६ बैशाख २०८१, बिहिबार

आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै


चन्द्रघण्टा

काठमाडौँ । आज नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नवदुर्गामध्येकी तेस्रो देवी शक्ति स्वरुपा चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

चन्द्रघण्टा देवीको घण्टाको आकारको चन्द्रमाद्वारा मस्तक सुशोभित भएको र दश हात भएर सिंहमा बसेर युद्ध गर्न जान तयार भएर राक्षसलाई नाश गर्न उत्सुक हुँदै घण्टा बजाउँदै गरेको देवीको रूप चन्द्रघण्टा नामले पूजित छ । चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको हो ।

चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्छिन् । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुन्छ ।

चन्द्रघण्टाको आराधना गर्नाले सबै प्रकारको दुःख, कष्ट नाश हुने र सबै प्रकारको बाधा हट्ने जनविश्वास छ । चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् । चन्द्रघण्टालाई विशेषगरी दुधको परिकार प्रिय छ । चन्द्रघण्टालाई वैज्ञानिक दृष्टिले Sound अर्थात् सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ ।

चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको छ । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुन्छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रतिपदादेखि पूर्णिमासम्म शक्ति स्वरुपा दुर्गा भवानीलाई शैल पुत्री, ब्रम्हचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि परिचित छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

देशभर रहेका देवीका मन्दिरमा आज बिहानैदेखि सर्वसाधारणको भीड लागेको छ । काठमाडौंको दक्षिणकाली, गोरखाको मनकामना, हेटौंडाको चुरियामाई र भुटनदेवी लगायतका भगवतीका मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरुको ठूलो भीड लागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !