८ बैशाख २०८१, शनिबार

पाल्पाको एतिहासिक ‘लक्ष्मीनारायण मन्दिर’ प्रवद्र्धनको पर्खाइमा


मन्दिर

सुशीला रेग्मी, बेझाड, २१ पुस । रामपुर र आसपासको इतिहासको साक्षीजस्तै रहेको ‘लक्ष्मीनारायण मन्दिर’ को उचित प्रसार प्रचार नहुँदा ओझेलमा परेको छ । रामपुर नगरपालिका–५ स्थित कालीगण्डकीको किनारामा अवस्थित ऐतिहासिक सो मन्दिरमा त्रेतायुगमा रामचन्द्र बसेको किंवदन्ती यहाँ रही आएको छ । यो मन्दिर पाल्पा जिल्लाका अति प्राचीन तथा ऐतिहासिक मन्दिर भित्र पर्दछ ।

विसं १८७० तिर स्थानीय तुल्सीराम रेग्मीलाई श्रीरामले सपनामा ‘रामघाट क्षेत्रमा लक्ष्मीनारायणको मन्दिर स्थापना गरी पूजा गर्नु’ भन्नुभएछ । यसपछि रेग्मीले विसं १८८९ मा मन्दिर स्थापना गर्नुभएको यहाँका बुढापाका बताउँछन्

रामघाट क्षेत्र पौराणिककालदेखि नै पवित्र धार्मिक तीर्थस्थलको रुपमा परिचित छ । रामचन्द्रले त्रेता युगमा बनवासको क्रममा रामघाटमा स्नान गरेको, ऋषिमुनि बोलाइ यज्ञ गरेको तथा नजिकैको रामगुफामा बसोबास गरेको आधारमा यस क्षेत्रलाई पवित्र तपोभूमिका मानिन्छ । द्वापर युगमा पाण्डवहरु पनि यही ठाउँमा स्नान गरेको, शुक्लागण्डकीको पानी कृष्णा गण्डकीको रामघाटमा ल्याउन तनहुँको भीमादमा बाँध बाँधेको र शिवजीको वाणको सहयोगबाट जल आउने गरेको पुराणमा उल्लेख पाइन्छ ।

पौराणिककालदेखि तीर्थालु आई स्नान तथा यज्ञादी गर्दै आएता भनिएतापनि करिव २०० वर्ष अगाडि लक्ष्मीनारायणको मन्दिर बनाई गुठी राखिएको यहाँ रहेको विसं १८८९ को सनतबाट पुष्टि हुन्छ । विस २०७२ विनासकारी भूकम्पले मन्दिरलाई क्षतिग्रस्त बनाएको थियो ।

ऐतिहासिकता र धार्मिक महत्वलाई उजागर गर्ने गरी पुनःनिर्माण बढाइएको छ । लक्ष्मीनारायण मन्दिर संरक्षण समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले पुरानै शैलीमा लक्ष्मीनारायणको मन्दिर पुन निर्माण अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ “रामपुरको चिनारीका रुपमा रहेको पुरानो जीर्ण मन्दिरलाई पुरानै कलात्मकशैलीमा निर्माण गरिएको छ, यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय नगरीका रुपमा विकास गराउन विभिन्न भौतिक संरचना निर्माणका काम भइरहेका छन ।”

रामपुर नगरपालिकाले यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीयस्थलमा समावेश गरेको छ । कालीगण्डकीको तट, कालीगण्डकीको करिडोर नजिकै रहेकाले पनि यहाँ चहलपहल बढाएको छ । मन्दिरसम्म पुग्ने सडक सुविधा भएपछि यहाँ आउनेको आकर्षण बढ्दो छ । विशेषतः शनिबार र सार्वजनिक बिदामा यहाँ आउने पर्यटक कालीगण्डकी, रामघाटको रमाइलो दृश्यसँग लोभिएका छन् । रामनवमी, कृष्णाजन्माष्टी, अक्षयतृतीया पर्व र नयाँ वर्षका दिन विशेष मेला लाग्दै आइरहेको छ ।

कालीगण्डकीमा स्नान गरी नदीको पवित्र जल लक्ष्मीनारायण मन्दिरमा चढाएर रामपुर नगरपालिका ३ र ४ मा पर्ने सीताकुण्डमा पुगेर जल मिसाएर पूजाआजा गरी पुनः यही आएर पूजा गर्ने चलन रहेको मन्दिर व्यवस्थापन समितिका सदस्य मिनराज रेग्मीले जानकारी दिनुभयो । कालीगण्डकीवेशीकै धार्मिक महत्वको यहाँको पौराणिक महत्वलाई जोगाउन पूर्वाधार निर्माण अघि बढाइएको छ ।

मन्दिर सञ्चालनका लागि रामपुर नगरपालिका वडा नं ४ र ५ मा करिब दर्ता भएको एक हजार रोपनी र दर्ता नभएको एक हजार १०० रोपनी गुठी जग्गा छ । रामपुर नगरपालिका–४ खोप्टारमा करिब १० रोपनी जग्गा पर्खालले घेरिएको र हाल जर्णि अवस्थामा रहेको धर्मशाला पार्टी भवन छ ।

सामाजिक हितका राखिएको यो गुठीमार्फत स्थापना कालदेखि नै दैनिक पूजाआजा तथा व्यवस्थापन रेग्मी परिवारबाट गरिँदै आएको छ । मन्दिरको अवस्था नाजुक बन्दै गएपछि विसं २०७४ देखि दश वर्षे गुरुयोजना तयार पारिएको छ । प्रवेशद्वार, धार्मिक बस्ती, सानो गौशाला, सुन्दर प्रतीक्षालय, त्रिदेव मन्दिर, विवाह मण्डव, योग गृह, ज्येष्ठ नागरिक स्याहार केन्द्र, सभाहल, अथिति गृह, किरियाघर, पानीको ट्याङ्की, वनभोजस्थल, गुरुकुल शिक्षाको सुरुवात, शौचालय र भान्साघर निर्माण गर्ने गुरुयोजनामा समेटिएको छ ।

त्यस्तै पुरानो लक्ष्मी नारायणको मन्दिर, मन्दिर प्रवेशद्वार, पुरानो पौवा, पानीको फोहरासहित शालिकराम स्तम्भ, पानीको ट्याङ्की, दुई कोठे आरसीसी धर्माश्रम, १०८ पिपलका बगैँचा, फलफूलका बगैँचा, नदीको किनारमा रहेको प्रतीक्षालय, मन्दिर परिसरभित्र रहेको पुजारी बस्ने र साधु सन्त बस्ने दुई वटा घर, मन्दिर परिसरको पर्खाल र चौतारी आदि निर्माण गरी संरक्षण गर्न थालिएको छ ।

एक÷एक वटा पुजारी र महन्त निवास, शालिकराम स्तम्भ निर्माण, शौचालय, धर्मआश्रम, पानी ट्याङ्की निर्माणको काम सम्पन्न भएको भइसकेको छ । यस क्षेत्रको विकासका लागि सामूहिकका साथै व्यक्तिगत प्रयास पनि बढेका छन् । रामपुर नगरपालिका–८ का कृष्णप्रसाद पौडेलको रु तीन लाख र संस्थाका अध्यक्ष बुद्धिप्रकाश रेग्मीबाट रु ४२ हजारमा मूल प्रवेशद्वार, र वडा नं ५ बस्ने टीकाराम मल्लबाट रु एक लाख ५० हजार सहयोगमा मन्दिर प्रवेशद्वार निर्माण गरिएको छ ।

प्रसिद्ध तीर्थस्थलका रुपमा रहेको रामघाट क्षेत्रलाई वडा र नगरले धार्मिक तथा पर्यटकीय विकासमा जोड दिएको रामपुर नगरपालिका–५ का अध्यक्ष हिमाल मल्ल बताउनुहुन्छ । “रामपुरकै पहिचानका रुपमा रहेको रामघाट र यहाँ रहेको लक्ष्मीनारायण मन्दिरको महत्व उच्च रहेको छ, यो क्षेत्र धार्मिक नगरिका रुपमा विकास गराएर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजनाका साथ लागेका छौँ”, उहाँले भन्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !