७ बैशाख २०८१, शुक्रबार

यस्तो छ आइतवार व्रतविधि


आइतबार

यस्तो छ आइतवार व्रतविधि । हिन्दुधर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। आइतबार व्रतविधिको वारेमा जानकारी तल प्रस्तुत गरिएको छ ।

आइतबार व्रतविधि

हिन्दू धर्मावलम्बीहरू आइतवारमा सूर्य देवताको पूजा गर्दछन् । ज्योतिषशास्त्र अनुसार आइतवारलाई सूर्यदेवको वार मानिन्छ । यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनु हुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ ।

आयु एवं सौभाग्य वृद्धि, सबै किसिमका कामनासिद्धिका लागि तथा नेत्र रोग, कुष्ठ रोग, एवं चर्म रोग निवारणका निम्ति आइतबारको व्रत लिने गरिन्छ। व्रत लिँदा शुक्ल पक्षको पहिलो आइतबारबाट सुरु गर्नुपदर्छ। यसलाई न्यूनतम एक वर्षम्म लिन सकिन्छ। यदि कुनै कारणले एक वर्ष पूरा गर्न नसकेको अवस्थामा १२ वटा आइतबार चाँहि अवश्य नै व्रत लिनुपर्दछ। व्रतका दिन सकेसम्म रातो कपडा लगाउने, त्यसदिन गहुँको रोटी मात्रै सेवन गर्ने, भोजन गर्नुभन्दा पहिले स्नान गरी शुद्ध रातो कपडा लगाएर ‘ ॐ सूर्याय नमः’ यस बीज मन्त्रको जाप थोरैमा ५ माला सके व्रतको अवधिभरि गरिरहनु पर्दछ।

त्यसपछि आइतबारको व्रतकथा पढ्ने, अनि सूर्यलाई रातो अक्षता, रातो फूल र दुबोको जलले निम्न मन्त्र पढ्दै अर्घ्य दिनुपर्दछ- नमः सहस्रकिरण ! सर्वव्याधिविनासिने। गृहाणार्घ्यं मया दत्तं सन्ध्यया सहितो रवे।। फेरि प्रदक्षिणा गरेर रातो चन्दनको तिलक लगाउनु पर्दछ, व्रतको समाप्ति अर्थात् अन्तिम आइतवारका दिन हवनपछि ब्राह्मण दम्पतिलाई भोजन गराई यथाशक्ति रातो कपडा एवं दक्षिणासहित प्रसन्न तुल्याई आशिर्वाद ग्रहण गर्नु पर्दछ।

यो पनि पढ्नुहोस्

आइतवारमा कुन देवी-देवताको पूजा गर्ने ?

यस्तो छ आइतबार व्रतकथा

आइतबार के के काम गर्दा सफलता मिल्छ ?

आइतबार जन्मेका मानिसको भविष्य र आचरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !