, जानकी मन्दिरको सम्पत्ति मासिँदै

जानकी मन्दिरको सम्पत्ति मासिँदै

जनकपुरधाम, ३ जेठ । जानकी मन्दिरको सम्पत्ति मासिँदै गएको तथ्य एउटा उच्चस्तरीय कार्यदलको प्रतिवेदन पुस्तकमा जनाइएको छ । सरकारद्वारा विसं २०६२ साउन २६ गते भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलद्वारा प्रस्तुत अध्ययन प्रतिवेदन पुस्तकमा सो तथ्यतर्फ सरकारको ध्यानाकर्षण गराइएको पाइएको छ ।

बृहत्तर जनकपुर विकासद्वारा प्रकाशित सो प्रतिवेदन पुस्तकमा मन्दिरको जग्गा सन्दर्भमा जानकी मन्दिरको नाममा जनकपुरमा कति जग्गा थियो, तीमध्ये कति जग्गा मनखप, दोकानी, पूजामा कति रैतानी नम्बरीमा परिणत र कति तैनाथी कायम रहेको स्रेस्ता उपलब्ध नहुनुले सम्पत्ति मासिँदै गएको तथ्यसमेत प्रस्तुत गरिएको पाइन्छ ।

गुठी संस्थानले यस मन्दिरको नाममा रहेको सम्पूर्ण जग्गा जमिन, चल अचल सम्पत्ति रेखदेख गर्ने, सोको आम्दानी खर्च दुरुस्त राखी मन्दिर सुव्यवस्थितरुपमा परिचालन गर्न, मन्दिरको कुनै पनि सम्पत्ति बेचबिखन, दान दातव्य मनखपद्वारा कसैलाई पनि दिन न पाउने प्रक्रियाअनुरूप नै छुट गुठीभित्र राखी सोको जिम्मेवारी मन्दिरका महन्तलाई सुम्पेकामा महन्तहरूले यसलाई निजी किसिमले काम कारवाही गरी सम्पत्तिबारे अन्योलता सिर्जना गरेको पुस्तकमा उल्लेख छ ।

अध्येता नारायणप्रसाद रिमालका अनुसार साविकमा सो मन्दिरको जग्गा ५९८ बिघा १० कट्ठा चार धुर रहेको थियो । यस पृष्ठभूमिमा जानकी मन्दिरको पुरानो स्रेस्ता गुठी संस्थान कार्यालय जनकपुरमा फेला नपरेको प्रतिवेदनले ध्यानाकर्षण गराएको छ । प्रतिवेदनमा भनिएको छ, “पुरानो स्रेस्ता अर्थात् विसं १९८३ को लगत गुठी संस्थान शाखा कार्यालयमा भेटाइएन ।

विसं २०२९ मा तत्कालीन अञ्चलाधीश कार्यालय जनकपुरले जानकी स्थानका तत्कालीन महन्त (१३औँ) रामशरण दास वैष्णवबाट त्यस स्थानमा भएको जग्गाको फाँटवारी जमिन नगदीबाट हुने आयस्था माग गरेकामा जानकी मन्दिरले पेश गरेको लगतलाई नै गुठीले आधिकारिक माने पनि विसं १९८३ मा जानकी मन्दिरको नाममा रहेको जग्गाको अवस्थाबारे यथार्थ स्रेस्ता उपलब्ध गराउन सकेको देखिएन ।”

जानकी मन्दिरका १३औँ महन्त रामशरण दासले विसं २०२९ मा तत्कालीन अञ्चलाधीश कार्यालय जनकपुरमा प्रस्तुत गरेको जग्गा फाँटवारीअनुसार जानकी मन्दिरको नाममा ९१ बिघा १८ कट्ठा आठ धुर जग्गाको लगत रहेको देखिएको छ । साविकमा उल्लेखबमोजिमको जग्गा महन्तहरूले के प्रयोजनमा प्रयोग गरे सो सम्बन्धमा गुठीमा कुनै स्रेस्ता नहुनुले पनि मन्दिरको जग्गा मासिने अवस्थालाई दर्साइरहेको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विसं २०२९ मा पाँच बिघा १० कट्ठा २ धुर ४ कनमा जग्गा सट्टा भर्ना भई आएकोबाट जानकी मन्दिरको गुठीको नाममा ९७ बिघा ८ कट्ठा ८ धुर ४ कनमा भई १९८३ को जग्गामा केही वृद्धि भएको देखिएको छ । जानकी मन्दिरको केही जग्गा रेल्वे, चुरोट कारखाना (हाल प्रदेश सरकार), परिक्रमा सडक र अस्पतालमा समेत गाभिएको देखिन्छ ।

ऐतिहासिक पक्ष

जनकपुरधामको ऐतिहासिकता खोज्दा त्रेता युगमा पुग्नुपर्छ, जुन हजारौँ वर्ष पुरानो इतिहास मानिन्छ । युग बदलिँदा प्रलय भइ विनास हुन्छ र सृष्टिको क्रम शुरू हुने मान्यता रहेको छ । यसै क्रममा भगवान रामचन्द्रलाई विष्णुको अवतार र जानकी मातालाई आदिशक्ति भवानीको स्वरूपमा प्राण प्रतिष्ठित त्रेता युगका मूर्तिहरू प्रलयकारी परिवर्तन हुँदा भूगर्भमा रहन पुगेको थियो ।

सत्रौँ शताब्दीको अन्ततिर सन्त शुरकिशोर दासले भूगर्भ रहेका जानकी माताको मूर्तिलाई सिद्धत्व साधनाबाट पता लगाई उत्खनन गरी मन्दिरमा प्रतिष्ठित गराएपछि जनकपुरको पुनः उत्थान भएको मानिन्छ । सोही कारणले सन्त शुरकिशोर दासलाई आधुनिक जनकपुरको अन्वेषक पनि भनिएको छ । आदि सन्त शुरकिशोर दासका शिष्य प्रयाग दासका (दोस्रो महन्त) समयमा ईसं १७२७ मा मकवानपुरका राजा मणिक सेनले आध्यात्मिक शक्तिबाट पत्ता लगाइएको जानकीमाताको मूर्तिको दर्शन गरी पूजाआजा, पर्व जात्रा तथा सन्तको भण्डाराका लागि जग्गा गुठीका रूपमा (कुश बिर्ता) प्रदान गरेको देखिन्छ ।

मन्दिरका ११औँ महन्त रामकृष्णका पालामा सानो जानकी मन्दिर मण्डपलाई गर्भगृहमा राखी राजपुताना, हिन्दू, मैथिल र मुगल शैलीको सम्मिश्रण गरी वर्तमान मन्दिर निर्माण भएको हो । भारत टिगमगढकी रानी वृषमान कुँवरीले आफ्नो आस्था र विश्वासका कारण जानकी मन्दिर बनाउने अठोट गरिन् र ईसं १८९४ (विसं १९५२ माघ २८ गते) मा यस मन्दिरको शिलान्यास गरेको इतिहास पाइन्छ ।

ईसं १९११ फरवरी ११ मा (विसं १९६७ माघ २८ गते) मा सो मन्दिरको निर्माण कार्य (१२ वर्षमा) सम्पन्न भई मूर्तिहरूको प्राण प्रतिष्ठा गरिएको थियो । मन्दिर पूर्ण हुँदा वृषमानको मृत्यु भइसकेका कारण टिकमगढकी कान्छी महारानी गणेश कुँवरी साथ सीतारामका मूर्तिलाई गरगहनाले सज्जित गरी प्राण प्रतिष्ठा गरिएको थियो । सो मन्दिरको निर्माण ब्रिटिस महारानीका चाँदीका सिक्काहरू तीनदेखि चार लाख खर्च भनिए पनि मन्दिर बनाउन शुरूमा रु नौ लाख सङ्कल्प गरिएको मैथिली साहित्यहरूमा उल्लेख छ ।

मन्दिरमा सीतारामको मूर्ति प्राण प्रतिष्ठा वैदिक विधिअनुसार मण्डलधुनीका साथ बिहान ५ बजे फौज हात्ती तोपबाट बढाइँ गरिएको थियो । बढाइँका लागि दरभङ्गा महाराजाबाट फौज, हात्ती र तोपहरू ल्याइएको उल्लेख छ । कलाकारको मीठो सपना बोकेको यो मन्दिर किल्ला आकारको छ र चारैतिर साना ठूला गुम्बज र बुर्जाले घेरिएको र ६० कोठा रहेको यस मन्दिरमा शिश महल र गर्भगृह विशेष महत्वपूर्ण छन् ।

संस्कृतिविद् रामभरोस कापडी भ्रमरका अनुसार जानकी मन्दिर वास्तुकला, अद्भूत डिजाइन, विलुप्त हुँदै गएको निर्माण प्रविधिसहित मानव सिर्जनाको उत्कृष्ट नमूनाका रूपमा हामीबीच अवस्थित छ ।

भौतिक स्थिति

प्रतिवेदनमा जानकी मन्दिरको प्रशस्त जग्गा, जमिन र अन्य आयस्रोतसमेत रहे तापनि मन्दिरको अवस्था दयनीय रहेको छ । मन्दिरको रङरोगन एवं स्याहार सम्भारमा उचित ध्यान नदिई स्वेच्छाचारी ढङ्गले रङरोगन गरिने गरिएका कारण मन्दिरको संरचना मक्किँदै गएको र पर्खालबाट पाप्रा उप्किँदै गएको उल्लेख गरिएको छ ।

विगतमा मन्दिरको शोभाका रूपमा रहेको गुम्बज र बुर्जामा प्रयोग गरिएका प्राचीन कलात्मक स्वर्ण गजुरहरू गायब भएको तथा मन्दिरको स्थापनाका समयमा र त्यसपछि पनि भगवान राम, लक्ष्मण र जानकी मातालाई चढाइएका बहुमूल्य आभूषण गहनासमेत गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौँ पु¥याइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, “ती बहुमूल्य गहना कहाँ र कुन अवस्थामा राखिएका छन् त्यसबारे व्यापक जनचासो रहे तापनि सन्तोषजनक जानकारी प्राप्त नभएको देखिन्छ, मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि रहेको ढुङ्गाको कलात्मक सिंहजोडीको हीराजडित आँखा पनि निकालिएको भन्ने भनाइ रहेको छ ।”

मन्दिरका नाममा रहेको जग्गा, मन्दिरको पोखरी, घर बहाल र श्रद्धालुको दान, चढौना र भेटीबाट मन्दिरलाई वर्षेनी लाखौँ रुपैयाँको आम्दानीलाई वर्तमानं महन्त रामतपेश्वरले अपारदर्शी राखेको र भौतिक संरचनातर्फको बेवास्ताले मन्दिरको संरचनासमेत बिग्रँदै गएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा मन्दिरका महन्तसँग गौलोचन, गजमणि, स्यालको सिङ रहेको तर त्यसको कुनै अभिलेख नराखिएकाले व्यक्तिगत हुने बलियो सम्भावना व्यक्त गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, “जग्गा अतिक्रमित भई दिनानुदिन घटिरहेको छ तर गुठीले आफ्नो संरक्षणको भूमिका निर्वाह गरेको छैन, महन्तले आपूm खुशी जग्गाको पजनी गरिरहेको छ र यसमा गुठी संस्थानका कार्यालयको नियन्त्रणात्मक देखिएको छैन ।”

जग्गाको अवस्था

जानकी मन्दिरका जग्गा व्यवस्थापनका विभिन्न कमीकमजोरी, बढ्दो जनसङ्ख्याको चाप, धार्मिक आस्थामा कमी, लोभ लालचको बढोत्तरी, आडम्बरीपनाको पराकाष्ठाले विलीन भएका वा विलीन हुने प्रक्रियामा रहेकोतर्फ प्रतिवेदनले ध्यानाकर्षण गराएको छ ।

हालका महन्त रामतपेश्वर दासले मन्दिरका जग्गालाई आफ्ना गुरु महन्त रामशरण दासको नक्कली हस्ताक्षर गरी छाप लगाइ कबुलियत लेखी आफूले कुत बुझेको भर्पाइ दिई प्रतिकट्ठा २५ देखि ५० हजारको दरमा बिक्री गरेको दर्जनौँ सन्दर्भ पनि प्रतिवेदनमा उल्लेख छ । महन्तले नापी पहिलेको मितिको जालसाजी मनखपका कागज हालमा तयार गरी त्यसमा घर बनाउन लगाएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै प्रतिवेदनमा मन्दिरका विभिन्न पोखरीको डिलमा निर्माण कार्य गर्न लगाइएको, मन्दिरका वरिपरिका अति धार्मिक एवं संवेदनशील स्थानमा महन्तले आफैँ वा आफ्ना व्यक्तिद्वारा अतिक्रमण गरी धार्मिक र सांस्कृतिक धरोहर नष्ट गर्नुभएको र गर्ने तरखरमा रहनुभएकोतर्फ सजग गराइएको छ ।