१२ बैशाख २०८१, बुधबार

स्वास्थ्य मापदण्ड पालना गर्दै पूजा


टौदह

काठमाडौँ । नागपञ्चमीका अवसरमा काठमाडौँ महानगरपालिका वडा नं १ नागपोखरी र कीर्तिपुर नगरपालिकाको ६ नं वडामा रहेका टौदहमा स्वास्थ्य मापदण्ड पालना गर्दै भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् ।

नागपोखरीमा बिहान नित्य पूजा आराधनाका लागि पोखरी खोलिएको थियो । नित्य पूजा सकिएपछि कोरोना जोखिमका कारण पोखरी बन्द गरिएको नक्साल युवा क्लबका सदस्य रोशन श्रेष्ठले राससलाई जानकारी दिनुभयो । कोरोना जोखिम हुनुअघि श्रावण शुक्ल चौथीदेखि षष्ठीसम्म तीन दिन मेला लाग्ने गरेकामा कोरोनाबाट बच्न बिहान नित्य पूजा गरेर बन्द गरिएको हो ।

पोखरी बन्द गरेपछि पनि भक्तजनले बाहिरबाटै दर्शन गर्नेक्रम भने जारी छ । यसैगरी कर्कोटक नागराजा र नागरानीको निवास रहेको टौदहमा पनि कीर्तिपुर र पाँगाका स्थानीयवासी बिहानैदेखि पूजा, आराधना गर्न भक्तजनको भीड लागेको हो । बिहान नित्यपूजापछि केहीबेर बन्द गरिएको टौदह फेरि भक्तजनका लागि खुला गरिएको स्थानीय उपेन्द्र नेपालले जानकारी दिनुभयो ।

टौदहमा परम्परादेखि नै जल यज्ञ विधिबाट सबै नाग नागिनीको पूजा, आराधना हुने गरेकामा विसं २०७० पछि बन्द भएको थियो । विसं २०७२ मा एकपटक यो विधिबाट पूजाआजा गरिए पनि अबको पुस्ताले बिर्सने खतरा बढेको उहाँले सुनाउनुभयो ।

टौदहको व्यवस्थापन कर्कोटक नागराजा नागरानी व्यवस्थापन समाजले गर्दै आएको छ । विगतवर्षमा जस्तो भक्तजन टौदहमा नआएको समाजका अध्यक्ष जयराम कार्कीले जानकारी दिनुभयो । आएका भक्तजनलाई भने पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !