१२ बैशाख २०८१, बुधबार

आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्त (Einstein Theory of Relativity)


आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्त
Gopal Bhandari
गोपाल भण्डारी

महान् बैज्ञानिक अल्वर्ट आइन्स्टाइन वीसौं शताब्दीका शिखर पुरुष हुन् । संसारमा केही यस्ता व्यक्ति जन्मन्छन्, जसको असाधारण प्रतिभा र योगदानले विश्व र मानव समाजमा अमिट छाप छाडेको हुन्छ । उनले विश्वलाई मानव दृष्टिकोणमा जुन प्रकारको परिवर्तन ल्याए, त्यस्तो अरू कुनै पनि वैज्ञानिकहरूले आजसम्म ल्याएका छैनन् । जुन कुराहरूको मूल्यांकन गर्दै प्रसिद्ध अमेरिकी साप्ताहिक पत्रिका टाइमले आइन्स्टाइनलाई २० औं शताब्दीका शताब्दी पुरुष छानेको थियो । भनिन्छ उनको सापेक्षतावाद सिद्धान्त प्रतिपादन हुँदा त्यसलाई बुझ्ने मानिस विश्वभरी करीव एक दजर्न मात्र थिए । उनलाई अहिलेसम्मको इतिहासको सबैभन्दा ठूलो मानव मस्तिष्क भएको मानिसको रूपमा चिनिन्छ ।

वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले प्रतिपादन गरेको “सापेक्षतावादको सिद्धान्त” ले विश्व ब्रम्हाण्ड (Universe) सम्बन्धी त्यतिखेर सम्मको धारणामा नयाँ क्रान्ति नै ल्याइदियो । उनीद्वारा प्रतिपादित सापेक्षतावादको सिद्धान्तले अर्का महान् वैज्ञानिक न्यूटनको दुई सय वर्ष पुरानो भैतिकशास्त्रका सारा नियमहरूलाई अप्रयाप्त र संकीर्ण ठहयायो । त्यस समयसम्म सारा भौतिकशास्त्र न्यूटनका नियमहरूमा आधारित थियो । सापेक्षतावादको सिद्धान्तले भौतिक विज्ञान र खगोल विज्ञानका सिद्धान्तहरू समेत छायाँमा परेका थिए । उनको समीकरण E = mc2  प्राय: सबै विद्वान् मानिसको मन मस्तिष्कमा रहेको हुन्छ । यो सिद्धान्तको प्रयोगबाट नै आणविक ऊर्जा उत्पादन गर्न र आणविक वम बनाउन सकिएको हो । उनको यो सिद्धान्त र पाण्डुलिपि अहिले पनि “लाइब्रेरी अफ काँग्रेस” वासिङ्गटन डिसीमा सुरक्षित छ ।

उनको सापेक्षतावादको सिद्धान्त प्रतिपादन हुँदा त्यसलाई बुझ्ने मानिस विश्वभरी एक दर्जन मात्र थिए भनिन्छ । सापेक्षतावादको सिद्धान्त अनुसार ब्रम्हाण्डमा सम्पूर्ण गति, वस्तु, घटना आदि सापेक्ष हुन्छन् र यी सबै प्रकाशको परम गतिसँग सम्वन्धीत रहन्छन् । उनको सापेषतावादको सिद्धान्तलाई दुई भागमा विभाजन गरिएको छ । (१) विशेष सापेक्षतावादका सिद्धान्त (Special Theory of Relativity) र (२) सामान्य सापेक्षतावादको सिद्धान्त (General Theory of Relativity) । सन् १९०५ मा अल्वर्ट सन आइन्स्टाइनले यी समस्यालाई बुझ्न निरपेक्ष विश्राममा रहेको इथरको अस्तित्व र निरपेक्ष समयको कुरालाई त्याग्नुपर्ने विषयमा आफ्नो प्रसिद्ध सापेक्षताको सिद्धान्तमा प्रकाश पारे । उनले इथरको अस्तित्व नभएको र जसरी अरू विद्युत चुम्बकीय तरङ्गहरूलाई फैलिनुका लागि कुनै माध्यमको जरूरी हुँदैन, त्यसरी नै प्रकाशका तरंगहरूलाई पनि कुनै माध्यमको जरूरी नभएको पुष्टि गरिदिए ।

यसरी न्यूटनको गतिसम्बन्धी नियमले अन्तरिक्षमा निरपेक्ष स्थान (Absolute Position in Space) को विचारलाई अन्त्य गरिदियो भने आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तले निरपेक्ष समयको विचारलाई अन्त्य गरिदियो । यसरी सापेक्षतावादको सिद्धान्तले हाम्रो सम्बन्धमा रहेका वस्तुहरूको स्वभावको यथार्थ वर्णन हाम्रो ज्ञानको सीमाको सापेक्षतामा मात्र सम्भव हुन्छ भन्ने कुरा बताउँछ । आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्त हाम्रो दैनिक व्यवहारमा भन्दा पनि ब्रम्हाण्डका रहस्यमय जटिल प्रश्नहरू तथा दार्शनिक सत्यहरू पुष्टि गर्न बढी उपयोगी भएको देखिन्छ ।

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

सापेक्षतावादको सिद्धान्त (Theory of Relativity) को विकासक्रम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !