१३ बैशाख २०८१, बिहिबार

पनौतीमा हिलेजात्रा : जात्रा सकिएपछि मात्र रोपाइँ


काभ्रेको पनौती

काभ्रे । काभ्रेपलाञ्चोकको पनौतीमा आज जेष्ठ त्रयोदशीदेखि हिलेजात्रा (ज्याःपुन्ही) सुरु भएको छ । तीन दिन पूर्णिमाको रात रहुन्जेल स्थानीयले हिलेजात्रा मनाउँछन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको पुरानो चलन हो ।

‘जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने स्थानीय बूढापाकाको भनाइमा उक्त जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य पनि छ । जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भन्ने गरिएको पाइन्छ ।

कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष औपचारिक पूजाअर्चना मात्रै गरी मनाइएको थियो । मान्यताअनुसार जात्रा मनाएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुन्छ । यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनैपर्छ र प्रत्येक वर्ष यस्तै हुँदै आएको स्थानीयसँग अनुभव छ ।

किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्गमतीबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लँदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिँदै आइएको स्थानीय समाजसेवी तुयुकाजी ताम्राकार बताउछन् ।

करिब ५० मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रूपमा दुईवटा बाँस तेस्र्याइने र एक घण्टा लगाएर तर्ने गरिन्छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो जात्राका रूपमा लिने गरिएको छ । जात्रा मनाउने क्रममा त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा पूजाअर्चना गरिन्छ ।

साथै इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशको मूर्तिलाई खटमा राखी धुमधामकासाथ नगर परिक्रमा गराइन्छ । जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा एकापसमा जुधाउने काम हुन्छ । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रूपमा लिँदै युवायुवतीको सहभागिता उत्साहजनक रहने गर्दछ ।

स्थानीय वृद्धवृद्धाको भनाइमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव त्रिवेणीमा हामफाली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यका रुपमा रथ जुधाइन्छ । रथ जुधाइसँगै अविरजात्रा पनि हुन्छ ।

लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रम्हायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् । धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रूपमा लिइएको हो । युवायुवती रथ जुधाउन तछाडमछाड गर्छन् ।

इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिले–पहिले झिसमिसेअगावै रथ जुधाइने गरिएको थियो । विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआए पनि पछिल्ला केही वर्षदेखि देवतारुपी रथलाई दिउँसो जुधाउने गरिएको छ ।

जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य (आचाजू)हरू सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ । कर्माचार्य खोलापारि गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास गरिन्छ । कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ट हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्नेले जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ ।

अर्को रोचक प्रसङ्ग, मान्यताअनुसार जात्रामा चिउली र केरा खाएर घुम किन्नैपर्छ । यसपछि यी सामग्रीको बिक्री सुरु हुने पनि जनविश्वास छ । जात्रामा चिउली चपाएर जिब्रो पड्काउँदै युवायुवती हौसिएका देखिन्छन् । स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारकासाथ भोज गरिन्छ । भोजका लागि प्रत्येक घरमा बलि दिने प्रथा अझै कायम रहेको बताइन्छ ।

जात्रा अवधिभर स्थानीय फोटो पत्रकारले काभे्रपलाञ्चोकको सम्पदा, प्रकृति, संस्कृति तथा पर्यटकीय क्षेत्रको फोटो प्रदर्शनी गर्ने गर्छन् । स्थानीय मुख्य पर्व जनाउँदै पनौती हिलेजात्राको अन्तिम दिन नगरपालिका कार्यालयले नगरमा सार्वजनिक बिदासमेत दिने गरेको छ ।

किंवदन्तीअनुसार राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्मावती नदी गुप्तरूपमा बहिरहेको मान्यता छ । भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरूपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लीलावती र गुप्तरूपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीलाई पद्मावती मानिँदै आइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !