११ बैशाख २०८१, मंगलबार

तीन धामसहितको बहुजातीय सङ्ग्रहालय


Nepalpatra

२६ पुस, उर्लाबारी । प्रदेश नं १ सरकारले मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित भूटानी शरणार्थी शिविर क्षेत्रमा गौरवको आयोजनाका रुपमा तीन धामसहितको बहुजातीय सङ्ग्रहालय निर्माण गर्ने भएको छ ।

सङ्ग्रहालयस्थलको बुधबार अवलोकनका क्रममा प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले पाथीभरा, हलेसी र बराहक्षेत्र धामसहितको सांस्कृतिक ग्राम निर्माणमा प्रदेश सरकार अघि बढिसकेको बताउनुभयो । उहाँले सांस्कृतिक ग्राममा हिमाली, पहाडी र तराईको जनजीवन झल्किने स्थल निर्माण गरिनेसमेत प्रष्ट पार्नुभयो ।

मन्त्री घिमिरेसहितको सहभागितामा पथरीशनिश्चरे नगरपालिका कार्यालयमा सांस्कृतिक ग्राम निर्माणको अवधारणा तयारी कार्यदलको पहिलो बैठक बसी सङ्ग्रहालय क्षेत्रको अवलोकन गरिएको थियो । भुटानी शरणार्थी शिविर क्षेत्रमा बसोबास गर्दै आएका अधिकांश शरणार्थी तेस्रो मुलुक पुनःस्थापित भएका छन् ।

हाल शिविरमा एक हजार ४०० शरणार्थी मात्रै रहेकाले उनीहरुलाई व्यवस्थापन गरी त्यहाँ खाली रहेको सय बढी बिघा जग्गामा सङ्ग्रहालय निर्माण गरिने भएको हो । प्रदेश सरकारले सङ्ग्रहालय निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)का लागि चालू आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !