपत्र नै नेपालमा अहिलेसम्म प्रयोग हुदै आएको राष्ट्रिय परिचयपत्र हो । नेपालमा सरकारी सेवा सुबिधा लिनको लागि व्यक्तिले नागरिकता देखाएर आफ्नो परिचयको पुष्ट्याईगर्ने चलि आएको छ । राज्यले आफ्ना नागरिकहरुलाई यूनिक परिचयपत्र नम्वर (राष्ट्रिय परिचय नम्वर)सहित प्रदान गर्ने वैयक्तिक र जैविक पहिचान समेटिएको स्मार्ट कार्ड प्रविधिमा आधारित परिचयपत्र चाही आधुनिक राष्ट्रिय परिचयपत्र हो । राष्ट्रिय परिचयपत्र बैंक तथा वित्तीय संस्थाहरुले प्रयोगमा ल्याएका एटीएम कार्ड जस्तै हुन्छ । यसमा सीमकार्डमा भएको जस्तै इलेक्ट्रोनिक्स चिप्समा तथ्य र सूचनाहरु समावेश गरीको हुन्छ । यसलाई मेसिनबाट डाटा हेर्न सकिन्छ ।

कार्डमा व्यक्तिको विवरण समावेश गरिएको हुन्छ । जस्तै लिंग, उमेर, रक्त समूह, जन्म मिति, बुबाआमाको नाम तथा पारिवारिक विवरण तथा व्यक्तिगत योग्यता, सम्पत्ति, जमिनको लालपुर्जा, राम्रा नराम्रा काम, संलग्नता जस्ता धेरै विषयहरुलाई एउटै चिप्सभित्र समावेश गरिएको हुन्छ ।इलेक्ट्रोनिक्स मेसिनले पढ्ने हुनाले यो एउटै कार्डमा धेरै सूचना तथा विवरण समावेश गर्न सकिन्छ । यसलाई नागरिकता, मतदाता परिचय पत्र, सवारीचालक परिचयपत्र, पासपोर्ट, लालपुर्जा, सामाजिक सुरक्षा कार्डजस्ता विभिन्न विषयमा उपयोग हुन सक्ने पनि बनाउन सकिन्छ । यस्तो कार्डले अन्तराष्ट्रिय सीमाहरुमा नेपाली नागरिकको परिचानलाई सहज बनाउन मद्दत गर्नेछ । त्यस्तै व्यक्तिलाई चिन्ने वा व्यक्तिले दावी गरेको परिचयको पुष्ट्याई गर्ने औठा छाप,अनुहार तथा आखाँको रेटिना जस्ता एक अर्को साग मेल नखाने व्यक्तिका जैविक (बायोमेट्रिक्स) विशेषताहरुको पनि प्रयोग गरिन्छ । यसरी राज्यद्वारा नागरिकलाई छिटो छरितो र कम लागतमा गुणस्तरीय सेवा सुविधा प्रदान गर्न, सुशासन कायम गर्न र अपराध नियन्त्रण गर्न समेत महत्त्वपूर्ण साधन हुने राष्ट्रिय परिचयपत्र आजको आवश्यकता हो ।

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

अप्टिकल फाइबर र नेपालमा यसको प्रयोग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !