११ बैशाख २०८१, मंगलबार

जनकपुरको झझल्को दिलाउन रामपुरमा रामजानकी मन्दिर


Nepalpatra

१५ पुस, बेझाड । प्रसिद्ध धार्मिक नगरी जनकपुरको झझल्को दिनेगरी पाल्पाको रामपुर नगरपालिकामा रामजानकी मन्दिर निर्माण भइरहेको छ । पूर्वमा जनकपुर र पश्चिममा रामपुरलाई रामजानकी मन्दिरले चर्चित गराउने उद्देश्यले यहाँ उक्त मन्दिर निर्माण गर्न थालिएको हो ।

रामपुर नगरपालिका भित्रको धार्मिक क्षेत्रमा ठूलो योजनाका रुपमा निर्माण भइरहेको यो पहिलो मन्दिर मन्दिरलाई रामपुरवासीले चासो र महत्वका साथ लिएका छन् । विसं २०७६ को नामनवमीका दिन मन्दिरमा रामजानकीको मूर्ति प्रतिस्थापन गरिने रामजानकी मन्दिर विकास परिषद्का अध्यक्ष फणेश्वर गौतमले बताउनुभयो । “मन्दिर निर्माणको काम पूरा नभए पनि तेस्रो तलामा रामजानकीको मूर्ति प्रतिस्थापन गरिने योजना समितिको छ ।” उहाँले भन्नुभयो ।

चार तलाको मन्दिर, सत्तल, दुई वटा भवनसहितको सुविधासम्पन्न भवन निर्माण भइरहेको छ । रामपुर क्षेत्रलाई धार्मिक नगरीका रुपमा विकास गरी जनकपुरधामको झझल्को दिलाउन ठूलो लगानीमा मन्दिर निर्माण गर्न लागिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । मन्दिरको अहिलेसम्म २५ प्रतिशत काम सकिएको छ । पौराणिक समयमा भगवान् रामचन्द्र वनवास जाने क्रममा मुक्तिनाथबाट घुम्दै आउँदा रामपुरमा आएर बसोबास गरेको इतिहासमा उल्लेख छ । रामचन्द्रले बसोबास गरेकाले यस क्षेत्रको नाम रामपुर रहन गएको बूढापाका बताउँछन् । रामचन्द्रले रामपुर नगरपालिका–५ को बेझाड बजार नजीकै भात पकाई खाएको चुलो (रामचुलो) मन्दिर परिसरमा छ । रु दश करोडको लागतमा उक्त मन्दिर निर्माण भइरहेको हो ।

ऐतिहासिक महत्वसँग जोडिएको यस रामचुलोको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले स्थानीयवासी र सरोकारवाला निकायको सहयोगमा यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदैछ । रामचुलोको ऐतिहासिक तथा धार्मिक महत्वलाई जोगाइराख्न यहाँका बासिन्दाको पहलमा २०७१ साल माघमा श्रीमद्भागवत धान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरिएको र त्यसबाट करीब रू दुई करोड ४२ हजारको नगद तथा जिन्सी सङ्कलन गरी मन्दिर निर्माण थालिएको समितिका सचिव गुरुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

विसं २०७२ कात्तिकबाट अनुमानित करीब रू दश करोडको लागतमा पाल्पाको ऐतिहासिक पृष्ठभूमिलाई दृष्टिगत गर्दै छत्रशैली र गुम्बा शैली आकारमा मन्दिर निर्माण भइरहेको छ । पूर्वको जनकपुरमा अवस्थित रामजानकी मन्दिर जस्तै प्रख्यात बनाउन यहाँका सरोकारवालाले मन्दिर निर्माणमा जोड दिएका हुन् । मन्दिर निर्माणका लागि अहिलेसम्म रामपुर नगरपालिकाबाट रु छ लाख, साबिक जिविसबाट रु दुई लाख र स्थानीय विकास मन्त्रालयबाट रु पाँच लाख प्राप्त भएको छ ।

हालसम्म मन्दिर निर्माणमा रु एक करोड ५० लाख खर्च भइसकेको समितिका सहसचिव मीनराज रेग्मीले बताउनुभयो । मन्दिरको कोषमा ती सबै रकम प्राप्त भै नसकेका कारण निर्माण कार्यलाई दु्रत गतिमा अगाडि बढाउन कठिन भइरहेको छ । योजना ठूलो भएको तर उपलब्ध साधन र स्रोत कम हुँदा निर्माण कार्यमा ढिलाइ भएको समितिले जनाएको छ । मन्दिरको स्वामित्वमा रहेको करीब चार रोपनी जमिनमा मन्दिर निर्माण भइरहेको छ । नयाँ शैली र आकारमा निर्मित भएकाले यस मन्दिरमा पछिल्लो समय विभिन्न क्षेत्रबाट चासोका साथ अवलोकन गर्न आउनेको चहलपहल बढेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !