११ बैशाख २०८१, मंगलबार

दसैंको टीका लगाउँदा लगाइदिने र लगाइमाग्ने कुन दिशा फर्किने ?


विजयादशमीको टीका

काठमाडौँ । आज बडादसैंको मुख्य दिन विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

लगाइ माग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने

विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने बताउँछन् धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ ।

चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनले सुनाए । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।

जमराले विभिन्न रोग व्याधमा औषधिको रूपमा काम गर्ने तथ्य वैज्ञानिकरूपमा समेत पुष्टि भइसकेको छ । कोरोना भाइरस एवं डेङ्गुको सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्वपूर्ण दिन हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ ।

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

यस्तो छ बडादशैंमा पढिने मन्त्र :

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यस्तो छ बडादशैंमा महिलाका लागि पढिने मन्त्र :

जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !