६ बैशाख २०८१, बिहिबार

आज नवरात्रको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिदै


स्कन्दमाता

काठमाडौं । आज नवरात्रको पाँचौँ दिन स्कन्दमाताको भगवतीको पूजाआराधना गरिदैछ । कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी भगवान स्कन्दकुमार कार्तिकेयको वालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले यिनलाई स्कन्दमाता नामबाट पुकार्ने गरिन्छ ।

यिनका चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्ममासनसहित सिंहमा सवार रहन्छिन् । सूर्यमण्डलकी अधिष्ठात्री देवी भएकाले यिनको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने विश्वास गरिन्छ ।

आजको दिन हिन्दू धर्मावलम्बीहरु नजिकैका देवी शक्तिपीठहरुमा गई श्रद्धाभक्तिपूर्वक स्कन्दमाता भवानीको पूजाअर्चना गर्ने गर्दछन् । घटस्थापनाका दिनदेखी दशमीका दिनसम्म सनातन हिन्दू धर्माबलम्बीहरुले आ–आफ्नो कुल परम्पराअनुसार घरको पूजाकोठा, दसैं घरमा भक्तिपूर्वक पूजाआजा तथा दुर्गा सप्तशती चण्डी पाठ गर्ने गर्दछन् ।

दसैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआधाना गर्ने गरिन्छ । नवरात्रको अन्यदिन झैं आज पनि गुह्येश्वरी, शोभाभगवती, नक्सालभगवती, भद्रकाली, संकटा, बज्रबाराही, पलाञ्चोक भगवती, दक्षिणकाली, मनकामना लगायत देशभरिका शक्तिपीठहरूमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।

स्कन्दमाता भवानीको उपासना एवं आराधना गर्नाले सबै प्रकारको इच्छा पूर्तिको हुने शास्त्रीय कथन रहेको छ । मृत्यु लोकमा साधकलाई परमशान्ति तथा सुखको अनुभव मिल्ने र मोक्षको द्वार खुल्नेछ । स्कन्दमाताको पूजा, पाठबाट कुमार, कार्तिकेय या स्कन्दको पूजा पनि स्वयमेव हुनेछ । स्कन्दमातालाई केरा अधिक प्रिय छ भने श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् । स्कन्दमातालाई वैज्ञानिक दृष्टिले Kinetic अर्थात् आकर्षण शक्तिको स्वरूप मानिन्छ ।

यो पनि पढ्नुहोस्  

आज नवरात्रको चौथो दिन शक्तिरुपा देवी कुष्माण्डाको पूजा गरिदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !