८ बैशाख २०८१, शनिबार

बहुमङ्गलद्वार चैत्य प्राणप्रतिष्ठा


Nepalpatra

७ भदौ, काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रस्थित बहुमङ्गलद्वार चैत्य पर्यटकको आज प्राणप्रतिष्ठा गरिएको छ ।

गोरखाभूकम्प तथा त्यसपछि परकम्पका कारण सो चैत्यमा ठूलो क्षति भई जोखिम बढ्दै गएपछि पुनःनिर्माण भएको थियो । पुरातत्व विभागले स्वयम्भू महाचैत्यदेखि करीब २० मिटरको दूरीमा रहेको प्राचीन महत्वको सो सम्पदा जीर्णोद्वार पुरानै स्वरुपमा गर्न स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमितिलाई अनुमति दिएपछि काम शुरु गरिएको थियो । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक तथा सांस्कृतिक सङ्गठनको रु ४६ लाखको सहयोगमा महासमितिले रु नौ लाख थप गरी पुनःनिर्माण गरेको हो ।

यहाँ आज आयोजित चैत्यको प्राणप्रतिष्ठा कार्यक्रममा युनेस्कोका देशीय प्रतिनिधि क्रिस्टियन म्यानहर्टले युनेस्कोको प्राचीन महत्वको सम्पदाको संरक्षण गर्ने नीति रहेको बताउनुभयो ।

चैत्यको निर्माणशैली तथा वास्तुकला आकर्षण भएका कारण चीन सरकारले पनियुनेस्कोमार्फत पुनःनिर्माणमा आर्थिक सहयोग प्रदान गरेको जनाइएको छ । करीब १० मिटर अग्लो उक्त चैत्यमा पाँच खण्ड तथा विभिन्न देवीदेवताको साना ठूला गरी १२० मूर्ति छन् । चैत्य नयाँ प्रविधिको प्रयोग गरी निर्माण पूरा गरिएको महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधरले जानकारी दिनुभयो ।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपालको सम्पदा संरक्षण तथा सांस्कृतिक विकासमा थप सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विभागका महानिर्देशक भेषनारायण दाहालले धार्मिक महत्वका सम्पदा क्षेत्रको पुनःनिर्माण तथा मर्मतमा प्राविधिक र आर्थिक कारणले ढिलाइ भएको स्वीकार्नुभयो ।

उक्त महाचैत्य तथा त्यस आसपास क्षेत्रबाट काठमाडौँ उपत्यकाको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । प्राचीन महत्वका अन्य सम्पदा जीर्णोद्वारका लागि विभाग र महासमितिले अध्ययन गरिरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभयो ।

आगामी दिनमा त्यहाँ विभिन्न पर्यटकीय पूर्वाधारको विकास गरी पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने सम्पदाप्रेमी एलिना ताम्राकारले बताउनुभयो । चैत्य पुनःनिर्माणका क्रममा धातुमा लेखिएको शिलालेख प्राप्त भएको छ । सन् १८७५ जुन २८ मा हर्षरत्नले आफ्ना पिता धर्मसिंहका नाममा चैत्य स्थापना गरेको बताइएको छ । महाचैत्य आसपास क्षेत्रमा भत्किएका प्रतापपुर, अनन्तपुरलगायत अधिकांश सम्पदाका पुनःनिर्माण तथा मर्मत सम्भार सकिएको छ । पुजारीका केही घर अझै पूरा हुन सकेको छैन ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !