७ बैशाख २०८१, शुक्रबार

आज शिख धर्मका प्रवर्तक गुरुनानकको ५५३ औँ जन्मजयन्ती मनाइँदै


गुरुनानक

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो ।

सिख धर्मका संस्थापक तथा सिखहरुका पहिलो गुरु गुरुनानक देवको ५५३ औँ जयन्ती मंगलबार विशेष रुपमा मनाईँदैछ । विशेष गरी भारत तथा पाकिस्तानमा सिखहरुको बढी बसोबास हुनुका साथै नेपालमा पनि सिख समुदाय रहेका छन् ।

उनले शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरे । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत उनले गराए । यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ ।

शिखको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले बिनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लंगर परम्परा’को थालनी गरेका थिए ।

निर्गुण उपासनाका पक्षपाती गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्नेमा विश्वास गर्दथे । भारत र पाकिस्तानबिचको करतारपुरमा गुरुनानक देवले आफ्नो जीवनको अन्तिम १८ वर्ष बिताएका थिए ।

गुरुनानक देवको जन्मस्थान पाकिस्तानको ननकानासहिब, वयश्यक समय बिताएको भारतको सुल्तानपुर लोधी तथा जीवनको अन्तिम समय बिताएको करतारपुर खास महत्वका स्थान हुन् । सिखहरु यी स्थानलाई पवित्र धार्मिक स्थलका रुपमा लिन्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !