नेवार समुदायले मौलिक पर्व म्हपूजा मनाउँदैं Nepalpatra नेवार समुदायले मौलिक पर्व म्हपूजा मनाउँदैं
११ मंसिर २०७८, शनिबार

नेवार समुदायले मौलिक पर्व म्हपूजा मनाउँदैं


म्हपूजा

भादगाउँ । तिहारको चौथो दिन कार्तिक शुक्ल प्रतिपदाको अवसर पारेर आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन । आफ्नो आत्मालाई चिनेर आत्म शुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकारलाई नाश गरेर ज्ञानको ज्योति फैलियोस् भन्ने कामनासहित नेवार समुदाय म्हपूजा मनाउने गर्दछन ।

म्हपूजाका लागि नेवार समुदाय बिहानैदेखि घर सफा गर्ने र विभिन्न पकवान तयार गरी म्हपूजाको तयारी गर्दछन् । साँझमा गरिने म्हपूजाका लागि सुरुमा मण्डप बनाउने स्थानमा रातो माटोले लिपेर चोखो पानी छर्किइन्छ । पानीको मण्डला बनाई त्यसको माथि तेलको मण्डला र तेलको माथि भुइसिन (सुन्तला रङको) मण्डला बनाइन्छ । अनि चामलको पिठोको मण्डला बनाई त्यसलाई कालो भटमास, आख्य (धानको बोक्रा निकालेर तयार गरेको कालो चामल), लावा, मासको गेडाले सजाई मण्डप तयार गरिन्छ । त्यसको माथि खेलुइता (टुप्पिदेखि चिउँडोसम्मको नापमा बनाइएको मलमल कपडा) को बत्ती राखिन्छ ।

घरका सदस्य क्रमशः घरको मूलीदेखि लस्करै मण्डला अगाडि पारेर बस्छन् । मण्डलामा बिमिरो, भोगटे, सुन्तला, केरा, ओखर, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, वयरलगायतका फलफूल सजाइन्छ । त्यसको माथि कोखा (काँचो धागोमा पञ्चरङ्गीन कपडाको टुक्रा राखेर बनाइएको माला), फूलको माला र सयपत्री फूल राखिन्छ ।

म्हपूजा गर्दा पहिले घरको मूलीभन्दा माथि मण्डलामा सुकुण्डा बालेर चामलको पिठोबाट बनाइएको गणेश पूजा गरी सुरु गरिन्छ । यो पूजा घरको नकी (मूली महिला)ले गर्ने परम्परा छ । यो पूजा गर्दा प्रत्येकलाई देवीदेवतालाई जस्तै विधिवत्रूपमा पूजा गरी खेलुइता बालेर शरीरको तीन अङ्ग घुँडा, कुम र टाउकोमा तीन ओटा मुटुमारी (चामलको रोटी), पञ्चरङ्गी फूलका टुक्रा, अमला, ओखर, ताय, जुङ्गेधान, आँखे आदि राखेर तीन पटकसम्म टाउकोमा ढोगाएर मण्डलामा जाने गरी कुल (काठको पाठी)ले खन्याई म्हपूजा गरिन्छ । म्हपूजा गर्दा खेलइता निभाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ ।

पूजा सकिएपछि क्रममा बिमिरो, कोखा, फूलको माला र सयपत्री फूलसहितको फलफूल हातमा दिएर कोखा र फूलको माला लगाई टाउकोमा फूल राखिन्छ । त्यसपछि खेलुइता ननिभेकै बेला नकीले तलदेखि लक्ष्मी पूजाको दिन ढुकुटीमा पूजा गरेको नयाँ कुचोले बढारेर माथि गणेशलाई पूजा गरेको ठाउँमा जम्मा गरिन्छ । रातभरि त्यतिकै छोडेर भोलिपल्ट बिहानै खोलामा लगेर सेलाइन्छ ।

म्हपूजा सकेपछि आ–आफ्नो स्थानमै बसेर घरको नकीबाट खेःसगं (अण्डा सगुन) लिने परम्परा रहेको छ । नेवार समुदायमा हरेक शुभकार्यमा सगुन लिने दिने प्रचलन रहेको छ । खेःसगं दिँदा अण्डा, माछा, बारा र मदिरा दिइन्छ । यसरी खेःसगं लिइसकेपछि विभिन्न पकवान राखेर भोज खाने प्रचलन छ । भोज खाइसकेपछि सलादका रूपमा बिमिरो काटेर भोज समापन गरिन्छ ।

म्हपूजा गर्दा आफू र आफ्नो आत्म पहिचान गरी सारा संसारलाई पहिचान गर्नसक्ने ज्ञान प्राप्त हुने जनविश्वास रहेको छ । साथै शरीरमा कुनै रोग व्याधि नलागोस्, सधैँ स्वस्थ रहोस् भन्ने कामनासमेत गरिन्छ । म्हपूजा गर्नुको अर्को उद्देश्य जीवनमा पाप कर्म गर्न नपरोस् भनी बलिराजालाई साक्षी राखेर प्रतिज्ञा गर्नु पनि रहेको संस्कृतिकर्मी बताउँछन् ।

सामान्यतया समाजशास्त्र र प्राकृतिक दृष्टिकोणले म्हपूजा भन्नाले आत्मपूजाका रूपमा लिन सकिने पुरोहित तथा संस्कृतिकर्मी हरिशरण राजोपाध्याय बताउनुहुन्छ । “मानव समाजमा आत्माभन्दा ठूलो केही पनि छैन । यही आत्मालाई शान्ति र सन्तुष्टि मिलोस् । यसले सारा जगत्मा ज्ञानको ज्योति फैलाओस् भनी यो पूजा गरिन्छ”, उहाँले भन्नुभयो, “आत्मसन्तुष्टि नै सबभन्दा ठूलो सन्तुष्टि हो । त्यही भएर हामी यमपञ्चकको समयमा काग, कुकुर, गाई, गोरुको पनि पूजा गर्छौं ।”

म्हपूजा मानव सभ्यता, संस्कृति, धार्मिक र आध्यात्मिक पक्षसँग मात्र नभई मानव विकासक्रमसँग जोडिएको उहाँको कथन छ । “हाम्रो शरीर पञ्च तत्वले बनेको हुन्छ । पञ्च प्रकारको रूपमा लिँदा अण्डालाई मैथुनका रूपमा लिइन्छ । जसमा प्राण छ, प्राण भएपछि सृष्टि हुन्छ जसले गर्दा मानव सभ्यताको विकासक्रममा यसले सहयोग पु¥याएको छ”, उहाँले भन्नुभयो ।

इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले आफूलाई चिनेर सारा संसारलाई चिन्नका लागि म नै भगवान्, म नै ब्रह्माण्ड, मैले सारा जगत्को कल्याण गर्न सक्छु । संसारमा ज्ञानको ज्योति फैलाउन सक्छु भनेर आफू र आफ्नो आत्मालाई गरिने ज्ञानको प्रतीक पूजा नै म्हपूजा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “म्हपूजा यमपञ्चकको चौथो दिनमा गरिन्छ । त्यसको अघिल्लो दिनअर्थात् औँसीको दिन लक्ष्मी पूजा । जुन दिन कोजाग्रत पूर्णिमादेखि औँसीसम्म गरिने १६ लक्ष्मीको पूजा सम्पन्न गरिन्छ । यही सम्पन्ताको प्रतीकस्वरुप गरिने पूजा नै म्हपूजा हो ।”

प्रा डा श्रेष्ठले भन्नुभयो, “म्हपूजा नेवार समुदायको प्राचीन पर्व हो । नेपाल मण्डलका नेवार समुदायले प्राचीन समयदेखि यसलाई मौलिक पर्वका रूपमा मनाउँदै आएको छ । यो पर्वमा अन्धकारलाई नाश गरेर बत्ती बालेर आफू र आफ्नो आत्मालाई मात्र नभएर सम्पन्नताको प्रतीक दैनिक जीवनमा प्रयोग हुने चुलो, कुचो, नाङ्लो, गाग्री, करुवा, सिलौटालगायत पूजा गरी म्हपूजा पर्व मनाइन्छ ।”

यसै दिन पारेर नेवारले नयाँ सम्वत्समेत मनाउँछन् । म्हपूजाको दिन शङ्खधर साख्वाले तत्कालीन नेपालका सबै जनताको ऋण चुक्ता गरी ऋणबाट मुक्त गराएको आख्यानसमेत रहेको छ । म्हपूजाकै अवसर पारेर शङ्खधरले सबैको ऋण चुक्ता गरेको स्मरणमा नेपाल सम्वत सुरु भएको कथन पाइन्छ । कथनअनुसार एक दिन भक्तपुरका राजा आनन्द मल्ललाई एकजना प्रख्यात ज्योतिषीले शास्त्र हेरी शुभ मुर्हुतमा विष्णुमती र भद्रमतीको बीचमा रहेको चङ्खुतीर्थबाट ल्याएको बालुवा सुनमा परिणत हुने बिन्ती चढाउँछ । सोहीअनुसार चार जना भरियालाई राजा आनन्द देवले गोप्यरूपमा चङ्खुतीर्थमा बालुवा लिन पठाए ।

ती भरियाहरु बालुवा लिएर गइरहेको कान्तिपुरका चलाख व्यापारी शङ्खधर साख्वाले देखे र भक्तपुरदेखि यहाँसम्म बालुवा लिन आउनुको कारण खोज्न थाले । उनले बालुवामा केही रहस्य भएको शङ्का गरी ती भरियालाई लोभमा पारेर थप ज्याला दिई बालुवाका भारीहरु आफ्नो घरमा खन्याउन लगाई भक्तपुरका राजाका निम्ति अर्को बालुवा लिन पठाए ।

भोलिपल्ट बालुवा सुनमा परिणत भएको पाएपछि शङ्खधरले कान्तिपुरका राजा जयदेवसँग अनुमति लिएर सो सुनबाट दुनियाँको ऋण चुक्ता गरी आफ्नो नाउँबाट नयाँ सम्वत चलाए । सोही खुशियालीमा आज पनि म्हपूजाकै दिन पारेर नेपाल सम्वतलाई धुमधामका साथ मनाउन थालिएको हो ।

कार्तिक शुक्ल प्रतिपदाको अवसर पारेर बिहीबार राति नेवार समुदायले आत्मा शुद्धि गरी ज्ञानको ज्योति फैलाउन म्हपूजा पर्व मनाउँदैछन् । म्हपूजाको दिन सम्पन्नताको प्रतीक कुचो, नाङ्लो, चुलो, गाग्री, करुवालगायत दैनिकरूपमा घरमा प्रयोग हुने सामानको समेत पूजा गरी हर्षोल्लासका साथ म्हपूजा पर्व मनाउँदैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु