आज दशैंको पाँचौं दिन, स्कन्दमाता देवीको पूजा आराधना गरिदै Nepalpatra आज दशैंको पाँचौं दिन, स्कन्दमाता देवीको पूजा आराधना गरिदै
१४ मंसिर २०७९, बुधबार

आज दशैंको पाँचौं दिन, स्कन्दमाता देवीको पूजा आराधना गरिदै


स्कन्दमाता

काठमाडौं । आज नवरात्र वा दशैंको पाँचौँ दिन स्कन्दमाताको भगवतीको पूजाआराधना गरिदैछ । कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी भगवान स्कन्दकुमार कार्तिकेयको वालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले यिनलाई स्कन्दमाता नामबाट पुकार्ने गरिन्छ ।

यिनका चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्ममासनसहित सिंहमा सवार रहन्छिन् । सूर्यमण्डलकी अधिष्ठात्री देवी भएकाले यिनको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने विश्वास गरिन्छ ।

आजको दिन हिन्दू धर्मावलम्बीहरु नजिकैका देवी शक्तिपीठहरुमा गई श्रद्धाभक्तिपूर्वक स्कन्दमाता भवानीको पूजाअर्चना गर्ने गर्दछन् । घटस्थापनाका दिनदेखि दशमीका दिनसम्म सनातन हिन्दू धर्माबलम्बीहरुले आ–आफ्नो कुल परम्पराअनुसार घरको पूजाकोठा, दसैं घरमा भक्तिपूर्वक पूजाआजा तथा दुर्गा सप्तशती चण्डी पाठ गर्ने गर्दछन् ।

दसैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआधाना गर्ने गरिन्छ । नवरात्रको अन्यदिन झैं आज पनि गुह्येश्वरी, शोभाभगवती, नक्सालभगवती, भद्रकाली, संकटा, बज्रबाराही, पलाञ्चोक भगवती, दक्षिणकाली, मनकामना लगायत देशभरिका शक्तिपीठहरूमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।

स्कन्दमाता भवानीको उपासना एवं आराधना गर्नाले सबै प्रकारको इच्छा पूर्तिको हुने शास्त्रीय कथन रहेको छ । मृत्यु लोकमा साधकलाई परमशान्ति तथा सुखको अनुभव मिल्ने र मोक्षको द्वार खुल्नेछ । स्कन्दमाताको पूजा, पाठबाट कुमार, कार्तिकेय या स्कन्दको पूजा पनि स्वयमेव हुनेछ ।

स्कन्दमातालाई केरा अधिक प्रिय छ भने श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् । स्कन्दमातालाई वैज्ञानिक दृष्टिले Kinetic अर्थात् आकर्षण शक्तिको स्वरूप मानिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !