१४ माघ २०७९, शनिबार

भक्तपुरमा देखियो होलीको उल्लासपूर्ण रौनक


भक्तपुरमा होलीको रौनक

भादगाउँ । वसन्त ऋतुको आगमनसँगै रङ र खुसीको फागुपर्व आज भक्तपुरमा पनि उल्लासपूर्ण रुपमा मनाइयो । काठमाडौँ उपत्यकालगायत देशका पहाडी क्षेत्रमा फागुपर्व आज मनाइए पनि तराई क्षेत्रमा भने भोलि मनाइँदै छ ।

एकापसमा रङ दलेर खुसी साटासाट गरेर मनाइने यो पर्व भक्तपुरमा नाचगान गर्दै मनाइएको छ । स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःहरुले आ-आफ्ना बाजाको पूजा गर्ने र बाजागाजा सहित एकापसमा अबिर दलेर टोल, छिमेक परिक्रमा गरी मनाउने गरिन्छ ।

फागुन शुक्लअष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि रङ्गीचङ्गी ध्वजापताकासाथ सिङ्गारी चीर गाडेपछि फागुपर्व सुरु भएको मानिन्छ । भक्तपुरमा भने फागुपर्व सुरु भएको जनाउ दिन दत्तात्रयस्थित तचपाल भीमसेन मन्दिरस्थित पाटीमा पुरुष जनेन्द्रीयको प्रतीक काठको लिङ्ग र स्त्री जनेन्द्रीयको प्रतीक कपडाको योनिलाई समागमको आकृतिमा राखेर प्रदर्शन गरिन्छ ।

तचपाल भीमसेन मन्दिरको पाटीमा समागमको आकृतिमा प्रदर्शनमा राखिएको कपडाको योनीलाई द्वापरयुगका भीमसेन र द्रौपदी समागमको रूपमा लिइन्छ । वसन्त ऋतुको आगमनसँगै बोटबिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फूलहरु फुल्न थालेसँगै मानिसको मन-मष्तिस्क समेतमा एक खालको तरङ्ग पैदा गर्ने संस्कृतिविद् ओम धौभडेलले बताए । “कृषिमा संलग्न भएकाहरु वसन्त ऋतुको आगमनसँगै फुर्सदिला हुन्छन्”, उनले भने ।

फागुलाई विशुद्ध जीवन्त सांस्कृतिक पर्वको रूपमा लिनुपर्ने धौभडेल बताए । फागुपर्वले मानिसमा विद्यमान भेद्भावको अन्त्यको सन्देश दिने र बालबालिका युवायुवतीलगायत फागुको रङमा रङ्गिने खुसी साटासाट गर्ने भएकाले यो समावेशी पर्व भएको उनको भनाइ छ ।

संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठले फागुमा महिला लक्षित गीत–सङ्गीत गुञ्जने गरेको बताउनुभयो । फागु पूर्णिमाका दिन भीमसेनको लिङ्ग बोकेर ब्रह्मायणी नदीमा लगेर धुने र पुनः तचपाल भीमसेन मन्दिरमा पुर्याएपछि भक्तपुरमा फागु विधिवत्रूपमा सम्पन्न हुन्छ ।

भीमसेनको लिङ्ग बोकेर ब्रह्मायणी नदीमा लगेर धोए छोरा जन्मिने जनविश्वास रहिआएको छ । यही विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेकोे प्रतिस्पर्धा हुन्छ । विशेषगरी वसन्त पञ्चमीदेखि होलीसम्म विवाहको लगन हुन्छ ।

फागुन शुक्ल पूर्णिमाका दिन रङको फागु खेलेपछि उक्त दिन साँझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गुलाबको फूल, अत्तर र अमुखसहित पूजा गर्दै नगर परिक्रमा गर्ने चलन छ । बाटोमा रहेका देवीदेवताका मूर्तिमा तेलमा मुछेको अबिरको डल्लाले छरी साँझ परेपछि दत्तात्रय मन्दिर पुर्याउने चलन छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !