४ बैशाख २०८१, मंगलबार

आज नवरात्रको चौथो दिन, शक्तिरुपा देवी कुष्माण्डाको पूजा आराधना गरिदै


कुष्माण्डा

काठमाडौं । आज नवरात्रको चौंथो दिन नवदुर्गामध्ये चौथो देवी शक्तिरुपा कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिदैछ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।

कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।

देवी भागवत अनुसार ब्रह्माण्डको उत्पत्ति पूर्व जब सृष्टिको अस्तित्व नभएको बेला, चारैतिर मात्र अँध्यारो नै अँध्यारो थियो, त्यस समय देवी कुष्माण्डाले आफ्नो हाँस्यबाट ब्रह्माण्डलाई उत्पन्न गर्नुभएको थियो, देवी कुष्माण्डा साक्षात आदि शक्ति हुनुहुन्छ, वहाँबाटै समस्त जगतको उत्पत्ति भएको हो, त्यसभन्दा पूर्व यो ब्रह्माण्डको कुनै अस्तित्व थिएन । ब्रह्माण्डमा व्याप्त समस्त प्राणीहरू तथा तत्वमा देवी कुष्माण्डाको तेज विद्यमान रहेको छ ।

सम्पूर्ण ब्रह्माण्डमा व्याप्त सबै जीवित तथा निर्जीव तत्व यिनै देवीकै कृपाले उत्पन्न भएको हो पौराणिक मान्यता रहेको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ । यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

यी देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् । यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएको छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

माता कुष्माण्डाको भक्तिले रोग, शोक नष्ट भई, आयु, यश र बलको वृद्धि हुनेछ साथै देवी कुष्माण्डा अल्प साधना या भक्ति मात्रले प्रसन्न हुनुहुन्छ । माता कुष्माण्डालाई विशेषगरि सेतो वस्तुको परिकार अधिक प्रिय छ, साथै सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छ । कुष्माण्डालाई वैज्ञानिक दृष्टिले Chemical अर्थात् सम्पूर्ण रासायनिक शक्तिको स्वरूप मानिन्छ ।

यो पनि पढ्नुहोस्  

आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !