८ बैशाख २०८१, शनिबार

उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन


छठ पर्व

२८ कात्तिक, काठमाडौँ । आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिई छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन आइतवार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिइएको थियो । शनिबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले आइतबार उदाउँदो सूर्यलाई जलसहित अर्घ अर्पण गरेका छन् ।

व्रतालुहरूले जलासयमा गएर दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घको रुपमा अर्पण गर्दछन् । अर्घको रुपमा ठकुवा, भुसवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैंटो सूर्यलाई अर्पण गर्ने चलन छ ।

सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिने जानकारहरु बताउँछन् । सूर्यको आराधना तथा छठी माताको पूजाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने धार्मिक विश्वास छ ।

दुई दशक अघिदेखि राजधानीमा शुरु भएको छठमा प्रत्येक वर्ष सहभागी हुने भक्तजनको सङ्ख्या बढिरहेको छ । विसं २०४६ अघि छठ तराई क्षेत्रमा मात्र मनाइन्थ्यो । हाल पहाडी क्षेत्रसहित प्रमुख शहरमा छठको रौनक बढ्न थालेको छ । यस पर्वमा पहाडी क्षेत्रका मानिस पनि उत्तिकै सहभागी हुन थालेका छन् । तराई र पहाडका मानिसका बीच सामाजिक सद्भाव बढाउने पर्वका रुपमा छठ स्थापित हुन थालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !