, राना थारू समुदायको मुद्दाले वैधानिकता पाएसँगै खुशीयाली

राना थारू समुदायको मुद्दाले वैधानिकता पाएसँगै खुशीयाली

कञ्चनपुर, ८ जेठ । कैलाली, कञ्चनपुरका मूल आदिवासी राना थारू समुदायका मुद्दाले वैधानिकता पाएको छ । वर्षौँदेखि थाँती रहेको पहिचानको मुद्दाले सार्थकता पाएपछि यस समुदायमा खुशीयाली छाएको छ । आदीवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को परिच्छेद ५ को दफा २५ बमोजिम नेपाल सरकारको सिफारिसमार्फत राजपत्रमा सूचीकरणको सूचना प्रकाशित गरेर आदिवासी जनजातिको अनुसूचीमा थपघट गर्न सक्ने व्यवस्थाअनुरुप सूचीकरण गरेर राजपत्रमा प्रकाशन भएको छ । आदिवासी जनजातिको सङ्ख्या ५९ रहेकामा राना थारू समुदाय थपिएसँगै अब त्यो सङ्ख्या ६० पुगेको छ ।

नेपाल राना थारू समाज र राना थारू संयुक्त सङ्घर्ष समितिले अधिकारयुक्त पहिचानको मुद्दाका रूपमा उठान गरेको सूचीकृतको मुद्दा प्रक्रियागत रूपमा वैधता पाएसँगै निकै खुशी भएका छौँ नेपाल राना थारू समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले भन्नुभयो, “राज्यको पहिचानको मूलधारमा कैलाली कञ्चनपुरका मूल आदिवासी रानाथारू समुदाय समाहितसँगै खुशी भएका छौँ ।”

विसं २०६९ मा सडक सङ्घर्ष र त्यसपछि सदनसम्म यो मुद्दा उठान गर्दै जाँदा आज नेकपा नेतृत्वको सरकारले यस मुद्दालाई सार्थकता प्रदान गरको छ । उहाँले भन्नुभयो, “संविधानसभाको सदनमा राना थारूका मुद्दा उठाउँदा अर्कै तरिकाले हेरिन्थ्यो, कुरा उठाउँदा सदनमा राना थारूबारे नबुझ्नेहरु हाँस्थे । राना थारूबारे बुझाउनै बीस वर्ष लाग्यो । दुईतिहाइको सरकारले हाम्रो कुरा सुन्यो, बुझ्यो ।”

अध्यक्ष रानाले भन्नुभयो, “बीस वर्षदेखि उठान गरिँदै आएको पहिचानको मुद्दा यर्थाथमा परिणत भएपछि अधिकार स्थापित भएको छ ।” राना थारु समुदायको पहिचान कानुनले स्वीकारेपछि उनीहरुको समुदायमा खुशी छाएको हो । “संविधानसभाको सदस्य हुँदा संविधानको मस्यौदामा राना थारू समुदायको पहिचान अलग्गै रहेको कुरा उल्लेखित गरी प्रतिवेदन बुझाउँदा अन्त्यमा आएर हटाइयो”, उहाँले भन्नुभयो, “कसैले पनि हाम्रो पहिचानको मुद्दालाई स्वीकार गरेनन् ।”

अध्यक्ष रानाका अनुसार संविधानमै अधिकार सुनिश्चित हुन नसकेपछि सङ्घर्ष गर्दै आएका थियौँ । ‘देर आए दुरुस्त आए’ भनेझै हिन्दीको उखान अहिले चरितार्थ भएको छ । उहाँ राना थारू समुदायको भाषा, संस्कृति, चाडपर्व, पहिरन, गहनालगागत संरक्षण हुनेमा ढुक्क देखिनुभएको छ ।

उहाँ भन्नुहुन्छ, “यो वर्ष हाम्रा लागि पहिचानको वर्ष भएको छ । सिङ्गो राना थारू समुदाय खुशी छ ।” नेपाल रानाथारू समाजको केन्द्रीय कार्यसमितिको निर्णय एवं मागबमोजिम प्रदेश सरकारले राना थारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिन चैत ४ गते खख्डेहराको सार्वजनिक बिदा दिन थालेको छ । रानाथारू समुदायको सूचीकरण, रानाथारू भाषा सूचीकरण एवं सार्वजनिक बिदासँगै समुदायको पहिचानयुक्त अधिकारको ढोका खुलेको उहाँको भनाइ छ ।

उहाँका अनुसार समाजको केन्द्रीय कार्यसमितिको निर्णयानुसार नै राना थारू समुदायको जनसङ्ख्या, भाषा र अन्य कुराको छुट्टै गणनाका लागि तथ्याङ्क विभागमा माग गरिएको छ । जुन पूरा हुनेमा राना थारू समुदाय ढुक्क देखिएका छन् । कैलाली र कञ्चनपुरमा बसोबास गर्ने साढे तीन लाख राना थारू समुदायले धेरै लामो सङ्घर्षपछि अधिकार पाएका छन् ।

“अलग्गै भाषा, अलग्गै पहिचान, अलग्गै चाडपर्व मनाउने जातिलाई एउटै सूचीमा राख्दा विगतमा अधिकार पाउन सकेका थिएनौँ”, शिक्षक तथा समाजका पूर्वमहासचिव राजकुमार रानाले भन्नुभयो, “अलग्गै पहिचान पाइएपछि राज्यको प्रत्येक अङ्गमा प्रतिनिधित्व सुनिश्चित भएको छ ।”

“राजनीतिकरूपमा सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व बढ्छ । लोकसेवा आयोगमा समेत कोटा निर्धारण हुन्छ । सरकारी सेवामा नगन्य मात्रामा रहेका राना थारू समुदायको सरकारी सेवामा पहुँच अभिवृद्धि हुनेमा आशावादी भएका छौँ”, उहाँले भन्नुभयो । राना थारू समुदायको आफैँ भाषा, रहनसहन, रीतिरिवाज, चाडपर्वसँगै जन्मेदेखि मृत्युसम्मका संस्कार फरक छन् । “अन्य थारू समुदायसँग हामीलाई राखेर दाँज्न पाइँदैन”, नेपाल राना थारू समाजका केन्द्रीय सदस्य बेलौरी नगरपालिका–८ का वडाध्यक्ष नन्दकुमार रानाले भन्नुभयो, “भिन्न भए पनि अन्य थारूअन्तर्गत राख्दा पहिचान पाएका थिएनौँ । अब त्यो पहिचान पाइएको छ ।”

कैलाली कञ्चनपुरमा बसोबास गर्दै आएका समुदाय यस क्षेत्रका भूमिपुत्रका रूपमा रहेका छन् । राना थारू जातिलाई आदिवासीमा सूचीकृत गर्न वर्षौँदेखिको माग हो राना थारू समुदायका अगुवा महिला प्रेमवती रानाले भन्नुभयो, “राना थारूलाई स्थानीय, प्रान्तीय र केन्द्रीय सरकारमा सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक अग्राधिकारको आरक्षणसहित आत्मनिर्णयको अधिकारको माग गरेका थियौँ । संविधान बन्नभन्दा पहिले नै उठाइएका यी मुद्दा आज आएर पूरा भएका छन् । सरकारको निर्णयप्रति सिङ्गो राना थारू समुदाय आभारी छ ।”

अन्य समुदाय अन्यत्रबाट बसाइँ सरेर आएका हुन् भने राना थारू समुदाय यहाँको रैथाने समुदायका रूपमा रहेको छ । राना थारू समुदायका महिलाले अन्य समुदायभन्दा भिन्न विशिष्ट प्रकारको पहिरन लगाउने गर्दछन् । थारू महिलाले टाउकोदेखि खुट्टाको पैतलासम्म लगाउने घुघँट, चापी, वीर, नक्बेसर, नथुनी, कठुला, सकरगरेला, हसुला, हार कैंधनी, लगौरा, औँठी, पहुँची, ढुन्नी, पैंडा, पायल र बिछियालयायत गहना लगाउने गरेका छन् ।

यसैगरी, राना थारू महिलाले पाखुरामा लगौरा, नाडीमा पहुँची, औँलामा कलात्मक औँठी, कम्मरमा सिक्रीवाला कैंधनी, पैतलामाथि ढुन्नी, ढुन्नीको तल पैंडा र पायल लगाउने गर्दछन् । गर्दनमा कण्ठ, गरिया र घिच्चि महिलाले लगाउने गरेका छन् । जुन अन्य समुदायका गहनाभन्दा निकै भिन्न छन् । राना थारू समुदायको मुख्य पर्वमा चराइ, होली, तीजलगायत छन् ।

आदिवासी जनजातिमा सूचीकृत भएका राना थारू सरकारले समुदायका महत्वपूर्ण चाडपर्वमा बिदा दिनेसँगै वृत्ति विकासका कार्यक्रम सञ्चालन गरी आर्थिकरूपमा सवल बनाउनुपर्ने बताउनुहुन्छ । कैलाली र कञ्चनपुरमा गरी एक सय ३४ गाउँमा थारू समुदायको बसोबास रहेको छ । जसमध्ये कञ्चनपुरमा मात्रै राना थारू समुदायका ११० गाउँ छन्् । राना थारू आयोग वा प्रतिष्ठान गठन गरी अधिकार दिइनुपर्ने राना थारू अगुवाहरुको माग छ ।

आदिवासी जनजातिमा छुट्टै पहिचान स्थापित गर्नमा नेपाल सरकार, प्रधानमन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीलगायतलाई धन्यवाद दिँदै अभिभावकत्व प्रदान गरी संरक्षणत्व प्रदान गर्नुभएकोमा नेपाल राना थारू समाजले राष्ट्रिपतिप्रति कृतज्ञता प्रकट गरेको छ । आदिवासी जनजातिमा अलग्गै सूचीकृत भएपछि राना थारू समुदायका अगुवाहरु अधिकारबारे समुदायलाई सचेत गर्नमा समेत जुट्न थालेका छन् ।