१२ बैशाख २०८१, बुधबार

सामूहिक रुपमा गुरही पर्व मनाउँदै


Nepalpatra

३१ साउन, कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको गुरही पर्व आज कैलालीका थारू समुदायले सामूहिक रुपमा मनाउँदै छन् ।

खेतीपाती सकिएपछि धानबालीमा किरा नलागून् भनेर गाउँका युवतीहरु गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने किराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको थारू कल्याणकारिणीसभाका केन्द्रीय सदस्य इन्दिरा चौधरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गुरही गाउँबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने र बाली हराभरा भई सप्रिने विश्वास छ ।”

यो पर्वलाई बालबालिकासँग सम्बन्धित पव मानिन्छ । गुरही सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने विश्वास गरिन्छ । पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनाका साथै गाउँमा भएको दुःख, सङ्कट र विपत्ति भाग्ने गरेको जनाइएको छ ।

परापूर्वकालदेखि यो पर्व थारू समुदायले नागपञ्चमीको दिनमा मनाउँदै आएकाले यो पर्वसँगै अन्य पर्वको शुरुआत हुने गरेको थारू कल्याणकारिणीसभा कैलालीका सचिव माधव चौधरीले बताउनुभयो । उहाँले यो पर्व कहिलेदेखि मनाउन शुरु गरिएको भन्ने चाहिँ कुनै लिखित इतिहास नभएको उल्लेख गर्नुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !